पेरिस ओलम्पिक

नदी किनारमा ऐतिहासिक उद्घाटन

हिमालय टाइम्स
Read Time = 5 mins

पेरिस । ‘गेम्स वाइड ओपन’ यस वर्षको पेरिस ओलम्पिकको नारा हो, जुन औपचारिक रूपमा शुक्रबारबाट सुरु भएको छ । ओलम्पिक खेलकुदको इतिहासमा पहिलोपटक रंगशालाबाहिर नदी किनारमा उद्घाटन गरिएको हो । सेन नदी किनारमा शुक्रबार भव्य कार्यक्रमबीच पेरिस ओलम्पिकको उद्घाटन गरिएको हो । सेन नदी फ्रान्सको सबैभन्दा प्रख्यात नदी हो । यो राजधानी पेरिस हुँदै पूर्वबाट पश्चिमतर्फ बग्छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र फ्रान्स सरकारले ओलम्पिकको उद्घाटन समारोहलाई विशेष र फरक बनाउने प्रयास गरेका थिए । १०० वर्षमा पहिलोपटक फ्रान्सेली राजधानीले ग्रीष्मकालीन खेलहरू आयोजना गरेको हो । फ्रान्सको राजधानी रहेको पेरिसले एक शताब्दीको अन्तरमा पहिलोपटक ओलम्पिक आयोजना गरेको हो ।

सन् १८९६ मा एथेन्समा ओलम्पिक सुरू भएको थियो । पेरिसले यसअघि सन् १९२० र १९२४ मा ओलम्पिक खेलकुद आयोजना गरेको थियो । लण्डनपछि तीनपटक ओलम्पिक आयोजना गर्ने यो दोस्रो देश बनेको छ । मौलिक र अद्वितीय छनक दिन उद्घाटन सत्रमा सहभागी खेलाडीले सेन नदीमा डुंगामा परेड गरे । ओलम्पिकमा सहभागी प्रत्येक देशका लागि एउटा डुंगाको व्यवस्था गरिएको थियो ।

फ्रान्सको राजधानी शहरमा २०६ राष्ट्रका १० हजार बढी खेलाडीको जमघट भएको छ । आयोजकका अनुसार ओलम्पिक परेडमा १० हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ । परेड सेन नदीको ६ किलो मिटर दूरीमा भएको थियो । जसमा दर्शकले सबैतिर छरिएर उद्घाटनको परेड हेरेका थिए । कम्तीमा पनि तीन लाख २० हजार दर्शकले प्रत्यक्ष उद्घाटन समारोह अवलोकन गरेको आयोजकले दाबी गरेको छ । यसबीच १५० किलोमिटरको क्षेत्रको पेरिसको आकाश ‘नो फ्लाई जोन’ गरिएको थियो । ओलम्पिक १६ दिन चल्नेछ । पेरिस शहरका लगभग सबै कुनामा कुनै न कुनै खेल हुनेछन् ।

यसअघिको ओलम्पिक महामारीको सिकार बनेको थियो । त्यसैले यसपल्टको ओलम्पिकमा खुशीयालीको कुनै सीमा हुने छैन । यही ओलम्पिकले सम्भवतः विश्व खेलकुदको महाकुम्भको भविष्य पनि निर्धारण गर्नेछ । सन् २०२१ को टोकियो ओलम्पिकमा लगभग दर्शक नै नभएको स्थिति थियो । यस्तोमा यसपल्ट दर्शकको ओलम्पिकमा पुनरागमन हुँदैछ । सन् २०२२ को शीतकालीन ओलम्पिक पनि चीनमा लकडाउनकै स्थितिमा भएको थियो । त्यसमध्ये सबैभन्दा बढी आकर्षण त ३३० मिनेट अग्लो आइफल टावर नै हुनेछ । आइफल टावरकै छेउमा बीच भलिबल आयोजना हुनेछ ।

सुरक्षाका लागि ४५ हजार प्रहरी तैनाथ गरिएको छ । सँगै हुनेछन् दस हजार सेना परिचालन गरिएको छ । कुल ३२ खेलको ३२९ विधामा प्रतिस्पर्धा हुनेछ । पदकमा आइफल टावरबाट झिकिएको फलामको अंश पनि हुनेछ । प्रतियोगिताका क्रममा सेन नदीलाई पूर्ण सुरक्षामा राखिनेछ । प्रतियोगिताका कुल लागत नौ अर्ब युरो रहेको छ । त्यसमध्ये आधा त प्रायोजक, टिकट बिक्री र निजी क्षेत्रको कोषबाटै पूर्ति हुनेछ ।

पेरिस शहरमा पछिल्लो समय शृंखलाबद्ध आतंककारी आक्रमण पनि भएका छन् । त्यसैले १० हजार पाँच सय खेलाडी तथा तिनका खेल हेर्न आउने दशौं लाख पाहुनाको सुरक्षा सबैभन्दा ठूलो चुनौती छ । युक्रेन तथा गाजामा चलिरहेको युद्धका कारण अहिले विश्व राजनीति नै खलबलिएको छ । त्यसैले पनि ओलम्पिकका लागि सुरक्षा व्यवस्था आफैंमा चुनौतीपूर्ण बनेको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *