✍️ अरुणबहादुर खत्री ‘नदी’
कवि ईश्वरीप्रसाद भुसालको अर्पण नामक कविता संग्रह-२०८१ सालमा चौथो कृतिको रूपमा प्रकाशनमा आएको छ । यसभित्र अर्पण शीर्षकको एउटा लामो कविता रहेको छ । नेपाल देश हो हाम्रो यहाँ छन् हिम पर्वत तराई फाँटले गर्दा थपिन्छ अझ गौरव भनेर कविताको सुरुमा लेखिएको छ । ७७ जिल्ला र प्रदेश सात नै गनी-कोरियो देशमा रेखा विकास पथका भनी उनले कवितामा लेखेका छन् । कवि ईश्वरीप्रसादले जीवनमा धेरै कुराहरू सोचेजस्तो हुँदो रहेनछ । मनमा उठ्ने सबै इच्छा आकांक्षालाई पूरा गर्न सकिँदोरहेनछ भनेका छन् ।
जे जस्तो म छु हे आमा !
म हुँ पुत्र हजुरको ।
पाउँ बस्न गरी सेवा
मेरो अन्तिम माग हो ।।
बाघ र चितुवा पुग्छन् आनन्दसँग रन्वन मयूरी मदमा नाच्छे फिँजाइ पङ्ख सुन्दर कविले कवितामा लेखेका छन् । कविले आफ्नै जीवनमा घटेका केही दुर्घटनालाई मार्मिक शब्द र भावमा उल्लेख गरेका छन् । प्रथमतः उनले सुखको कल्पना गर्दै आएँ यो फाँट भूमिमा, सोचे जस्तो कही रैछ डुबे म व्यर्थ दुःखमा भनेर आफू तराईमा बसाइँ सरेर आएकोमा पछुतो मानेका छन् । अर्पण कविता उनको एउटा सुन्दर कविता हो ।
कवि ईश्वरीप्रसादका कविताहरू भावनात्मकमात्र छैनन्, जीवन र जगत्को वास्तविक छवि चित्रांकनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि बेजोड र सशक्त छन् । कवि ईश्वरीप्रसादले लेखेका कवितामा विषयवस्तुको विविधता पाइन्छ, त्यस्तै उनका शिल्प शैलीमा पनि विविधता भेटिन्छन् ।
यस कवितामा उनले परिवर्तन भो आज नयाँ चलन भो अब हुन्छ पूजा जेटी ऐले जातजातीहरू सब भनेका छन् । अर्पण नामबाटै कृतिको आशय प्रकट भएर अधिकतम विषयवस्तुको बोध भए पनि यीबाहेकका यसमा अन्तर्निहित विषयवस्तु पनि कम बोधगम्य छैनन् । अनुष्टुप छन्दमा रचना गरिएको यो कृतिमा कविले १४० श्लोकमा आफ्नो भावना व्यक्त गरेका छन् ।
अबोध बालबच्चामा
ज्ञान शिक्षा दिलाउन ।
प्रावि भगवतीलाई
खोलेको छ चलाउन ।।
उनका कविता सकारात्मक चिन्तनका छन् सुखद् बिम्बका छन् । छोडी भूसालबाहेक कोटमा थर अन्यले जान र छुन मिल्दैन भनिन्थ्यो हुन्न रीतले उनले कविताभित्र लेखेका छन् । कवि जति याचना गर्दै जान्छन् उति विनीत बन्दै जान्छन् । म छोरो जे जस्तो भए पनि मेरो बाँकी जीवन आमाको सेवामा बितोस्, मेरो मन आमाको महिमा गाउँनमै अविच्छिन्न लागिरहोस् भन्ने कामना गर्दै आमाको वात्सल्यपूर्ण हृदयले उनको मनोभावना अवश्य बुझ्नेछ भन्ने अपेक्षा गर्दै उनले कविता लेख्छन् ।
तारेभीर अझैँ अग्लो
मस्कन्छ रश्मिकासँग ।
आश्रय स्थल हो बस्छन्
अनेकौं पशु शावक ।।
कवि ईश्वरीप्रसादका कविताहरू भावनात्मकमात्र छैनन्, जीवन र जगत्को वास्तविक छवि चित्रांकनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि बेजोड र सशक्त छन् । कवि ईश्वरीप्रसादले लेखेका कवितामा विषयवस्तुको विविधता पाइन्छ, त्यस्तै उनका शिल्प शैलीमा विविधता भेटिन्छन् । उनले लेखेका कविताहरू सरल छन् । शब्द र वाक्य विन्यास पनि सामान्य छ । त्यसकारणले कवि ईश्वरीप्रसादका कवितालाई आमपाठकले ज्यादै सरल भयो पनि भन्न सक्छन् ।
कवि बारम्बार व्यग्रता प्रकट गर्दछन् उद्विग्न मन लिएर यो समयविरुद्ध लड्न खोज्छन् किनकी दुःखको प्रहारले जनता विचलित छन् राष्ट्रचालकहरू संवेदनाशून्य भई चरित्रहीन मार्ग पछ्याइरहेका छन् । ती दुःखीहरू जो हलो कोदालोमा बाँचेका छन् मजदुरीमा गलेका छन् तिनको कुनै जीवन छैन राज्य त्यहाँ पुग्दैन ।
साह्रै सुन्दर यो ठाउँ
पुख्र्यौली स्थल हो भनी ।
मान्छौ गौरव आफैंमा
हामी भूसाल नै पनि ।।
यो कवितासंग्रहले नेपाली साहित्यमा राम्रो स्थान र नाम राख्नेछ । कवि ईश्वरीप्रसादको लेखन क्षेत्रअगाडि बढ्दै जान सकोस् भन्न चाहान्छु । जीवन भोगाइका क्रममा विभिन्न घात-प्रतिघात सँहदै अगाडि बढेका कवि ईश्वरीप्रसादका यस संग्रहका कवितामा जीवन यथार्थका विविध पक्षको अभिव्यक्ति छ । आगामी दिनमा उनका थुप्रै कृतिहरू प्रकाशित भइरहुन् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
कृति : अर्पण (लामो कविता)
लेखक : ईश्वरीप्रसाद भूसाल
प्रकाशन वर्ष : वि.सं. २०८१
प्रकाशक : मिलाप पब्लिकेशन प्रा.लि., बागबजार, काठमाडौं
मूल्य : रु.२००।-
पृष्ठ : ७६