आयोजकलाई हिमालयन गानादा फुटसलको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक हिमालयन फुटबल क्लबले हिमालयन गानादा फुटसल गोल्डकपको उपाधि हात पारेको छ । फाइनलमा हिमालयनले ढुकु स्पोर्टस हबलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्‍यो । चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा निर्धारित २० मिनेटमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

उपाधिसँगै हिमालयनले दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता ढुकुले एक लाख रुपैयाँ, मेडर र प्रमाणपात्र प्राप्त गरेको छ । प्रतियोगितामा ढुकुका अशोक मगर उत्कृष्ट खेलाडी र हिमालयन एफसीका दिपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिनुभयो । दुवैले समान १० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।

फेयर प्ले टिम अवार्ड जितेको मत्से फुटसलले २० हजार रुपैयाँ प्राप्त गरेको छ । विजेतालाई नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का, नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरू अनिता बस्नेत, हीरा भुजेल, निशा थोकर र सविता रानामगर तथा बागमती प्रदेश फुटबल संघका उपाध्यक्ष राजीव मानसिंह बस्नेतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

हिमालयन फुटबल क्लब र गानादा एजुकेसनल कन्सल्टेन्सीले संयुक्त आयोजना रूपमा आयोजना गरेको प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *