Date:2017/08/18 |Friday

नेयमार विश्व कीर्तिमानी रकममा पिएसजीमा

Posted on: August 05, 2017 | views: 15 |

एजेन्सी

पेरिस । अनेक झन्झटलाई निर्मूल गर्दै ब्रजिली सुपरस्टार नेयमार एक वर्षको सम्झौता बाँकी रहँदै विश्व कीर्तिमानी रकममा अन्ततः फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् । बार्सिलोनाका नेयमारले पिएसजीसँग बिहीबार राति पाँच वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । पिएसजीले नेयमारलाई स्पेनिस क्लब बार्सिलोनाबाट कीर्तिमानी मूल्य २०० मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको हो । 

नेयमार पिएसजी गएसँगै बार्सिलोनाले नेयमार, मेस्सी र स्वारेजको जोडी ‘एमएसएन’ टुुटेको छ । उनले पिएसजीबाट वार्षिक ४५ मिलियन युरो तलब पाउनेछन् । यस्तै उनले प्रतिसाता ५ लाख पाउण्ड प्राप्त गर्नेछन् । यो सँगै ब्राजिलियन २५ वर्षीय स्टार नेयमार विश्वका सर्वाधिक महँगा खेलाडी भएका छन् । पिएसजीसँगको सम्झौतापछि नेयमारले महँगा खेलाडीमा म्यानचेस्टर युनाइटेडका पाउल पोग्वालाई विस्थापित गरेका छन् ।

पोग्वालाई गत सिजन युभेन्टसबाट क्लब भित्रायाउँदा युनाइटेडले १०५ मिलियन पाउण्ड तिरेको थियो । सम्झौतापछि नेयमारले पिएसजीमा अनुबन्धित हुँदा आफू खुशी र उत्साहित रहेको तर आफूलाई निकै चुनौती रहेको बताए । ‘पिएसजीमा आउँदा निकै खुशी छु र मलाई निकै चुनौती पनि छ । तर, मलाई मेरो टिमका साथीहरू र क्लबको प्रेरणाले म यहाँ छु’, युरोपको फुटबल निकै प्रतिस्पर्धात्मक र महत्वाकांक्षी रहेको बताउँदै नेयमारले भने, ‘जब म युरोप आएँ, यहाँ निकै प्रतिस्पर्धात्मक र महत्वाकांक्षी पाएँ । त्यही महत्वाकांक्षीले गर्दा म पिएसजीमा आउन सके ।’ 

नेयमार सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोना आएका थिए । नेयमारले बार्सिलोनामा रहँदा प्रायः सबैखाले प्रतियोगिताको उपाधि जितेका थिए । नेयमार बार्सिलोनामा अन्य दुई स्टार लियोनल मेस्सी र लुइस स्वारेज रहेको कारण आफूपछि पर्ने देखेर पिएसजी गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । पिएसजीमा ब्राजिलका अधिकांश खेलाडी रहेकाले पनि नेयमारलाई पिएसजीमा छिट्टै जम्ने देखिन्छ । 

नेयमारका सहयत्री ड्यानी आल्भेस पनि यसै सिजन इटालियन क्लब युभेन्टस्बाट पिएसजी पुगेका छन् । थियागो सिल्भा, लुकासलगायतका ब्रजिली खेलाडी पिएसजीबाटै व्यावसायिक फुटबल खेलिरहेका छन् । सन् २०१३ मा बार्सिलोना आएसँगै नेयमारले बार्सिलोनाबाट सबैखाले फुटबलको उपाधि जितिसकेका छन् । बार्सिलोनाले तीन पटक कोपा डेल रे, दुईपटक ला लिगा र एकपटक च्याम्पियन्स लिग र एकपटक क्लब वल्र्डकप जित्दा नेयमार टिमको महत्वपूर्ण सदस्य रहेका थिए । उनले १८६ खेलमा १०५ गोल गरिसकेका छन् । 

सन् २००९ मा व्यावसायिक फुटबल खेल्न सुरु गरेका नेयमार ब्रजिली क्लब सान्तोषका सर्वाधिक गोलकर्तासमेत हुन् । सान्तोषबाट नेयमारले २२९ खेलमा १३८ गोल गरेका छन् । यस्तै

१८ वर्षको उमेरमा ब्राजिलको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका नेयमारले राष्ट्रिय टिमबाट ७७ खेलमा ५२ गोल गरिसकेका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं