प्रदेश १ पछि गण्डकी र बागमतीमा मुख्यमन्त्री नियुक्त

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रदेश १ पछि बागमती र गण्डकी प्रदेशले पनि नयाँ मुख्यमन्त्री पाएका छन् । सोमबार गण्डकी र बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएसँगै तीनवटा प्रदेशले नयाँ सरकार पाएका हुन् । प्रदेश १ मा एमालेका हिक्मत कार्की, गण्डकीमा एमालेकै खगराज अधिकारी र बागमतीमा नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको छ । बागमतीमा मुख्यमन्त्री नियुक्त हुने क्रममा माओवादीका जम्कट्टेलले ७० सांसदको समर्थन पाउनुभएको छ । एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई सांसदले उहाँलाई समर्थन दिएका छन् । गण्डकीमा एमालेका अधिकारीलाई आफ्नै पार्टीका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद गरी ३३ सांसदले समर्थन गरेका छन् ।

बागमतीका नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेलले २०४४ मा अखिल छैटौँमा आबद्ध भएर राजनीतिक जीवनको सुरुवात गर्नुभएको थियो । २०४८ सालबाट मजदुर आन्दोलनमा सक्रिय उहाँ माओवादीले थालेको जनयुद्धमा सुरुदेखि नै होमिनुभयो । २०६० बाट करिब एक दशक माओवादीको मजदुर संगठनको नेतृत्व सम्हाल्नुभएका जम्कट्टेल २०६३ को अन्तरिम संसद् हुनुभयो भने २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गर्दै विजयी बन्नुभयो ।
२०७० को दोस्रो संविधानसभामा पाण्डेसँगै पराजित जम्कट्टेल त्यसयता भएको दुवै प्रदेशसभामा विजयी हुनुभएको छ । २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता बन्नुभएका उहाँ प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री तथा यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानुनमन्त्री नै बन्नुभएको थियो ।

यस्तै, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारी एमाले स्थायी कमिटी सदस्य पनि हुनुहुन्छ । उहाँले स्कुल तहमै वामपन्थी विचारका शिक्षकबाट प्रभावित भएर राजनीति थाल्नुभएको हो । निमावि पढ्दै गर्दा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति बनेर राजनीतिक जीवनको खुड्किला चढ्न थाल्नुभयो । २०३६ सालयताका हरेक राजनीतिक आन्दोलनमा खगराजले कुनै न कुनै मोर्चाको नेतृत्वको गर्नुभएको छ ।

२०४६ को जनआन्दोलन सफल भएसँगै खगराज संसदीय चुनावमा होमिनुभयो । ०४८ मा कास्की १ मा तारानाथ रानाभाटसँग पराजित हुनुभएका खगराजले ०५१ सालमा संसद्को यात्रा तय गर्नुभयो । २०५६ र २०६४ मा हार बेहोर्नुभएका उहाँ २०७० मा सांसद भई स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत बन्नुभयो । पछिल्लोपटक केपी ओली नेतृत्वको सरकारमा २०७८ साल जेठमा उहाँ १३ दिने गृहमन्त्रीसमेत बन्नुभएको थियो । एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आउनुभएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टि जनाउनुभएको थियो । गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।

यस्तो छ गठबन्धनबीच मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भएको सहमति
१ नम्बर, बागमती र गण्डकी प्रदेशमा केन्द्रीय गठबन्धनकै निरन्तरतास्वरूप सत्ता समीकरण बनेपछि बाँकी प्रदेशमा पनि त्यस्तै स्वरूपको सरकारमा सहमति भएको छ । सत्ता गठबन्धनले सातवटै प्रदेश सरकार, सभामुख, उपसभामुखसहितमा सहमति गरेको छ । १ नम्बर प्रदेशमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नुभएको छ । सभामुख माओवादी र उपसभामुख एमालेले पाएका छन् । मधेश प्रदेशमा आलोपालोमा पहिले जसपा र त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री पाउने भएका छन् । अहिले मधेश प्रदेशमा एमालेले सभामुख पाउँदा उपसभामुख जनमतको भागमा परेको छ । पहिलो पालोमा जसपाबाट सरोजकुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ ।
सत्ता गठबन्धनको सहमतिअनुसार बागमतीमा आलोपालोमा पहिले माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री बन्नुभएको छ ।

शालिकरामपछि मुख्यमन्त्री एमालेले लिनेछ । बागमतीमा अहिले सभामुख राप्रपा र उपसभामुख एमालेले लिँदै छन् । गण्डकीमा एमालेका खगराज अधिकारी पाँचै वर्ष मुख्यमन्त्री बन्नुहुने छ । सभामुख माओवादी र उपसभामुख एमालेले पाएका छन् । लुम्बिनी प्रदेशमा पनि एमालेका लीला गिरी पाँचै वर्ष मुख्यमन्त्री बन्नुहुने छ । यहाँ सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने सहमति भएको छ ।

कर्णालीमा माओवादीका राजकुमार शर्माले पाँचै वर्ष मुख्यमन्त्री चलाउने सहमति भएको छ । एमालेले सभामुख र माओवादीले उपसभामुख पाउनेछन् । सुदूरपश्चिम प्रदेशमा अहिले एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्नुहुनेछ । उहाँपछि माओवादीका खगराज भट्टले मुख्यमन्त्री पाउनुहुनेछ । अहिले सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परेका छन् । नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइको माग गर्दै तत्काल सत्ताको भागबण्डामा सहभागी नहुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *