21st February | 2020 | Friday | 2:28:31 AM

फ्रेण्ड्सको सजिलो जित

हिमालय टाइम्स   POSTED ON : माघ ६, २०७६ (११:१२ AM)

फ्रेण्ड्सको सजिलो जित

काठमाडौं । फ्रेण्ड्स क्लबले सहिद स्मारक ए डिभिजन फुटबलमा सजिलो जित हात पारेको छ । ललितपुरको एन्फा मैदानमा आइतबार भएको खेलमा फ्रेण्ड्सले सरस्वती युथ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

लिगमा दोस्रो जित निकालेको फ्रेण्ड्स ८ अंकसहित नवौँ स्थानमा उक्लिएको छ । फ्रेण्ड्सले हालसम्म २ मा जित ३ मा हार र २ मा बराबरी गरेको छ । जितविहीन सरस्वतीले भने १ खेलमा बराबरी गर्दै १ अंकमा पुछारमा रहेको छ । बाँकी ६ खेलमा सरस्वतीले हार ब्यहोरेको छ । फ्रेण्ड्सको जित दिलाउन उत्तम राईले दुई गोल गरे । यस्तै साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले १÷१ गोल थपे । सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए ।

सरस्वतीविरुद्ध फ्रेण्ड्सले पाँचौँ मिनेटमा उत्तमको गोलबाट अग्रता बनाएको थियो । ब्राजिलियन खेलाडी कार्मोले डिबक्सभित्र उपलब्ध गराएको बललाई अनमार्क रहेका भारतीय खेलाडी उत्तमले सहजै गोल गरेका थिए । खेलको २४औँ मिनेटमा साउलोको हेड गोलसँगै फ्रेण्ड्सले अग्रता दोब्बर पा¥यो ।

खेलको ७०औँ मिनेटमा उत्तमको पासमा कार्मोले गोल गर्दै फ्रेण्ड्सको अग्रता ३–० को बनाए । ८०औँ मिनेटमा सरस्वतीका बुसारीले हेड गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए । ८६औँ मिनेटमा उत्तमले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई ४–१ को जित दिलाए ।

जितपछि फ्रेण्ड्सका ब्राजिलियन प्रशिक्षक मार्कुस फिलिपे खेलाडीको प्रदर्शनबाट खुसी देखिए । ‘धेरै खुसी छु । खेलाडीको प्रदर्शन धेरै राम्रो भयो । हरेक खेलमा राम्रो हुँदै गएको छ,’ उनले भने । सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले यस खेल लिगमध्येकै खराब खेल भएको बताए ।

एपिएफ पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक÷एक गोल गरे ।

एनआरटीका खेलाडी आन्द्रे थेरीले खेलको २४औँ मिनेटमा पहिलो गोल गरे । खेलमा एक शून्य गोलको अग्रता बनाएको एनआरटी खेलको ४१औँ मिनेटमा एक गोल खान पुग्यो । जसमा एपिएफका आशिष लामाले गोल गरे । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरीमा टुंगिएको खेल दोस्रो हाफमा भने एनआरटीले दुई गोल थप्दा एपिएफले एक गोल थप्यो । खेलको ५३औँ मिनेटमा एपिएफका आशिष लामाले व्यक्तिगत दुई गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । त्यो २–१ गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

एनआरटीका खेलाडी जोर्डन एनडेम्बाले खेलको ८०औँ मिनेटमा एक गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि एनआरटीका अर्का खेलाडी दर्शन गुरुङले खेलको ८५औँ मिनेटमा एक गोल थपेपछि एनआरटीले एपिएफमाथि ३–२ को जित हात पा¥यो । जितसँगै एनआरटी लिगको छैटौँ स्थानमा उक्लिएको छ । एनआरटीले सात खेलमा ११ अंक जोडेको छ भने एपिएफले समान सात खेलमा ५ अंक जोडेर लिगको १२औँ स्थानमा रहेको छ । 


Views: 69