अर्जुन दाहालको कवितासंग्रह ‘हिड्न बाँकी बाटाहरू’ विमोचन

काठमाडौं । कवि तथा गीतकार अर्जुनबाबु दाहालले कवितासंग्रह ‘हिड्न बाँकी बाटोहरू’ विमोचन गरिएको छ । शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा दाहाललको कवितासंग्रह ‘हिड्न बाँकी बाटोहरू’को विमोचन गरिएको हो । लामो समय स्वास्थ्य पेसामा आबद्व हुनुभएका दाहालले यसै कविता संग्रहबाट कविको पहिचान थप्नुभएको हो ।

कार्यक्रममा बरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले दाहालका कवितामा सकारात्मक सोच भेटिने दाबी गर्नुभयो । उहाँले भने, ‘उहाँका कवितामा व्यङ्ग्य, विद्रोह र आलोचना जे गर्दा पनि सकारात्मक सोच भेटिन्छ, यो कविताको राम्रो पक्ष हो ।’ दाहालले कविको रूपमा आफ्नो जन्म घोषणा गरेको भन्दै यो पहिचानलाई सदैव बचाइराख्न शुभकामनासमेत दिनुभयो ।

कार्यक्रममा पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले कविले हृदयबाट नै कविता लेख्नुभएको भन्दै आफू लेखनको प्रगतीको पक्षधर भएको भन्दै शुभकामना दिनुभयो । कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कविताको शीर्षकले आशावादी बोध गराउने भएपनि कवितामा हिडिसकेका बाटाहरू आएको टिप्पणी गर्नुभयो । यस्तै, कवितामा प्रयोग भएको सरल भाषाले सामान्य पाठकले पनि सजिलै बुझ्न सक्ने बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ कवि एवं साहित्यकार डा. नवराज लम्सालले दाहालले जीवनको सार कवितामा उतार्नुभएको र नेपाली साहित्य जगतमा नयाँ कविको जन्म भएको बताउनुभयो ।

कार्यक्रममा कवि दाहालले आफूले आफ्नो जिन्दगी भोगाइ र अब हिड्न बाँकी जिन्दगीका बाटोलाई समेटेर कविता संग्रह सार्बजनिक गरेको जानकारी गराउनुभयो । ‘मैले भोगेको देखेको र मनका पीडालाई कवितामा पोखेको छु’, उहाँले भन्नुभयो । उहाँले कविता लेख्नका लागि हौसला प्रदान गर्ने र सल्लाह दिने वरिष्ठ कवि लम्साल आफ्नो प्रेरणाको श्रोत भएको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, गायक शिव परियार, बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, डा. राधाकृष्ण ढुगाना लगायतले कविताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अमर प्रकाशन गृहले बजारमा ल्याएको कवितामा कविले आजको युवाले भोगेको पीडालाई कवितामा उतार्ने प्रयास गर्नुभएको छ । हार्ड कभर र सफ्ट कभरमा उपलब्ध कविताको मूल्य क्रमशः ५०० र २५० तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *