10th April | 2020 | Friday | 6:01:56 PM

एन्फाले भौतिक संरचनालाई क्वारेन्टाइन बनाउँन दिने

हिमालय टाइम्स   POSTED ON : चैत्र १०, २०७६ (१०:३७ AM)

एन्फाले भौतिक संरचनालाई क्वारेन्टाइन बनाउँन दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतमा भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रूपमा प्रयोग सकिने भएको छ ।

कोरोना (कोभिड–१९) को संक्रमण देखिए त्यस्ता विरामीलाई क्वारेन्टाइन अथवा आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हुन्छ । सरकारले विदेशबाट आएका विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था मिलाएको छ ।

एन्फाले आइतबार जारी गरेको विज्ञप्तिमा आफूअन्तर्गतका भौतिक संरचनाहरूलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सरकारलाई दिने निर्णय गरेको हो । ‘विश्वभर फैलिएको कोरोना भाइरस हालसम्म नेपालमा नदेखिएपनि यसको उच्च जोखिममा नेपाल छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘एन्फाअन्तर्गतका भौतिक संरचना आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले प्रयोग गर्न सक्नेछन् ।’

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको होस्टेल, बुटवल र धरानको एन्फा एकेडेमीको होस्टल, रौतहटको महिला एकेडेमीलाई अस्थायी क्वारेन्टाइन र आइसोलेसन बनाउन सकिने उल्लेख गरेको छ । एन्फा प्रवक्ता किरण राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा मानवीय विपद्को समयमा देशभरिका सबै खेलकूदका संरचनालाई पनि आवश्यक परेको खण्डमा प्रयोग गर्न र गराउन अनुरोध गरेको छ ।

एन्फाले आफ्नो विज्ञप्तिमा सम्पूर्ण नेपालीहरूले उच्च सतकर्ता र धैर्यता अपनाउँदै नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले गरेको अपिल अनुसार आफ्नो दैनिकी फेरबल गरि सेल्फ क्वारेन्टाइन, आइसोलेसनलगायत आधारभुत नियम पालना गर्न समेत सबैलाई अनुरोध गरेको छ ।

कोरोना भाइरसको जोखिमका कारण यसअघि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरिसकेको छ । सरकारले पनि खेलकुद जस्ता बढी भीडभाड हुने ठाउँहरूमा नजान सर्वसाधारणलाई अपिल गरेको छ ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयले गत फागुन २२ गते सबै खेलकुद गतिविधि रोक्ने निर्णय गरेको थियो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पनि विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद गतिविधिलगायतको सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेको थियो ।

 त्यसलगत्तै कोरोनाको जोखिमका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण, उपमेयर कप महिला लिग फुटबललगायतको खेलकुद गतिविधि रोकेको छ । फिफाले समेत नेपालमा चैत १३ र १८ गते हुने विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका स्थगित गरेको छ ।

यस्तै एन्फाले अघिल्लो हप्तासम्म सञ्चालित ‘बी’ डिभिजन लिग स्थगित गरिसकेको छ । बन्द गर्नुअघि ‘बी’ लिगमा अहिले छैटौं चरणको खेलहरू सञ्चालन भइरहेको छ । यस्तै एन्फाले सातदोबाटोमा रहेको एन्फा सचिवालय, धरान र बुटवलमा रहेको एन्फा एकेडेमी पनि बन्द गरिएको जनाएको छ ।

रंगशाला निर्माणको काम स्थगित

चितवन (रासस) । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको हो ।

फाउण्डेशनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरू अपनाएर रंगशाला निर्माणलाई निरन्तरता दिइरहेको भए पनि सरकारले गरेको निर्देशनबमोजिम २५ जना भेला हुन नपाइने भएकाले निर्माणको कामलाई तत्कालका लागि स्थगन गरिएको उल्लेख छ ।

फाउण्डेशनको विज्ञप्तिमा विश्व कोरोनाको त्रासले आक्रान्त भएको अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनासमेत प्रभावित भइरहेकाले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला अछुतो रहने कुरै भएन भन्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कामलाई तीव्रताका साथ अघि बढाइरहेका थियौं, कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रंगशाला प्रवेशमा रोक लगाउनुका साथै कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्ने र हृयाण्ड स्यानिटाइजरको प्रयोग पनि सकेसम्म गरिरहेका थियौं । कोरोना संक्रमणप्रति जसरी राज्य संवेदनशील बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेका छौं ।’

रंगशाला निर्माणको काम अझै तीव्र गतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेकाले रंगशालामा कामदार मात्रै साढे दुई सयभन्दा बढी भएकाले पनि काम स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्माण सामग्री, ढुवानीलगायत कुरामा पनि प्रभाव पर्ने देखिसकिएको छ । मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रंगशाला निर्माणको काम केही समय (सामान्य अवस्था नहुन्जेलसम्म) स्थगन गर्ने निर्णयमा पुगेका छौं ।’

जनस्तरबाट निर्माण हुने यस रंगशालामा सहयोग पु¥याउने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै सावधानी अपनाउन धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले आग्रह गरे । जनस्तरबाट निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला गएको वर्ष माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच सम्झौता भई निर्माण घोषणा गरिएको थियो ।

विस्तृत गुरुयोजना तयार हुनुअगावै फाउण्डेशनले प्रारम्भिक चरणका काम (कम्पाउण्डिङ, साइट क्लिरयन्स, साइट अफिस, गोदामघर, कर्मचारी आवास, कामदार आवास) बनाउने काम मंसिरअगाडि नै सम्पन्न गरिसकेको कट्टेलले बउनुभयो ।

डिपिआर तयार भई यही मंसिर १ गतेदेखि उक्त गुरुयोजनाअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु गरी चार महिना आठ दिनमा सात क्रिकेट कालोपत्र भएको खेल मैदानको ८५ प्रतिशत काम र प्यारापिट संरचनाको तयारीस्वरूप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिनुभयो ।


Views: 30