हत्या : प्रतिशोध हो कि शृंखला ?

हिमालय टाइम्स
Read Time = 10 mins

सर्लाहीका राजनीतिकर्मी रामचन्द्र रायको हत्या प्रकरणसँगै मधेस प्रदेशमा नजानिदो भय प्रारम्भ भएको छ । यसअघि बाराका एकजना विद्वान् प्राचार्य हरिभूषण कुशवाहाको हत्या भएको थियो । यी दुवै हत्याका घटनाहरू सामान्य निजी रिसइवीका परिणाम हुन् कि लेनदेन सम्बद्ध हुन् ? अथवा विस्तारै हिंसाको अर्को दौर सुरु हुन लागेको हो ? प्रश्न गर्नुपर्ने भएको छ । यतिखेर मधेसमा मिटर ब्याजी आन्दोलन चलिरहेको छ । जमिनदारहरूका विरुद्ध असन्तोषले मार्ग खुला गरिरहेको हो कि ? विगतमा भएका आपराधिक हिंसाको पुनर्जन्म हुन लागेको हो ? समयमा नै यस्ता प्रश्नमाथि गम्भीर हुनुपर्ने देखिँदैछ । सामान्य गाउँले झैझगडामात्रै हो भनेर यसलाई पन्छाउने अवस्था छैन ।

हरिभूषण प्राध्यापक हुनुहुन्थ्यो । शिक्षक प्राध्यापक पेशागत हिसाबले दुश्मनी वा प्रतिशोधका भागीदार हुनेमा पर्दैनन् । अपवादबाहेक यस्तो पेशाकर्मीहरूप्रति द्वेष राख्नु कुनै हालतमा नैतिक मानिँदैन । विसं २०५२ सालदेखि ०६२ सम्म माओवादीको क्रूर हिंसा प्रसंगमा परी धेरै शिक्षकहरूले ज्यान गुमाएका थिए । सरकारपक्षबाट पनि माओवादी अभियोगमा धेरै शिक्षकहरूको ज्यान लिएको तथ्य अभिलेखबद्ध छ । त्यो हिंसाको कहाली लाग्दो समयचक्र नेपालले पार गरेको अनुभव सबैले गरिरहेको अवस्था छ । तर, मधेस प्रदेशका यी प्रतिनिधिमूलक दुई घटनाले अनेक प्रश्नहरूलाई उठाउन लागेका छन् ।

सर्लाहीका रामचन्द्र राय पुरानो राजनीतिकर्मी हुनुहुुन्थ्यो । आठदशक पार गरेको मानिस अहिले पनि उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय नेता हुनुहुन्थ्यो । वैचारिक हिसाबले फरक मत र मान्यता हुन्छ । यसै पनि हामीले अंगीकार गरेको राजनीतिक प्रणाली बहुलवादी दर्शनमा आधारित छ । असहमतिको अधिकार प्रत्याभूत भएको संविधान र प्रणालीमा मानिस मार्ने अभ्यास प्रतिशोध र घृणाको पराकाष्ठा नै हो । मधेस आन्दोलन अघि र पछि त्यहाँ हिंसाको बिउ भयानक रूपले विस्तारित थियो । त्यो हिंसाको उत्कर्ष गौर काण्ड हुनपुग्यो । इतिहासको त्यो कलंकको खाटा विस्तारै पुरिँदै छ । मधेस आन्दोलनको डुंगामा बसेका अनेक आपराधिक समूहले निकै पछिसम्म अराजकता मच्चाउन छाडेका थिएनन् । उनीहरूले विनाश्रम जीविका चलाउने खेती हिंसालाई बनाएका थिए । यस्तो खेतीको प्रमुख गुरु माओवादीहरू नै थिए । दश वर्षको सशस्त्र हिंसाले युवाहरूलाई चाँडो धनी हुने, काम नगरी अरूको कमाइमा बाँच्ने, असुरक्षा र महत्वाकांक्षाको त्रिवेणीमा उपयोग गरेको थियो । त्यही रोग मधेस आन्दोलनमा समेत सर्लक्क सरेको थियो । तर, समय बलवान् छ । समयको चक्रमा को कहाँ कसरी कुन घुम्तीमा विश्राम लिन्छ थाहा हुँदैन ।

विचित्रको संयोग हुँदैछ । संयोग नभनेर यसलाई दुर्योग पनि मान्न सकिन्छ । सत्ता समीकरण परिवर्तन हुँदै थियो । अगिल्लो रात चितवनमा दुइटा बस पहिरोमा पुरिए र जलसमाधि लिनेहरूको संख्या करिब सत्तरी पुग्यो । नवनियुक्त प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन सर्लाहीमा एकजना राजनीतिकर्मी नेताको हत्या भयो । एउटा घटना प्राकृतिक विपत्तिसँग र अर्को घटना मानिसको षड्यन्त्रका रूपहरू हुन् । तर, दुर्योग भएका छन् । रामचन्द्र राय निर्दलीय पञ्चायतकालका मन्त्री थिए । उनी राजनीतिकमात्रै होइन सामाजिक पनि थिए । ०३८ सालपछि मधेस आन्दोलन र अधिकारका भाष्यकार गजेन्द्रनारायण सिंहसँग जोडिएर उनले अधिकारको प्रश्न उठाएको सुनिन्थ्यो ।

अहिले मधेस अधिकारका नाममा अनेक सप्तरंगी रूप र चरित्रको बिग्बिगी छ । एकपटक त नेपालको नक्सा नै परिवर्तन गर्ने, झण्डा फेर्ने अनेक नाराहरू सुनिन्थे । मधेसी समुदायबाट अनेक नेताहरू अधिकारका नाममा नै पैदा भएका छन् । तर, फरक फरक थालमा भान्सा गर्न ज्यादा उत्साहित लाग्छन् । उनीहरूका दल हेर्ने हो भने कुनै अधिकारको विषयभन्दा पनि निर्देशात्मक चिन्तनका परिपूरक भएजस्तो लाग्छ । सत्ता गुम्नासाथ मधेसका नामा क्रान्तिका कुरा गर्दै भ्रान्ति छर्नेहरूले यतिखेर मधेस छपक्क ढाकिएको छ । आमनागरिक उस्तै छ ।

मधेसमा सबैभन्दा बढी छुवाछूतको रोग छ, दाइजोको किटाणु व्याप्त छ,, बोक्साबोक्सीका कथाहरू त्यतै सुन्न पाइन्छन् । सम्भ्रान्त र उत्पादनशील भूमि भए पनि विपन्नता र अशिक्षाको पराकाष्टा देखिन्छ । करिब कर्णाली सरह छ त्यो सुगम भूमि पनि । यसतोमा राजनीति गर्नेहरूले भूमिमा बस्ने नागरिकको सरलपनलाई दोहन गरिरहेका छन् । तर, गजेन्द्रनारायण सिंहले भने सही अर्थमा अधिकारको आन्दोलनको वैचारिक भ्रूण रोप्नु भएको थियो र त्यसकै सहयोगी थिए रामचन्द्र रायहरूसहित अनेक तराई मधेसका नेताहरू ।

हत्याका कारणहरूबारे सरकारी निकायले अपराधवृत्तिमा मात्रै सीमित गरेर अनुसन्धान गर्दा त्यो पूर्ण नहुनसक्छ । राय स्थानीय समृद्ध परिवारका सदस्य थिए । उनी समुदायमा प्रभावशाली र सहयोगी पनि भएको सुनिन्छ । तैपनि हत्याको कुनै न कुनै कारण अवस्य होला नै । यदि आपराधिक मनोवृत्तिमात्रै हो भने मधेस प्रदेशको सुरक्षाप्रति चिन्ता जरुरी छ । सरकारी सुरक्षायन्त्रप्रतिको भरोसा कमजोर हुने अवस्था हुँदैछ । जतिसुकै दाबी गरिए पनि सुरक्षा संयन्त्रमाथि दलीय हस्तक्षेप व्याप्त छ र यस्तो हस्तक्षेपले जर्जर बनाएको छ । जिम्मेदार र उत्तरदायी सुरक्षायन्त्रको विकास गर्नुभन्दा पनि आफन्तको प्रगतिमार्गलाई प्राथमिकतामा राख्ने प्रचलन छ । जनपथ प्रहरिमा देखिएको अत्यन्त निकृष्ट राजनीतिक चलखेल विगतमा हामीले धेरै देखेका छौं । सशस्त्र वा अन्यत्र पनि यही चलखेल सुनिन्छ । सौभाग्यबस अहिलेको गृहमन्त्री रमेश लेखक कानुनको विद्यार्थी हुनुहुन्छ । उहाँले कानुनभन्दा माथि दलीय चिन्तनले काम गर्नुहुन्छ कि कानुनका आधारमा संयन्त्र परिचालन गर्नुहुन्छ त्यो परीक्षा गर्न धेरै समय कुर्नु पर्दैन । पूर्ववर्ती गृहमन्त्री नारायणकाजीले निकै असल काम गर्न खोज्नु भएको थियो भने त्यसपछिका गृहमन्त्री आफैं अनेक विवादमा परेका हुनाले उहाँले आफ्नै प्रतिरक्षामा समय खेरफालेका देखियो । केही थोरै काम पनि उहाँले निष्पक्ष नगरेको गुनासो सार्वजनिक भएको थियो । यतिखेर दृश्य फरक छ । नेपाली कांग्रेसभित्र केही थोरै युवा वुद्धिजीवीमध्ये गणनायोग्य रमेश लेखकको हातमा पुगेको गृहमन्त्रालयको कार्यभार छ । नवनियुक्त गृहमन्त्रीबाट कमसेकम सुरक्षा संयन्त्रको मनोबल उकास्ने, आमनागरिकमा सुरक्षाको प्रत्याभूति गराउने, सर्लाही र बाराका जस्ता घटनाहरूको शृंखला दोहोरिन नदिने रणनीति बनोस् आजको अपेक्षा यही नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *