नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशनअनुसार एक समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।

लमजुङको दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका-८ का सुरेन्द्र पाण्डेबीच समलिंगी विवाह दर्ता भएको हो । दोर्दी गाउँपालिका-२ को वडा कार्यालयमा उहाँहरूले विवाहका लागि निवेदन दिनुभएको थियो । समलिंगी अधिकारको वकालत गर्दै आउनुभएका अधिकारकर्मी सुनिलबाबु पन्तले यसलाई पहिलो ऐतिहासिक समलिंगी विवाह दर्ता प्रक्रिया भएको दाबी गर्नुभएको छ ।

उक्त गाउँपालिकाले सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार विवाह दर्ता गरिदिएको जनाएको छ । ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको,’ गाउँपालिकाले दिएको विवाह प्रमाणपत्रमा लेखिएको छ ।

यौनिक तथा अल्पसंख्यक समुदायबीच विवाह गर्न पाउनुपर्ने माग गर्दै ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङसहित नौ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न भनेको थियो । गत असार १३ गते सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *