सांसदलाई वित्तीय सारक्षता कक्षा

काठमाडौं । संघीय संसद्का सदस्यहरूका लागि बैंकिङ साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संघीय संसद्को आयोजना र राष्ट्रिय वाणिज्य बैंकलगायतको सहकार्यमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

सामान्यतया बचत, लगानी र कर्जालगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारका रूपमा मात्र नबुझी सबैका लागि वित्तीय साक्षरता बढाउनुपर्ने कुरामा जोड दिइएको थियो । सानैदेखि नै बचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानी कम गर्ने, कर्जा लिँदा कर्जाको उपयोगिताबारेमा सिकाउने, ऋण नतिर्दाको असर, त्यसबारेमा ज्ञान दिने, रेमिट्यान्स सही तवरले भित्र्याउने, हुण्डी भनेको गलत हो भनेर सिकाउनेलगायत सबैलाई जानकारी हुनुपर्ने बताइएको थियो ।

सो अवसरमा उपसभामुख इन्दिरा रानाले वित्तीय साक्षरतालाई अब उच्च माध्यमिक तहको शिक्षामा जोडेर लैजान आवश्यक रहेको बताउनुभयो । वित्तीय साक्षरताको कमीले भ्रष्टाचार नियन्त्रणको काम पनि कठिन भइरहेको भन्दैै वित्तीय कारोबार अनुशासित बनाउँदा त्यसले भ्रष्टाचार र अनियमिततालाई बढावा दिनबाट रोक्ने उहाँले बताउनुभयो । सांसद ईश्वरबहादुर रिजालले बैंकहरूले नाफामात्रै कमाउने नभई वित्तीय साक्षरता बढाउने दायित्व पनि बहन गर्नुपर्नेमा जोड दिनुभयो ।

वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्दामा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, व्यक्तिगत वित्तपोषण र बजेटिङका विषयमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल र बैंकिङ र वित्तबारेमा राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सांसदहरूलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *