एनएसजेएफ पल्सर अवार्ड

चार विधाका मनोनयन सार्वजनिक

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलनमार्फत् २१औँ संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।

चार विधामा उत्कृष्ट पाँच/पाँचजना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । उक्त अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कराँतेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा पर्नुभएको छ । महिलातर्फ कराँतेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथलेटिक्समा सन्तोषी श्रेष्ठ र कबड्डीमा मेनुका राजवंशी मनोनयनमा पर्नुभएको छ ।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार मनोनयनमा समावेश गरिएको हो । मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो । यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) हुनुहुन्छ । वर्ष उत्कृष्ट प्रशिक्षकमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराँते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय महर्जन (भारोत्तोलन) मनोनयनमा पर्नुभएको छ ।

अवार्ड आगामी भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिनुभयो । मनोनयन सार्वजनिक कार्यक्रममा एआइपिएसका केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु धेरै राम्रो पक्ष रहेको उल्लेख गर्दै शुभकामना दिनुभयो । यो वर्ष मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दैछ । एनएसजेएफए आइपिएस एसियाको सदस्य हो ।

यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसक्नुभएको छ । यसको विजेता घोषणा इसेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोर्ट्स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकलाई आधार गरिनेछ । इसेवाको मत भदौ २७ गते राती १२ बजेसम्म खुला रहनेछ । अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन गर्दै आएको छ ।

यसपल्ट वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेतालाई पल्सर एनएस २०० मोटरबाइक प्रदान गरिनेछ । पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटरबाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट हृयाम्पर प्रदान गरिनेछ । सदाझँै यस वर्ष पनि पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुपको पल्सर मोटरसाइकल हो । गोल्छा गु्रपको नाम यसअघि हंशराज हुलास चन्द एण्ड कम्पनी रहेको थियो । मञ्च र गोल्छा गु्रपबीच अवार्डकै लागि सहकार्य भएको यो १६औँ वर्ष हो । सह-प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, इ-सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरि हिल्स, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी), होटल संघ नेपाललगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *