किसुनजी र अध्यात्म

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ बाबुराम खनाल

‘किसुनजी ‘अथेन्टिक’ मानिस थिए’ ।-विजय कुमार
नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बारे सुप्रसिद्ध लेखक एवं पत्रकार विजय कुमारले आफ्नो कृति ‘खुशी’ मा किसुनजीलाई अथेन्टिक मानिस भनेका छन् । राणा शासनकालमा वीरशमशेरले विश्वनाथ भट्टराईलाई राजधानीबाट निकालिदिएपछि यो भट्टराई परिवार वनारस बस्न थाल्यो । पिता संकटाप्रसाद भट्टराई र माता ललितादेवी भट्टराईका कान्छा छोरा किसुनजी विश्वनाथ भट्टराईका नाति हुन् । किसुनजीका बाबु र बाजे पण्डित्याइँ गर्थे । किसुनजीका तीन दाजु र उनी भारतीय स्वतन्त्रता संग्राममा समावेश भए । स्नातकोत्तर पढ्दै गरेका किसुनजी जेल परे । विद्यार्थी राजनीतिबाट उनी राजनीतिक कार्यकर्तासहित पत्रकार पनि बने ।

फागुन २० गते दिवंगत किसुनजीको स्मृति सन्दर्भमा उनीबारे छोटो आलेख प्रस्तुत गरिएको छ । धर्म अनुसारको आचरणलाई पनि अध्यात्म भनिन्छ तर यहाँ अध्यात्मलाई फरक किसिमबाट बुझ्नुपर्छ । अहिंसाका पुजारी किसुनजीले अध्यात्म अँगाले । हामी परिवर्तन र क्रान्तिका बारे बहसपैरवी गर्छौं । हिंसा र अहिंसाका बारे सार्थक संवाद गर्छौं । अध्यात्मले भन्छ, व्याक्तिमा शान्ति समाजमा क्रान्ति । परिवर्तनका लागि आफैंलाई कठोर मार्गमा हिँडाउँनु अध्यात्म हो । आफ्नो स्वार्थको पूर्णरूपले तिलाञ्जलि दिनु अध्यात्म हो । सांसारिक जीवन बाँचेर सन्यासउन्मुख जीवनशैलीले निःस्वार्थ सेवा गर्नु अध्यात्म हो । आफ्नो जीवनलाई जीवन्त र मानवीय बनाउनु पनि अध्यात्म हो ।

किसुनजीसँग जबरजस्त दुई चरित्र थिए । एउटा राजनीतिक चरित्र र अर्को आध्यत्मिक चरित्र । राजनीतिक चरित्रमा सबैको महत्वकांक्षा हुन्छ । राजनीतिमा महत्वकांक्षा उनको पनि थियो । सम्झौता पनि साझा विषय हुन सक्छ तर उनलाई अध्यात्मले सम्झौतावादी बन्नै दिएन ।

अध्यात्मिक मानिसको आचरण पूर्ण लोकतान्त्रिक हुन्छ । किसुनजीले आफूलाई सदा लोकतान्त्रिक बनाए । आफूलाई कठोर मार्गमा हिँडाए । अध्यात्मलाई बैचारिक क्रान्तिको माध्यम बनाए । उनले साध्य प्राप्तिको साधनलाई पवित्र बनाए । किसुनजी भन्थे : अर्गानिक फल खानेले त्यो रूखको जरासमेतलाई पनि अर्गानिक बनाउनुपर्छ । अविश्रान्त योद्धा किसुनजी २००७ सालको क्रान्तिपछिको मोहनशमसेरको सरकारलगत्तै बीपीलाई प्रधानमन्त्री बनाउन राजा त्रिभुवनकोमा योगप्रसाद उपाध्यायलाई साथ लिएर पुगेका थिए । प्रा.डा.जयराज आचार्यका अनुसार त्रिभुवनले आफू मातृकालाई प्रधानमन्त्री बनाउन विवश भएको बताएका थिए । त्यसको कारण थियो जवाहरलाल नेहरूको दबाब ।

यस घटनाले किसुनजीमा स्वाधीन संघर्षको बिउ रोपेको थियो । माध्यम अर्थात् साधनको पवित्रतामा यस्तै घटनाक्रमहरूले उनमा वैचारिक दृढता संथागत हुँदै गएको अनुमान गर्न सकिन्छ । किसुनजीले राजाको शासनमा निर्वासनमा नगई सत्याग्रह रोज्नुका पछाडि यस्तै कारण थिए ।

किसुनजीलाई ‘अथेन्टिक’ भन्नेहरूमा लेखक विजयकुमार अग्रपंत्तिमा छन् । विजयकुमारका अनुसार किसुनजीको ठट्टा र गम्भीरता होस् वा क्रोध र मुस्कान सबै ‘अथेन्टिक’ थिए । ‘अथेन्टिक’ मानिसको भाव र भंगीमाको बीचमा कुनै विरोधाभास हुँदैन । अलौकिक धरोहर किसुनको मुस्कान होस् या हाँसो दुवै आभाषयुक्त हुन्थे ।

हास्यरसी किसुनजीको कति निश्चल हाँसो हुन्थ्यो ! उन्मुक्त हाँसो दुर्लभ मानिसमा मात्र हुनसक्छ । किसुनजीसँग जवरजस्त दुई चरित्र थिए । एउटा राजनीतिक चरित्र र अर्को आध्यत्मिक चरित्र । राजनीतिक चरित्रमा सबैको महत्वकांक्षा हुन्छ । राजनीतिमा महत्वकांक्षा उनको पनि थियो । सम्झौता पनि साझा विषय हुनसक्छ तर उनलाई अध्यात्मले सम्झौतावादी बन्नै दिएन । उनी सबल राजनीतिज्ञ थिए । राजनीतिमा सत्ता प्राप्तिका लागि रोगग्रस्त ज्वरो निकाल्नु जनता र देशका निमित्त कति घातक हुन्छ भन्ने दृष्टान्तका लागि धेरै टाढा जानै पर्दैन । सशक्त आध्यात्मवादी किसुनजीले अरूसँग धमिलो पोखरीमा पौडी खेलेर विजेता बन्ने लालचा कहिल्यै राखेनन् ।

आध्यत्मिक साधकले आफ्नो स्वामी आफैं हुनुपर्छ भन्ने मान्यता राख्छ । आध्यत्मले भन्छ-मष्तिस्कभन्दा पहिले हृदयलाई प्रशिक्षित गर्नुपर्छ तर हामीमा त्यस्तो कम पाउँछौं । राजनीतिमा चारित्रिक शुद्धता घट्दो छ । हाम्रो राजनीति समाजवादी राजनीति हो । मौजुदा संविधानले यही भन्छ । हामीले ६ वटा संविधान फटायौं । यो सातौं संविधान ‘नेपालको संविधान-२०७२’ समाजवादी संविधान हो । जनादेशले लेखेका संविधानमध्ये यो सर्वोत्कृष्ट संविधान पनि हो । अधिकारको आँखाबाट हेर्दा नेपाली जनता आफैंले लेखेको संविधान नै यही हो । सामाजिक न्यायको प्रत्याभूति परिमाणको गणितबाट हेर्दा यो संविधान सर्वश्रेष्ठ संविधान हो तर अब संविधान बमोजिम आफूलाई नवीकरण गराएका राजनीतिक दलहरूले लडेको राजनीतिलाई उठाएर हिँडाउने हैसिएत राख्नुपर्छ ।

किसुनजीप्रति कृतज्ञ हुने हो भने अथेन्टिसिटी बढाउनुपर्‍यो । उनको सदाचारको अनुकरण गर्नुपर्‍यो । उनको आचरण पछ्याउनुपर्‍यो । अध्यात्मको अनुयायी हुनुपर्‍यो । अध्यात्म कुनै धर्म होइन बरू सबै धर्मको साझा चिन्तन गर्ने भावनात्मक चौतारी हो ।

लडाउने राजनीति गर्न कसैलाई पनि छुट छैन । लडाउने प्रकृति र प्रवृत्तिको राजनीतिलाई अन्त्य गर्ने कसम खाएर परम्परागत राजनीतिलाई विसं २०६५ जेठ १५ गते अन्त्य गरिएको होइन र ? राजनीतिमा समस्या छन् । समस्या भएको सरोकारवालाहरूले स्वीकार्नुप¥यो । ठूला समस्या समाधान हुँदैनन् । सोचलाई सच्चाउनुपर्‍यो । सोचलाई सच्चाएर गर्न नसकिने केही पनि हुँदैन । लोकतान्त्रिक गणतन्त्रमा गणतन्त्र होइन लोकतन्त्र हावी हुनुपर्छ । गणतन्त्रलाई हावी बनाउन संविधानसभा गठन गरिएको होइन । नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउन संविधान बनाइएको हो ।

सेवाको राजनीति गर्न विचारको खाँचो छ । मौलिक र नवीन विचारको खाँचो छ तर नयाँ पुस्तक पढेर होइन पुराना पुस्तक पढेर विचार निर्माण गर्नुपर्छ । ती पुस्तकहरू खँदिला हुनुपर्छ । विगतका ६ थान संविधान पनि पुराना किताब हुन् । २००७ सालको क्रान्तिका कारण के-के थिए । २०१५ सालको घोषण पत्र के-कस्ता थिए । बीपी कोइराला नीति रकार्यक्रम तथा बजेटका विशेषता के थिए । सरकार अपदस्थ गर्नुपर्ने कारण के थिए । वामपन्थी र प्रजातन्त्रवादीहरूले पञ्चायतीलाई चुनौती दिनुपर्ने कारण के के थिए । यी सबै दस्तवेज पढिनुपर्‍यो । किसुनजीले त मानव सभ्यता निर्माणको कालजयी ग्रन्थ गीता दिनहुँ पाठ गर्थे ।

राजनीतिमा शिक्षाको प्रमुख भूमिका हुन्छ । हाम्रो शिक्षाको उद्देश्यमा पुनर्विचार गर्नुपर्ने त होइन ? किन जवाफ दिनुपर्ने धेरै जिम्मेवार मानिसहरू स्पष्टीकरण दिँदै हिड्छन् ? किन कतिपय जिम्मेवारीमा बसेका मानिसहरू सार्वजनिक खपतका लागि बोल्छन् ? हाम्रो शिक्षाले मानिसको मनको ढोका ढक्ढक्याउन सक्ने बनाउन सक्दैन ? मानिसको मनको ढोका ढक्ढक्याउने शिक्षा चाँहिँदैन ? नत्र शिक्षाको के प्रयोजन ? राज्यले शिक्षामा किन गरिरहनु यत्रो लगानी ? ज्ञानी मानिसहरूका अनुसार प्रेम र घृणा भयंकर सरुवा रोगहरूजस्तै हुन् । दिन दुई गुणा रात चार गुणाजस्तै संक्रात्मक रोगहरू जस्तै हुन् । मानिसले प्रेम फिँजाएर प्रेम नै पाउने हो । यो त व्यक्तिमा भर पर्ने विषय भयो । प्रेमको खेती गरे प्रेम नै फल्छ । हार्दिकता रोपे हार्दिकता पाइन्छ ।

इज्जत र मर्यादा रोपे तिनै चिज फल्ने हो । काउली रोपेर ब्रोकाउलीको अपेक्षा गर्न सकिँदैन । अध्यात्मले प्रेम रोप्ने भन्छ । शान्तिको निम्ति सद्भाव रोप्ने भन्छ । घृणा गर्नेलाई पनि प्रेम गर भन्छ किनकि प्रेमको प्रतिफल प्रेम नै अपेक्षा गरिन्छ । किसुनजीप्रति कृतज्ञ हुने हो भने अथेन्टिसिटी बढाउनुपर्‍यो । उनको सदाचारको अनुकरण गर्नुपर्‍यो । उनको आचरण पछ्याउनुपर्‍यो । अध्यात्मको अनुयायी हुनुपर्‍यो । अध्यात्म कुनै धर्म होइन बरू सबै धर्मको साझा चिन्तन गर्ने भावनात्मक चौतारी हो । शान्ति समृद्धि प्राप्त गर्ने सर्वाधिक पवित्र साधन हो । साधन प्राप्त गर्ने अर्थात गन्तव्यमा पुग्ने धेरै लेनयुक्त राजमार्ग हो । किसुनजी स्मृति दिवसमा उनीप्रति शब्द श्रदाञ्जलि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *