स्थानीय र प्रहरीको सहयोगमा उद्दार कार्य जारी

गोविन्द बीसी   POSTED ON : कार्तिक ३, २०७८ (१२:१५ PM)

स्थानीय र प्रहरीको सहयोगमा उद्दार कार्य जारी

टीकापुर । कैलालीमा आइतबार साँझदेखिको लगातार वर्षाका कारण भएको डुबान र बाढीमा फसेकाको उद्दार कार्य जारी रहेकोे छ । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा वर्षापछिको बाढी प्रभावितलाई सुरक्षित स्थानमा सार्न लागिएको हो ।

कर्णाली नदीमा पानीको बहाव घटेसंगै सोमबारदेखि फसेका तीनजनाको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर–३ ढुङ्गे बजारका ६१ वर्षीय खडकबहादुर घर्तिमगर, ३५ वर्षीय बिक्रम घर्तीमगर र २६ वर्षीय खडक डालामगरको उद्दार प्रयास भइरहेकोे छ । माछा मार्न गएका उनीहरू तीनदिन देखि सम्पर्कबिहिन अवस्थामा थिए । लम्कीचुहा नगरपालिका वडा नम्बर–३ का वडासदस्य दिपकबहादुर शाहीको नेतृत्वमा गएको स्थानीयको गोताखोर टोलीले कैलालीको जानकी गाउँपालिका वडा नम्बर–९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुमा तीनैजनालाई शकुशल फेला पारी उद्धार गरेको हो । 

त्यस्तै, बाढी तथा डुबानका कारण विस्थापित भएका कैलालीका ८० घरधुरीका सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरीले विभिन्न स्थानमा डुबानमा परेका उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको हो । कालाकुण्डाको चौगुर्दी र अर्नाफाँटा गाउँमा पानी पसेको जानकारी पएपछि प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको छ ।

उक्त स्थानमा रहेका ८० घरधुरीमध्ये विस्थापित ४० जनालाई कालीका मावि कालाकुण्डामा राखिएको छ । बाँकीलाई आफन्तको घरमा सारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सशस्त्र प्रहरी ३४ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरले कर्णाली नदीले शाहीपुरमा रहेको बाँध भत्काएपछि डुबानमा परेका टीकापुर नगरपालिका वडा नम्बर ६, ७ र ८ का बासिन्दा र कैलारी गाउँपालिकाको खोनपुरमा मोहना नदीको डुबानमा परेका बासिन्दालाई उद्धार गरिएको जनकारी दिनुभयो । गाउँमा पानी पसेर ८० घरधुरी विस्थापित भएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरीले डुबानमा परेका सर्वसाधारणसँगै किसानको धान बाली सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेको छ । 

Top