बझाङमा खाना पकाउने ग्यासको अभाव

सत्यराज सिंह   POSTED ON : कार्तिक १०, २०७८ (४:४७ PM)

बझाङमा खाना पकाउने ग्यासको अभाव

बझाङ । बझाङमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । लगातारको बर्षासँगै आएको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन चल्न सकेका छैनन् । यातायातका साधन चल्न नसक्दा बजारमा दैनिक प्रयोग हुने खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको हो ।

सर्वसाधारणको प्रत्यक्ष जनजीवनसँग जोडिएको दैनिक उपभोग्य वस्तु ग्यास लगायत तरकारीको पनि अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुहरुको समेत बजारमा चरम अभाव हुँदा सर्वसाधारणहरु मर्कामा परे छन् । पहिरोले जयपृथ्वी राजमार्ग बन्द भएपछि ग्याँसको अभाव भएको छ । सदरमुकाम चैनपुरमा होटल व्यवसाय गरिरहेका व्यवसायी निरज बमले भन्नुभयो, ‘दुई दिन भयो, होटलमा ग्याँस सकिएको छ । बजारमा ग्याँस छैन । पहिलेको जसरी दाउरा पनि आउन छोडेको छ । गाडी चलेका कारण पहिले वास्ता गरिएन । तिन सिलिण्डर थिए सकिए ।’

बमले आफ्नै परिवारका लागि पनि खाना पकाउन पनि समस्या भएको बताउनुभयो । यस्तै ग्याँस व्यवसायी गोविन्द खड्काले भने राजमार्ग अवरुदका कारण जिल्लामा ग्याँस अभाव  भएको र दाउरा बेच्न पनि नआउने भएकाले जिल्लामा होटल व्यवसायिहरुले होटल नै बन्द गर्नुपर्ने अवस्था रहेको खड्काको भनाई छ । जयपृथ्वी राजमार्ग अन्र्तगतको छविसपाथिभेरा गाउँपालिका– १ को जालेबगर र केदारस्युँ गाउँपालिका –१ को नारुगाडमा अविरल बर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएको हप्तौं भइसक्दा पनि सडक सुचारु हुन सकेको छैन । बाढी पहिरोले राजमार्ग अवरुद्ध हुँदा जिल्ला बासी मार्कामा परेका छन् । सडक सुचारु नहुँदा सदरमुकाम चैनपुरमा दैनिक उपभोग्य बस्तुको अभाव देखिएको छ । सडकको यस्तै अवस्था रहे केहिदिनमा खाद्यान्न पनि अभाव हुने देखिएको छ ।



Top