थलारा पहिरोमा २३ जना बेपत्ता- (नामावलीसहित)

सत्यराज सिंह   POSTED ON : कार्तिक २, २०७८ (६:३३ PM)

थलारा पहिरोमा २३ जना बेपत्ता- (नामावलीसहित)

बझाङ । थलारा गाउँपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माईला छोरा काले शार्की मात्र शकुसल छन् । बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु सार्की, धनगिरी सार्की, सिता शार्की, प्रवाश सार्की, भूमिका सार्की, चिरञ्जीवी सार्की, इस्सरा सार्की, संजीव सार्की, सविता सार्की, सरोज सार्की, शर्मिला सार्की, पम्मा सार्की, सुवाश सार्की, विकास सार्की, एक जना नाम नखुलेका रहेका छन् भने मदन सार्की (सरस्वती आवि पिपलगडाका शिक्षक) कलुदेवी शार्की र एलिसा शार्की गरेर १८ जना रहेका छन् । यस्तै नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की गरेर ५ जना रहेका छन् । 

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मा.वि पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले बताउनुभयो । उहाँले भन्नुभयो,‘बिहानैदेखि हामीले प्रहरी, पत्रकारलाई फोन गर्न धेरै प्रयास ग¥यौं तर नेटवर्कले काम गरेन । बिहान ४ बजे सुतेकै समयमा पहिरो आएछ । आदीले भागेर ज्यान बचाए । आदी निदाएकै अवस्थामा पहिरोसँगै बेपत्ता भएका छन् । अहिले पानी रोकिएको छैन । प्रहरी चौकी मालुमेला, खोली र जिप्रकामा कुरा भइसकेको छ । तर घटनास्थलसम्म पुग्ने बाटो असहज भएको र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका कारण यहाँ पुग्न सकेका छैनन् ।’ 

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकोले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।’


Top