हेटौंडाकाे वनविज्ञान परिसरमा हुने यौनजन्य क्रियाकलाप हटाउन सरसफाई

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 5 mins

मकवानपुर । हेटौंडा-१० स्थित वनविज्ञान अध्ययन संस्थान आसपासको क्षेत्रमा बिहीबार सरसफाई गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा सरसफाई गरिएको हो ।

स्थानीय तथा आवातजावत गर्ने यात्रु समेतलाई अशोभनीय हुने गरी यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्य उच्छृङ्खल व्यक्तिहरुले अनैतिक क्रियाकलाप गरी प्रदुषण एवं दुर्गन्धसमेत फैलाएको भन्ने प्राप्त जनगुनासोको आधारमा त्यस क्षेत्रमा अवलोकन गरी सरसफाई कार्यक्रम अगाडि बढाइएको बताइएकाे छ ।

हेटौंडा उपमहानगरपालिकाकि मेयर मीना लामाको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी १४ नं.गणका सशस्त्र प्रहरी उपरीक्षक ज्ञान प्रसाद भुर्तेल, नेपाली सेनाका पधाधिकारीहरु, १० नम्बर वडाध्यक्ष फुर्वा लामा, सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कँडेललगायत स्थानीय जनप्रतिनिधि, फ्रेन्डस् हेटौडाका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, भद्रभलाद्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरीहरुसमेत गरी दुईसय जनाको सहभागितमा रहेको थियो ।

प्रहरीले राती गस्ती गर्ने र फ्रेन्डस् हेटौंडासंग समेत सहकार्य गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । त्यस ठाउँमा जाने ग्राहक र यौन धन्दा गर्ने दुवैलाई ल्याएर कानुनी कारवाही गर्ने उहाँले बताउनुभयो ।

स्थानीय र व्यापारीबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिले यौन व्यवसाय गरी दु:ख दिने गरेको भन्ने गुनासो आएपछि बुधबार सम्बन्धित सबै निकायसंग छलफल गरि सरसफाई अभियान अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिनुभयो ।

सम्बन्धित निकायसंग भएको छलफलबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिले त्यस स्थानमा चलाइरहेको यौन व्यवसायलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म गस्ती गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यस स्थानमा पालिकाको समन्वयमा फरेस्टिले पर्खाल लगाउने र लाइट राखिने उहाँले बताउनुभयो ।

त्यस स्थानम पार्किङ गरिने ट्रकहरुमा समेत त्यसता क्रियाकलाप हुने गरेको सूचना प्राप्त भएका कारण नो पार्किङ जोनसमेत बनाइएको उहाँले बताउनुभयो ।

राम्रै घर परिवारको व्यक्तिहरुको पनि त्यस्तो क्रियाकलापमा संलग्नता भएको पाइएको र अबका दिनमा त्यस्तो पाइएमा कार्वाही गरिने उहाँले बताउनुभयो । त्यस स्थानमा आउने ग्राहक आफ्नै गाडी चडेरसमेत आउने गरेको र त्यस्तो भेटिए कसैलाई नछोडिने सार्वजनिक गरि कार्वाही गरिने र परिवारको जिम्मा लगाइने उहाँको भनाइ छ ।

त्यस स्थानबाट हटाएपछि जान सक्ने अन्य स्थानको समेत अनुमान लगाइसकिएको र त्यस स्थानबाट समेत हटाइने उहाँले बताउनुभयो । मकवानपुर जिल्ला भित्रका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पहिचान गरि रोजगारीको व्यवस्था गर्ने र सम्बन्धित जिल्लामै फर्काइनेसमेत उहाँले बताउनुभयो ।

त्यस स्थानपछि बसपार्क क्षेत्रमा हुने यौन क्रियाकलापलाई समेत रोकिने उहाँको भनाइ छ । सुन्दर हेटौंडा, सफा हेटौंडा र सुरक्षित हेटौंडा बनाउने अभियानमा लागि बृहत् सरसफाई तथा जनचेतना कार्यक्रम संचालन गरिनुको साथै उक्त अभियानलाई निरन्तरता दिने समेत उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *