व्यवहारिक सीपका लागि विद्यालयमा फूल खेती

फाइल तस्बिर

रासस
Read Time = 4 mins

धादिङ । अघिल्लो वर्षसम्म वनमारा र कुरोले ढाकिएको चौरमा अहिले ढकमक्क सयपत्री र मखमली  फुलेको छ । विद्यालय भवन वरपरका खाली जमिन अहिले फूलैफूलले ढाकिएको छ । शिक्षक र विद्यार्थी पनि फूलको हेरचाहमा तल्लिन छन् । यहाँका शिक्षक तथा विद्यार्थीहरु भन्छन् “फूल खेती हाम्रो आम्दानीको श्रोत मात्रै होइन, व्यवहारिक र सैदान्तिक ज्ञान प्राप्तिको अवसर पनि हो ।”

धादिङको ज्वालामुखी गाउँपालिका-५ मा रहेको बालादेवी माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका हुन् । कक्षाकोठाको पढाई सँगसँगै फूलखेतीमा रमाइरहनुभएकी विद्यार्थी अस्मिता कुमाल भन्नुहुन्छ-“फूल खेतीबाट हामीले व्यवहारिक ज्ञान पनि सिकेका छौँ ।”

गत वर्षदेखि स्थानीय तहको सहयोगमा सुरु गरिएको पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत विद्यालयमा यो वर्ष तिहारलाई लक्ष्य गरेर फूल खेती गरिएको हो । दसैँ-तिहारको बीचमा प्राय सामुदायिक विद्यालय बन्द भएपनि यो विद्यालयको पढाई निरन्तर चलिरहेको छ । विद्यालय बन्द गर्दा फूलको हेरचाहमा कमी हुने र विद्यार्थीको पढाइमा पनि असर पर्ने भएकोले निरन्तर कक्षा संचालन गरिरहेको विद्यालयका प्राधानाध्यापक शिवलाल श्रेष्ठ बताउनुहुन्छ ।

पन्ध्र हजार सयपत्री र पाँच हजारभन्दा धेरै मखमलीका बिरुवा रोपिएका छन् । यसले विद्यालयलाई आम्दानी बढाउनाका साथै कक्षाकोठामा किताबी ज्ञान मात्र लिने विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि दिलाएको छ ।

“विद्यालय सुधार योजना बनाउँदा नै फूल खेती र तरकारी खेती गर्ने कुरा समावेश गरेका थियौँ । त्यसैअनुसार वडा कार्यालयले रु दुई लाख बजेट पनि छुट्याइदिएको छ”, उहाँ भन्नुहुन्छ, “त्यसले अझ हौसला बढायो । फूल खेतीले यो वर्ष रु तीन लाखभन्दा बढी आम्दानी लिने लक्ष्य लिएका छौँ ।”

फूल खेतीले स्थानीय पाठ्यक्रमलाई पनि सहयोग पुर्‍याएको छ । विद्यालय परिसरमा ढकमक्क फुलेको फूलले आकर्षण त थपेको छ नै यसबाट हुने आम्दानीले विद्यालयमा हुने अतिरिक्त शैक्षिक गतिविधिमा पनि सहयोग पुगेको छ ।

आठदेखि दश कक्षासम्म अध्यन गर्ने विद्यार्थीहरुलाई दैनिक केही समय उपार्जनको काममा सहभागी गराउदै आइएको छ । यसले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिलाएर आफ्नो घर र  पनि काम गर्न र अरुलाई सिकाउन सकोस् भन्ने उद्देश्यले पनि विद्यार्थीहरुकै सहभागितामा फूल खेती गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

पढ्दै कमाउँदै कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न त मद्दत गरेको छ नै जताततै बाँझो हुँदै  गएको जमिनलाई अम्दानीसँग जोड्न र युवालाई स्वदेशमै आयआर्जनमा लाग्न प्रेरितसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *