प्रहरी हिरासतभित्रै युवकको मृत्यु

गोविन्द बीसी   POSTED ON : आश्विन २५, २०७८ (१:३९ PM)

प्रहरी हिरासतभित्रै युवकको मृत्यु

टीकापुर । ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा रहेका एक थुनुवाको सोमबार बिहान मृत्यु भएको छ । भैँसी चोरेको आरोपमा उजुरीपछि पक्राउ परेका सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

कैलालीको गाउँपालिका–१ स्थित प्रहरी चौकी तोरैयाँपुरले आइतबार पक्राउ गरेर टीकापुरलाई बुझाएको थियो । सोही ठाँउका पुलुराम थारूको एउटा भैंसी चोरी भएपछि खोजतलाश गर्दै जाँदा भैंसीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाउँमा भैंसी चोरेर लादै गरेको अवस्थामा भैंसी धनिको उजुरीपछि लम्कीचुहा नगरपालिका–५ थापापुर स्थित झुलुङ्गे पुल नजिकैबाट सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रहरी हिरासतमा राखिएका धन बहादुर रानामगर सोमबार बिहानै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्  । हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो स्याण्डो (गन्जी) को डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानका लागि जिल्लाबाटै प्रहरी नायव उपरीक्षक सागर बोहराको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरिएको छ । अनुसन्धान टोलीले घटना स्थलमा पुगेर अनुसन्धान गर्ने र मृतकका आफन्त सुर्खेतबाट आइरहेकाले आफन्त पुगेपछि मात्र शव बाहिर निकालिने प्रहरीको भनाइ छ । 

Top