टी-२० विश्वकप क्रिकेट

बाहिरिने बाटोमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड, दबाबमा श्रीलंका

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । एकदिवसीय विश्वकपमा सातौँ वरीयतामा रहेको इंग्ल्याण्डले टी-२० विश्वकपमा पनि खराब सुरुवात गरेको छ । स्कटल्याण्डसँगको पहिलो खेल वर्षाले रद्द भएपछि अंक बाँड्न बाध्य इंग्ल्याण्ड दोस्रो खेलमा अस्ट्रेलियासँग ३६ रनले पराजित भएको हो । अस्टे«लियासँग हारेसँगै डिफेन्डिङ च्याम्पियन इंग्लिस टोली प्रतियोगिताबाट बाहिरिने बाटोमा पुगेको छ । अब उसमाथि अर्को दुई खेल जित्नुपर्ने दबाब छ । यदि दुवै खेलको नतिजा इंग्ल्याण्डको पक्षमा आएन भने टोली सुपर-८ बाट बाहिरिनेछ ।

बार्बाडोसको केन्सिङ्टन ओभलमा शनिबार राती भएको खेलमा इंग्ल्याण्डका कप्तानले टस जितेर बलिङ रोज्नुभएको थियो । अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनायो । जवाफमा इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६५ रनमात्रै बनाउन सक्यो । १७औँ खेलपछि समूह ‘बी’को चौथो स्थानमा रहेको इंग्ल्याण्डको खातामा एक अंकमात्र छ भने अस्ट्रेलिया चार, स्कटल्याण्ड तीन र नामिबिया दुई अंकसहित क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । ओमान भने हालसम्म जितविहीन रहँदै पुछारमा छ ।

समूह ‘ए’ मा रहेको आयरल्याण्ड पनि बाहिरिने बाटोमा छ । हालसम्म खेलेका दुवै खेल गुमाएको आयरल्याण्ड तालिकाको पुछारमा छ । यस्तै, समूह ‘सी’मा पिएनजी र न्युजिल्याण्ड अंकविहीन छन् । पिएनजीले हालसम्म खेलेका दुवै खेल हारेको छ भने न्युजिल्याण्डले एक खेल गुमाएको छ । समूह ‘सी’को शीर्ष स्थानमा अफगानिस्तान छ । समूह ‘डी’ मा श्रीलंका र नेपाल अंकविहीन छन् । नेपालले एक र श्रीलंकाले हालसम्म खेलेका दुवै खेल गुमाएको छ । श्रीलंकालाई सुपर आठमा पुग्न आगामी दुई खेल जित्नैपर्ने दबाब छ । समूह ‘डी’को शीर्ष स्थानमा दक्षिण अफ्रिका छ ।

दक्षिण अफ्रिकाको कठिन जित, युगाण्डा ३९ रनमै अलआउट
विश्वकपमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्समाथि कठिन जित दर्ता गरेको छ । शनिबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । १०४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । एक समय १२-४ को अवस्थाबाट डेभिड मिलर र ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकाको इनिङलाई स्थिर बनाउँदै जिततर्फ डोहोर्‍याउनुभएको हो । मिलरले ५१ बलमा नटआउट ५९ रन बनाउनुभयो । स्टब्स ३७ बलमा ३३ रन बनाएर आउट हुनुभयो । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो ।

यस्तै, समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध ३६ रनको जित दर्ता गर्‍यो । बार्बाडसमा पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २०१ रन जोडेको थियो । जवाफमा राम्रो सुरुवात गरे पनि मध्यक्रम नचल्दा इंग्ल्याण्ड ६ विकेटको क्षतिमा १६५ रन बनाउँदै पराजित हुन पुग्यो ।

अर्को खेलमा युगाण्डालाई ३९ रनमै अलआउट गर्दै वेष्ट इण्डिजले आइसिसी ट्वान्टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेष्ट इण्डिज १३४ रनले विजयी भएको हो । जारी विश्वकपमा युगाण्डाले बनाएको यो सबैभन्दा कम रन हो । यसअघि अफगानिस्तानको खेलमा युगाण्डा ५८ रनमै अलआउट भएको थियो । सन् २०१४ को विश्वकपमा श्रीलंकाले नेदरल्याण्ड्सलाई १०.३ ओभरमा अलआउट गर्दै ३९ रनमै रोकेको थियो । यो नै विश्वकपमा बनेको सबैभन्दा कम स्कोर थियो । युगाण्डाको यो दोस्रो हार हो । पहिलो खेलमा अफगानिस्तानसँग युगाण्डा १२५ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *