कांग्रेस प्रतिगमन तिर जान खोजेको एमाले अध्यक्ष ओलीको आरोप

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उहाँले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गर्नुभयो ।

बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाउनु भयो । ओलीले सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर पनि गर्नुभयो । उहाँले काँग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताउनु भयो । काँग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा एमालेसँग मेजरिटी छैन । हामी सरकार भन्दा बाहिर छौं । प्रतिपक्षमा छौं । त्यसकारण हामीले सुझाव दिने हो । त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन पहिलेदेखि पनि । गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिन । किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ । त्यो उसको ८७ सिटले संविधान संशोधन हुन्छ ? एमालेले काँग्रेसलाई केमा सहयोग गर्ने ? प्रतिगमनका लागि । काँग्रेस जति प्रतिगामी सोच राख्छ, त्यसका लागि ? काँग्रेस अग्रगामी सोचका साथ अघि बढिराखेको छैन । प्रतिगामी सोचका साथ अघि बढिराखेको छ । जनपक्षीय, प्रगतिशील हुनुपर्ने, अगाडि बढ्नुपर्ने ठाउँमा पछाडि फर्कन खोजिराखेको छ काँग्रेस ।’

अध्यक्ष ओलीले काँग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनैपनि ठाउँ नरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *