अटो क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्री सकारात्मक

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा) अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी अटोमोबाइल्स क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ । सो अवसरमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याबारे संक्षिप्त चर्चा गर्दै सरकारका विभिन्न कार्यविधिका कारण अटोमोबाइल व्यवसायी आफ्नो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुँदै गएको बताउनुभयो । अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह प्रक्रियामा लोन टु रेसियोे हालको ५० प्रतिशत सीमा बढाएर ७५ प्रतिशत गरिनुपर्ने, चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागू भएपछि लागू भएको मितिभन्दा अघि कर्जा लिएकालाई त्यो व्यवस्था लागू नहुने तर लागू भएको मितिपछि कर्जा लिएकालाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागू हुने गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

त्यसैगरी नेपालमा विद्युतीय सवारी साधन आयात बढ्दै गए पनि सोही अनुरूप राजमार्ग तथा शहरमा चार्जिङ स्टेसन निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतीय सवारी साधन सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीतिगत व्यवस्था गर्नुपर्ने, दुईपांग्रे सवारी साधन सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्था हुनुपर्ने, नेपालमा आयात भइरहेका दुईपांग्रे सवारी साधनमध्ये करिब नौ सय ८५ भन्दा बढी आयात भारतमा निर्मित दुईपांग्रे सवारी साधन भएको तर हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज भारतमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइजअनुसार नभई फरक साइजको भएकाले सवारी सञ्चालनका क्रममा अगाडिको सकरमा ठोक्किने कारण चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएकाले इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागू भएको साइजको इम्बोस्ड प्लेट वा हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटमध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरिनुपर्ने भन्दै अध्यक्ष चौधरीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल उद्योगका समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले सवारी साधन, टायरट्युब, ब्याट्री तथा लुब्रिकेण्ट्स उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्या समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिनुभएको नाडाले जनाएको छ ।

चेम्बरका ४३ बुँदे सुझाव
नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई एवं शुभकामनासँगै विभिन्न ४३ बुँदे सुझाव दिएको छ । अध्यक्ष कमलेशकुमार अग्रवालसहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर सुझाव दिएको हो ।

बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत् अर्थतन्त्र चलायमान बनाउन चेम्बरले ध्यानाकर्षण गराएको छ । चेम्बरले आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएको जनाएको छ । मुलुकको अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण हुनुपर्ने, उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न स्थायी रूपमै एकल अंकको ब्याज कायम हुनुपर्ने, मौद्रिक नीतिको आगामी कार्यदिशा पूर्ण रूपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्ने, निजी क्षेत्रमा प्रवाह हुने कर्जा सहजीकरण गरिनुपर्ने, आर्थिक मन्दीबाट उन्मुक्ति नपाउन्जेलसम्म उद्यमी व्यवसायीलाई चालु पुँजीको उपलब्धता सरल र सहज तवरले हुनुपर्ने तथा हाल जारी चालुपुँजी कर्जा निर्देशिका तत्कालका लागि स्थगित गरिनुपर्ने चेम्बरका सुझाव रहेका छन् ।

त्यस्तै घरजग्गा कारोबारलाई थप गति दिन ५० लाखभन्दा माथिको कर्जाका शतप्रतिशत जोखिमभार कायम गरिनुपर्ने, अहिले घरजग्गा खरिदबिक्रीका क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालु नाफाको स्रोतलाई नै आधार बनाई घरजग्गा कारोबारलाई मान्यता दिन मालपोत कार्यालयबाट अपनाइएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएकाले घरजग्गाको कर्जा प्रवाहमा हुने मूल्यांकन सीमा ७०-३० बाट बढाएर ८०-२० को अनुपात कायम गरिनुपर्ने चेम्बरका सुझाव रहेका छन् । चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान महत्वपूर्ण भएकाले नीतिगत सहजीकरणमा जोड दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले उद्यमशीलता विकास र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता रहेको भन्दै मुलुकको आर्थिक अवस्था सुदृढ र प्रभावकारी परिणाम दिने गरी काम सुुरु भएको बताउनुभयो । मुलुकको समग्र आर्थिक पक्षको मूल्यांकन गरी सरकारले नीतिगत निर्णय गर्दै जाने भन्दै उहाँले ढुक्क भएर लगानी एवं व्यावसायिक गतिविधि गर्न चेम्बर टोलीलाई आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *