राहत तथा उद्दारमा जुट्न काँग्रेस कैलालीको आग्रह

गोविन्द बीसी   POSTED ON : कार्तिक ३, २०७८ (९:४५ AM)

राहत तथा उद्दारमा जुट्न काँग्रेस कैलालीको आग्रह

टीकापुर । लगातारको वर्षाका कारण भएको डुबान र बाढीबाट ठूलो धनजनको क्षति हुन नदिन नेपाली काँग्रेस कैलालीले ध्यानाकर्षण गराएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै काँग्रेसले उद्दार, राहत, क्षतिपूर्ति र पुर्ननिर्माणका लागि तदारुकता देखाउन सम्बन्धित निकायको ध्यानार्कषण गराएको हो ।

वर्षाले जिल्ला भरि नै किसानको धानबाली र अन्य बालीमा पुर्याएको क्षति बारे यकिन गरि तत्काल  राहत तथा उद्दारको घोषणा गर्न सरोकारवालासंग माग गरिएको छ । वर्षाले अन्नबालीमा व्यापक क्षति पुर्याएको र यसले गर्दा कृषि अर्थतन्त्रका साथै ग्रामीण अर्थतन्त्र नै प्रभावित हुने काँग्रेस कैलालीको ठहर छ ।   

काँग्रेस कैलालीले अन्नबालीमा भएको क्षतिपूर्ति यकिन गरि तत्काल उद्दार र राहतको घोषणा गर्न सरोकारवाला निकाय, स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँग माग गरेको छ ।

वर्षाले जिल्लाका विभिन्न नाला र नदीहरुको जलस्तरको बहाव खतराको तहभन्दा माथि पुगेकोले भारतसँग सीमा जोडिएका जिल्लाका दक्षिण भेगमा बसोबास गरिरहेका जनताको सम्भावित मानवीय क्षति रोक्नसमेत माग गरिएको छ ।

सुदूरपश्चिमका विभिन्न जिल्ला सदरमुकाम लगायत अन्य स्थानहरु जोड्ने राजमार्गहरु निरन्तरको वर्षाका कारण अवरुद्ध आइरहेका छन् । यातायात व्यवस्था समयमा सुचारु गरि चाँडपर्वमा गृह जिल्ला गएका र फर्कने क्रममा रहेका नागरिकहरुलाई समयमा सुरक्षित गन्तव्यमा पुग्न आवश्यक प्रवन्ध अविलम्ब मिलाउन हामी सम्बन्धित निकायमा अनुरोध गर्दछौँ, पार्टी सभापति नरनारायण शाह ९मनु० द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

विपतको परिस्थितिमा कृषि क्षेत्रलाई जोगाउनुका साथै थप टेवा पुर्याउन तत्काल कृषि राहत प्याकेजको घोषणा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । जिल्लामा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई सहयोगको आग्रह गर्दै नेपाली काँग्रेसले पार्टी संगठनसंग आबद्ध क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संस्थालाई समेत मानवीय संकटको अवस्थामा सहयोगमा जुट्न आग्रह गरेको छ । 

Top