20th January | 2018 | Saturday | 7:13:00 AM

पूर्ण र सोनी आइटीएफ वर्ष खेलाडी

  POSTED ON : 2017-08-07 04:02:35

पूर्ण र सोनी आइटीएफ वर्ष खेलाडी

हिमालय टाइम्स

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्ना दुई खेलाडीलाई आइटीएफ वर्ष खेलाडी–२०७३ अवार्डबाट सम्मान गरेको छ । 

पुरुषमा त्रिभुवन आर्मी क्लबका पूर्णबहादुर मगर तथा महिलामा भक्तपुरकी सोनी खड्कालाई नगदसहित वर्ष खेलाडी अवार्डबाट सम्मान गरिएको हो । दुवैले गतवर्ष सातौं राष्ट्रिय खेलकुद र महासंघले आयोजना गरेको दुई राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका थिए । उत्कृष्ट प्रशिक्षकको अवार्डबाट घमबहादुर थापा सम्मानित भए । 

सक्रियताका आधारमा नवलपरासी जिल्ला आइटीएफ संघलाई उत्कृष्ट संघ घोषणा गर्दै पुरस्कृत गरियो । सम्मानित चारैले समान ५–५ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले उनीहरूलाई नगद र सम्मानपत्र प्रदान गरी त्रिपुरेश्वरस्थित वल्र्ड ट्रड सेन्टरमा महासंघको २० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पुरस्कृत गरे । 

सोही अवसरमा मृगौला रोगबाट पीडित आइटीएफका पूर्वखेलाडी एवं प्रशिक्षक सुरज थापालाई महासंघले ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो । त्यस्तै महासंघका उपाध्यक्ष कल्पदीप राईले पनि २० हजार नगद पुरस्कार सहयोग गरे भने घमले आफूले पाएको नगद पुरस्कारसमेत सुरजलाई प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले मृगौला रोगबाट पीडित थापाका विषयमा लिखित जानकारी गराउन महासंघलाई आग्रह गर्दै उपचारका विषयमा के गर्न सकिन्छ त्यसमा गम्भीर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।