पहिलो टी–२० आईमा नेपाल : बिर्सनलायक बलिङका बाबजुद ठूला सटकाे प्रयास

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपालले घरेलु मैदानमा नामिबियासँग उत्कृष्ट ब्याटिङका बाबजुद पराजय भोगेको छ । सुरुवात खराब गरेपनि नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पच्छ्याएको नेपालले पछिल्लो क्रमका ब्याट्स मेनले केही आशा जगाएका थिए ।

पहिला फिल्डिङको निम्तो पाएको नेपालले बिर्सनलायक बलिङ गर्यो । नामिबियाको पहिलो दुई विकेट समयमै लिएपनि त्यसपछि नेपालका बलरसामू नामिबियाका खेलाडीले उत्कृष्ट खेल खेलेका थिए ।

नेपालले पहिलो टी–२० आईमा २० रनको हारबाट त्रिदेशीय श्रृंखला शुरु गरेको छ ।

ट्वान्टी–२० विश्वकप तयारीमा रहेको नेपालले कीर्तिपुरमा मंगलवारबाट शुरु भएको टी–२० आई त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नै बिर्सनलायक बलिङ गरेपछि नतिजा सुम्पिन बाध्य भएको हो । जान निकोल लफ्टी इटनले विश्व कीर्तिमानी शतकसँगै अलराउण्ड प्रदर्शन गरे । उनले ३३ बलमा नै शतक पूरा गर्दै नेपालकै कुशल मल्लको नाममा रहेको विश्व कीर्तिमान भंग गरे ।

कुशलले यसअघि चीनको गत एशियन गेम्समा ३४ बलमा शतक पूरा गरेका थिए । जुन नेपालकै घरेलु मैदानमा इटनले तोडेका हुन् । उनकै शतक प्रेरणामा नामिबियाले त्रिवि क्रिकेट मैदानमा नेपालसामु दुई सय ७ रनको चुनौतीपूर्ण लक्ष्य प्रश्तुत गरेको थियो ।

जबाफी ब्याटिङ गरेको नेपालले खराब शुरुवातको बाबजुद जितको आशा देखाए पनि सफल हुन सकेन । विशाल लक्ष्य पाएको नेपाली खेलाडीले केही ठूला सटमा प्रयासरत गरेका थिए ।  उनीहरुले १२ ओटा चौका र १० ओटा छक्का हिर्काएका थिए ।

घरेलु टोली १८.५ ओभरमा एक सय ८६ रनमा नै अलआउट हुन पुग्यो । ओपनरद्वय कुशल भुर्तेल शुन्यमा र आसिफ सेख ६ रनमा नै पभेलियन फर्किएपछि नेपालको शुरुवात राम्रो हुन सकेन । त्यससँगै २.२ ओभरमा नेपाल २०-२ अवस्थामा थियो । तर त्यस पछिका ब्याटरले आक्रामक इनिङ खेल्दै १९ औं ओभरसम्म जित आशा देखाए । यस क्रममा कप्तान रोहितकुमार पौडेलले ४२ रन, कुशल मल्लले ३२ रन, दीपेन्द्रसिंह ऐरीले ४८ रन र अनुभवी सोमपाल कामीले २६ रन जोड्दै जितको आशा दिलाए ।

अन्तिम १२ बल बाँकी छँदा नेपाललाई जितका लागि २४ रन आवश्यक हुँदा दुई विकेट हातमा थियो । तर तिब्र गतिका बलर रुबेन ट्रम्पलमेनले १९ औं ओभर नै नामिबियाको जित सुरक्षित गराए । चौथो बलमा उनले आक्रामक ब्याटिङ गरिरहेका दीपेन्द्रलाई विकेटकिपर जान ग्रिनबाट क्याच गराउँदै घरेलु टोलीलाई ठूलो झड्का दिए । लगत्तै अर्को बलमा अविनाश बोहोरा क्लिन बोल्ड भए र नेपालले हार सामना ग-यो । ३२ बल खेलेका दीपेन्द्रसिंहले समान दुई चौका र छक्का प्रहार गरे । नवौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ११ बलमा तीन छक्का र एक चौका हिर्काए ।

उनले १७ औं ओभरमा टेङ्गेनी लुङ्गामेनीलाई दुई छक्का र एक चौका प्रहार गर्दै पाहुना टोलीमाथि दबाब बनाए । दीपेन्द्रले पनि १८औं ओभरमा ठूलो सट खेल्दै नेपाललाई जितनजिक पुर्याए पनि सफलता पाउन सकेनन् । नामिबियाको बलिङमा ट्रम्पलमेनले चार विकेट लिँदै नेपाललाई शुरुदेखि नै दबाब बनाए । लोफ्टी इटनले दुई विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे । बर्नान्ड स्कल्च र जान फ्रिलिन्कले थप दुई विकेट निकाल्दै सात बल अगावै जित सुरक्षित गराए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले मध्यम सुरुआतका बाबजुद मात्र चार विकेट गुमाएर दुई सय ६ रनको विशाल योगफल खडा ग-यो ।

११ औं ओभरमा नामिबिया ६६-३ को मध्यम अवस्थामा थियो । तर त्यसपछि नेपाली बलरले लय गुमाउँदा लफ्टी इटन र मलान क्रुगर पूर्ण रूपमा हाबी भए । इटनले विश्व कीर्तिमानी शतक बनाउँदा मलान ५९ रनमा नटआउट रहे । अविनाश बोहोराले २०औं ओभरमा इटनलाई १०१ रनमा पभेलियन फर्काएका हुन् । इटनले ३६ बलमा ११ चौका र ८ छक्का हिर्काए । मलानको इनिङमा ६ चौका र दुई छक्का रह्यो । नेपालको बलिङमा सबै बलर महँगा सावित भए । कप्तान रोहितले दुई विकेट लिँदा करण केसी र अविनाशको नाममा समान एक विकेट रह्यो ।

अब नेपालले श्रृंखलाको दोस्रो खेल बुधवार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *