वासस्थानको अभाव र चोरी सिकारीका कारण दुर्लभ चिरकालिज लोप हुँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । म्याग्दीको कालीगण्डकी क्षेत्रको पश्चिमी भेगमा मात्र पाइने चिर कालिज लोप हुने स्थितिमा पुगेको छ ।

सिमित संख्या, निश्चित बासस्थान, न्यून प्रजनन क्षमता,बासस्थानको अभाव र अबैध चोरी सिकारीको कारण सरकारवाट सरक्षित पंक्षी चिर कालिज लोप हुने स्थितीमा पुगेको हो ।

पाँच वर्ष अघि त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागका केशव चोखालले एकवर्ष लगाएर म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट यहाँ करिव ६० वटा चिरकालिज पाइएकोमा उचित वातावरणको अभावका कारण अहिले ती चिरकाजिलहरु घटेका पाइएको उहाँले बताउनुभएको छ ।

चिरकालिजमा निरन्तर अनुसन्धान गर्दै आउनु भएका चोखालले यो पंक्षी कृषकको साथी भएको बताउनुभयो ।

चिर कालिजको बासस्थान धेरै जसो खेतियोग्य जमिन नजिकै हुनेहँुदा खेती बालीमा लाग्ने किराहरुलाई यसले आहारा बनाउने र बाली नष्ट गर्नबाट जोगाउने गर्दछ । तर, स्थानीय हरुको गलत बुझाइको कारण चिर कालिजलाई मार्ने वा धपाउने गर्दा यो किसानहरुको पनि प्रतिशोधको सिकार भएको उहाँको भनाइ छ ।

चिर कालिजको सरक्षणको लागि निरन्तर डिभिजन वन कार्यालयलाईृ अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँले गुनासो राख्नुभयो ।
म्याग्दीको चिर सरक्षणको लागि समुदायमा सहभागितात्मक कार्यक्रम सुरु गरेर चिर सरक्षण गर्न सकिने उहाँले बताउनुभयो ।
केहि समयभित्र नै त्रिभुवन विश्वविद्यालय बिज्ञान तथा प्रबिधि अध्ययन सस्थानको सहयोग र सहकार्यमा म्याग्दीमा चिर कालिजको अबस्था बारे थप अध्यन र स्थानीय समुदायलाई सहभागी गराएर समुदायसंग चिर कालिज सरक्षण कार्यक्रम सुरु गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

“चिरकालिज कालीगण्डकी नदिको पश्चिम क्षेत्रमा पाइन्छ । म्याग्दी जिल्लामा पछिल्लो मेरो अध्ययन अनुसार डडुवा, थाइबाङ, हिदि, मुना, मुदी, खिबाङ लगायतका क्षेत्रमा रेकर्ड छ” अध्येता चोखालले भन्नुभयो “तर कालीगण्डकी क्षेत्रमा पर्ने दानाको काभ्रे भिर, थोरौ र तातोपानीमा अत्यन्त कम रेकर्ड भएको छ ।”

चोखालका अनुसार चैत वैशाखमा चिर कालिजको प्रजनन क्रिया सुरु हुन्छ । सोही समय जंगलमा डढेलो लाग्नुका साथै अन्य वातावरणीय असन्तुलनका समस्याहरु देखिने हुँदा वर्षेनी दुर्लभ मानिएका चिर कालिजहरु घट्दै जाँदा लोपोन्मुख अवस्थामा पुगेका हुन् ।

नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाको सहयोगमा उहाँले लामो समय लगाएर चिरकालिजको अवस्था, वासस्थान, संख्या र लोप हुनाको कारणबारे अनुसन्धान गर्नुभएको छ । ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अंग्रेजीमा चिरफेजेन, नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिन्छ ।

साइटिस घोषणापत्र र आइयुसियन अन्तर्राष्ट्रिय संस्थाको ‘आइ’ सूचीमा राखिएको यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ ।

नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि ३६ सय मिटरसम्मको भू–भागमा पाइने अनुसन्धानकर्ता चोखालले बताउनुभयो । नेपालमा करिब एक हजारको संख्यामा रहेको यो पक्षी म्याग्दीमा मात्रै ५० देखि ६० वटासम्म भएको अनुमान गरिएको छ ।
नेपाल, भारत र पाकिस्तानमा मात्रै पाइने यो चरा झट्ट हेर्दा कालिजको पोथी जस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको चोखालको भनाइ छ ।

यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ रातो, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ता चोखालले बताउनुभयो ।
बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुई पटक मात्र चिरचिर गरेर कराउने चिरकालिजको मुख्य विशेषता हो । उहाँका अनुसार यो पंक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जंगल नभएको खुल्ला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ ।

भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गर्दछ । चिरकालिज अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर म्याग्दी, बागलुङ र मध्य तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट खुल्न आएको छ ।

म्याग्दी जिल्लामा यो पक्षी कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाको तटीय क्षेत्रमा पनि पाइएको तर पछिल्लो समय चिर कालिजको संख्या घट्दै गएको अनुसन्धानकर्ता चोखालले बताउनुभयो । “वन कार्यालयले स्थानीय समुदायको सहभागीतामा चिर सरक्षण कार्यक्रम ल्याउन पर्छ” चोखालले भन्नुभयो ।

अवैध चोरी शिकारी, आगोलागी, वासस्थानको ह्रास र जनचेतनाको अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको छ भन्दै उहाँले समुदायबीच सचेतना कार्यक्रम, चोरी शिकारी नियन्त्रण, वासस्थानको संरक्षण तथा वासस्थानबीचको बाटो निर्माणका साथै थप अनुसन्धान गर्ने हो भने यो पक्षीको संरक्षण गर्न सहज हुने बताउनुभयो । उहाँका अनुसार पर्यापर्यटनको विकास जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तुको संरक्षणका लागि पनि चिरकालिजको संरक्षण गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *