सचेतनाका लागि साक्षर

एकेन्द्र खत्री   POSTED ON : आश्विन २६, २०७८ (६:१८ AM)

सचेतनाका लागि साक्षर

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाका वीरेन्द्र साउदले पालिकाले बनाएको वेबसाइटलाई धन्यवाद दिँदै भन्नुभयो, ‘यो त मेरो भाग्यविधाता हो । जुन कुरा मेरो जीवनका लागि चाहिएको थियो, त्यो त्यही थियो जसले मेरो जाँगरमा ऊर्जा थप्यो । अनि मलाई साँवा अक्षर चिन्न सिकाउने प्रौढकक्षाका गुरुहरूलाई हार्दिक नमन गरेँ । उहाँहरूले मलाई पढ्न सक्ने बनाउनुभएको थिएन भने त्यो वेबसाइट मेरा लागि ‘कालो अक्षर भैंसीबराबर’ केही हुने थिएन । करिब ६ महिनाको मेरो अथक प्रयास र गुरुहरूको मार्गदर्शनले म बडापत्र, वेबसाइट पढ्न सक्ने भएको छु ।’ 

आर्थिक वर्ष २०७७/०७८ मा बान्नीगढी जयगढ गाउँपालिका अछाम र सुदूरप्रश्चिम प्रदेश सरकारको पहलमा गाउँपालिकामा बाख्राखोर सुधार कार्यक्रम लागू भयो । गाउँपालिकाले बाख्राखोर सुधार कार्यक्रमका लागि आफ्नो वेबसाइटमा सूचना राखेको थियो । वीरेन्द्रले त्यही वेबसाइटमा सूचना पढेर बाख्राको खोर सुधार कार्यक्रमबारे थाहा पाउनुभयो । 

केही समयअघिदेखि पालिकास्तरमा सञ्चालित प्रौढकक्षामा सहभागी अधिकांश नागरिक यस्ता वेबसाइट, नागरिक बडापत्र पढ्न सक्ने भएका छन् । ‘पहिला त आफ्नो नामसम्म लेख्न सक्दैनथेँ, अहिले गाउँपालिकाको वेबसाइट हेर्न र त्यहाँ के सूचना छ भनेर पढ्न सक्छु,’ वीरेन्द्र भन्नुहुन्छ, ‘यसकै लागि पालिका वा वडा कार्यालय पुगेरमात्रै थाहा हुन्थ्यो । अब भने घरमै बसेर सबै थाहा पाइन्छ । पछिल्लो समय शिक्षाप्रति धेरैको चासो पनि बढेको छ ।’

बाख्राखोर सुधार कार्यक्रम पाएपछि वीरेन्द्र अहिले स्वरोजगार बन्नुभएको छ । प्रदेश सरकारबाट एक लाख अनुदान पनि पाउनुभयो । यसैले उहाँको खोरमा अहिले ५३ वटा बाख्रा भए । हामी पढ्न नजान्नेहरू पनि साक्षरता कक्षामा सहभागी भएपछि सूचनासम्म पढ्न सक्ने हुँदा पनि धेरै फाइदा भएको उहाँ बताउनुहुन्छ । अन्य अनुदान कार्यक्रम पनि वेबसाइट हेरेरै थाहा पाउने गरेको स्थानीयले जानकारी दिएका छन् । 

गाउँमा बाख्रापालन गर्ने सोच बनाउनुभएका वीरेन्द्रको जीवनमा वेबसाइटमा देखेको सूचनाले नै सपना पूरा गरेको उहाँको तर्क छ । प्रदेश सरकारबाट एक लाख अनुदान पाएपछि वीरेन्द्रले बाख्रापालनमा जोड दिनुभएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ, उहाँहरू सबै बोर्डिङ स्कुलमा पढ्नुहुन्छ । 

पहिला छाक टार्न धौ-धौ हुन्थ्यो, बिरामी पर्दा उपचारका लागि पैसा सापटी दिने कोही हुँदैन थिए । उहाँले भन्नुभयो, ‘अहिले त घर खर्च धान्न खासै गाह्रो छैन । छोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने लागेको छ ।’ स्कुल नटेकेरै आफ्नो र परिवारका सदस्यको नाम लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचार राख्न सक्ने भएको वीरेन्द्रजस्ता यस पालिकामा धेरै छन् । साक्षरता कक्षाबाट अक्षरसँग साइनो जोड्ने वीरेन्द्र एक्ला हुनुहुन्न । स्कुल-कलेज पढ्ने थुप्रैका अभिभावक अहिले पढ्न जान्ने भएका छन् । 

बान्नीगढीकै ३३ वर्षीया इन्द्रसरा बुढाले लेखपढ गर्न सक्ने भएको दुई वर्ष भयो । अक्षर चिन्न सक्ने भएपछि उहाँले गाउँकी अगुवा महिलाका रूपमा आफ्नो परिचय बनाउनुभएको छ । उहाँले गाउँमा रहेको किसान माइक्रो फाइनान्सबाट पाँच हजार ऋण लगेर खुद्रा पसल पनि चलाउनुभएको छ  । ‘सानैमा पढ्ने रहर थियो, आर्थिक अवस्थाका कारण पढ्न पाइएन, उमेर ढल्किसकेपछि पढ्न पाइयो,’ उहाँले भन्नुभयो, ‘घरपरिवार सबै साक्षर भएका छन् ।’

साक्षरता कक्षाले ग्रामीण महिलाको आत्मबल पनि बढाएको छ । गाउँघरमा हुने सभा र बैठकहरूमा जानै लाज मान्नेहरू अब भने निर्धक्कसाथ आफ्ना कुरा राख्न सक्ने भएका छन् । साक्षरताले महिलालाई घर र समाजमा सम्मानित महसुस गराएको छ । यससँगै अन्य सीप पनि सिकेपछि व्यापार र व्यावसायिक काममा लागेको उनीहरूको भनाइ छ ।

बान्नीगढी जयगढ गाउँपालिका-५ का वडा सदस्य रतन दमाईंलाई आफ्नै गाउँका मान्छेले ‘पढेर मास्टर्नी हुन्या होइ क्या ?,’ भनेको अहिल्येझैं लाग्छ । ‘अचेल मेरो प्रगति देखेर त्यस्तो भन्ने मान्छेहरू टाउको लुकाएर हिँड्छन्,’ उहाँ भन्नुहुन्छ, ‘पढाउने मास्टर्नी नभए पनि गाउँदेखि गाउँपालिकाको नेतृत्व गर्ने वडा सदस्य भएकी छु, अबको निर्वाचनमा वडाध्यक्षका लागि उठ्ने हो ।’

साक्षरता अभियानलाई अछाम जिल्लामा सञ्चालित विभिन्न परियोजनाले चलाएका थिए । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा सञ्चालित गैरसरकारी संस्थाको शिक्षा परियोजना र कार्यमूलक साक्षरता कक्षाअन्तर्गत गाउँपालिकाका ६ वटै वडामा प्रौढकक्षा सुरु गरिएको थियो । यसबाट स्कुल टेक्न नपाएकाको जीवनमा निकै उतारचढाव ल्याएको छ । सामान्य लेखपढ गर्नसमेत नजान्ने नागरिकले अहिले आफ्नो जीवन शिक्षामय बनाएका छन् । पालिकाको नागरिक बडापत्र, वेबसाइट पढ्न सक्ने भएका छन् ।

साक्षरता अभियानलाई सुरुमा ‘सेभ द चिल्डेन र वाक नेपाल’ ले सघाएका थिए । परियोजना सँगसँगै गाउँपालिकाले पनि निरन्तरता दिएको छ । गाउँपालिकाले छवटै वडामा साक्षरता कक्षा चलायो  । पालिकामात्रैले यस कार्यक्रमका लागि १२ लाख १२ हजार ४५० रूपैयाँ खर्च गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले जानकारी दिनुभयो । अहिले यो गाउँपालिकामा ९५.८३ प्रतिशत नागरिक साक्षर भएका छन् ।  

अछाम जिल्लामा जम्मा घरधुरी ४८ हजार ३५१ रहेका छन् । जनसंख्या दुई लाख ८६ हजार ९७० रहेको छ । साक्षर जिल्ला घोषणा गर्दा निकालिएको तथ्यांकअनुसार ९५.५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित छ । जिल्लामा अझै सात हजार ३२३ जना साक्षर हुन बाँकी छ ।


Top