भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे, २४ वर्षपछि नेतृत्व गान्धी परिवार बाहिर

Read Time = 4 mins

नयाँदिल्ली । भारतीय कांग्रेस आईको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित हुनुभएको छ । सभापति पदका लागि मंगलबार भएको चुनावमा खडगे निर्वाचित हुनुभएको हो । उहाँले चुनावमा ७,८९७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी शशि तरुरले करिब एक हजार ७२ मत प्राप्त गर्नुभयो । निर्वाचनमा ४१६ मत रद्द भएको जनाइएको छ ।

८० वर्षीय मल्लिकार्जुन खड्गेले अब पार्टीको नेतृत्व सम्हाल्नुहुने छ । कांग्रेसले २४ वर्षपछि नेहरू-गान्धी परिवार बाहिरका व्यक्ति अध्यक्ष पाएको छ । कांग्रेस पार्टीको १३७ वर्षे इतिहासमा छैटौंपटक पार्टी अध्यक्ष पदका लागि सोमबार निर्वाचन भएको थियो । पार्टीको नेतृत्व अधिकांश समय गान्धी परिवारको हातमा र अध्यक्ष सर्वसम्मतिले चुनिएको थियो ।

सन् २०१९ को आमनिर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताउनुभएको थियो । राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रोपटक हार व्यहोरेपछि सन् २०१९ मा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुभएको थियो । त्यसयता सोनिया गान्धी नै अन्तरिम अध्यक्षका रूपमा दोहोरिनु भएको थियो ।

सोनिया सन् १९९८ यता करिब २२ वर्ष पार्टीको नेतृत्वमा बसिरहनुभएको थियो । उहाँ कांग्रेसको नेतृत्व सबभन्दा लामो समय निरन्तर गर्ने एकमात्रै अध्यक्ष हुनुहुन्छ । छोरा राहुललाई उत्तराधिकारीका रूपमा अध्यक्षको जिम्मेवारी सुम्पिए पनि सम्हाल्न नसकेपछि उहाँ आफैँ अन्तरिम अध्यक्ष बन्नुभएको थियो ।

भारतीय कांग्रेसको इतिहासमा सन् १९४८ यता पार्टीको नेतृत्व सबभन्दा बढी समय गान्धी परिवारले गरेको छ । गान्धी परिवारबाट कांग्रेसको नेतृत्व जवाहरलाल नेहरूले सन् १९५१ देखि १९५४ सम्म गर्नुभयो । त्यसपछि सन् १९५९ मा इन्दिरा गान्धी करिब एक वर्ष पार्टीको अध्यक्ष बन्नुभयो । त्यसपछि सन् १९७८ मा पुनः अध्यक्षमा दोहोरिनुभएकी इन्दिराले सन् १९८३ सम्म पाँच वर्ष कांग्रेसको नेतृत्व सम्हाल्नुभयो ।

इन्दिरापछि राजीव गान्धी १९८५ देखि १९९१ सम्म कांग्रेसको अध्यक्ष बन्नुभयो । त्यसपछि १९९६ मा सीताराम केसरीले पार्टी अध्यक्ष जित्नुभएको थियो । तर १९९८ मा सोनियाले उहाँलाई हटाएर आफू अध्यक्ष बनेपछि लामो समय पार्टीको नेतृत्वमा बस्ने अवसर प्राप्त गर्नुभयो । भारत स्वतन्त्र भएयता भारतीय कांग्रेसको अध्यक्ष बनेका १६ जनामध्ये पाँचजना गान्धी परिवारका व्यक्ति छन् भने ७४ वर्षमा करिब ४० वर्ष गान्धी परिवारले कांग्रेसको नेतृत्व गरेको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *