गाउँका सडकमा गुड्दैनन् मोटर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । दिनप्रति दिन गाउँबाट शहर झर्नेको संख्या बढ्दो छ । घरको आँगनमै विकास पुगे पनि बसाइँसराइ रोकिन सकेको छैन । स्थानीय तह स्थापना हुनु पूर्व बागलुङबा अधिकांश गाउँमा मोटरबाटो पुगेको थिए । अहिले मोटरबाटो नपुगेको गाउँ छैन । गाउँमा एउटा मात्रै होइन धेरै शाखा सडकहरु खुलेका छन् । तर ति सडकमा गाडी भने चल्दैनन् । धेरैको रोजाइ शहर बजार पर्न थालेपछि गाउँमा बस्ने संख्या कम हुँदैछ । स्थानीय तहले हरेक बस्तीमा मोटर गाडी गुडाउने उद्देश्यले सडक निर्माण गरे पनि पछिल्लो समय धेरै सडक प्रयोगविहीन बन्दै गएका छन् ।

बागलुङमा सबैभन्दा धेरै बसाइँसराइ गर्ने पालिका मध्ये गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका पर्छन् । यि पालिकाका दूर दराजसम्मै सडक पुगेका छन् । पालिकाले जथाभवि रुपमा सडक खन्दा राज्यको करोडौँ खर्च भएको छ तर सडकमा गाडी नगुड्दा बालुवामा पानी जस्तै भनेको छ । स्थानीय तहले पहिलो वर्ष अत्याधिक बजेट सडक निर्माणमै लगाएका थिए । अहिले बल्ल अन्य क्षेत्रलाई समेटेर विकास गर्न थालेका छन् । अव्यवस्थित र बिना इन्जिनियरिङ खनिएका सडकले समय-समयमा समस्यासमेत निम्त्याई रहेका छन् ।

निसीखोला गाउँपालिका-१ का विरु सुनारले नापचाँज नगरी खनिएका सडकले सिंगो गाउँनै पहिरोको जोखिममा परेको बताउनुभयो । गाउँमा सडकको आवश्यकता भए पनि अव्यवस्थित ढंकले निर्माण गर्दा यहाँका झण्डै सय घर पहिरोको जोखिममा रहेको उहाँ बताउनुहुन्छ । एउटै गाउँमा चार वटाभन्दा बढी सकड निर्माण भए पनि अहिले एउटा मात्रै संचालनमा रहेको सुनारको भनाइ छ । उक्त सडक पनि बर्खाको चार महिना पुरै बन्द हुने उहाँले बताउनुभयो ।

सुनारले भन्नुभयो - “सुरुमा गाउँमा सडक आउँदा निकै खुसी लागेको थियो, जब गाउँमा सडक आयो त्यसपछि गाउँलेको उठी बास लाग्न थाल्यो, कच्ची जग्गा, बर्खाको समय ठाउँ-ठाउँमा ठूलो पहिरो गाउँ दर्जनौँ घर जोखिममा परेका छन्, कतिपय त पहिरोले बगायो पनि, एउटा गाउँमा एउटा सडक भए हुन्थ्यो, तर धेरै सडक खनिएका छन्, हिउँदको समयमा एउटा सडक त जसोतसो चल्छ तर बर्खाको समय कुनै पनि चल्दैनन् ।”

निसीखोलामा मात्रै होइन जिल्लाका दश वटै पालिकाका एउटा गाउँमा धेरै सडक खनिएका छन् । गाउँभरी खनिएका सडकले नागरिकलाई सुविधाको सट्टा समस्या पारि रहेको स्थानीय बलबहादुर पुनले बताउनुभयो । गाउँमा सडक आएपछि बजारबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्न र टाढा यात्रा गर्न सहज भए पनि बर्खाको समय ज्यान जोगाउनै मुस्किल हुने उहाँको भनाइ छ । गाउँको मुख्य भागमा छ वटा सडकको नाका रहेको भन्दै उक्त सडकबाट बगेको भलले खेती योग्यजमिन र घरनै बगाई दिने खोखिम बढेको पुनले बताउनुभयो । अहिले कुनै पनि सडक संचालनमा नरहेको उहाँको भनाइ छ ।

जिल्लाको मध्य भागमा पर्ने गलकोट नगरपालिकामा पनि अहिले धेरै सडक प्रयोगविहीन बन्दै गएका छन् । मध्यपहाडी लोकमार्गबाहेक यस पालिकामा ४६० किलोमिटर कच्ची सडक रहेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाको माथिल्लो भेगबाट मान्छे धेरै बसाइँसराइ गरे बजार झरेपछि सडक संचालन नभएको उहाँको भनाइ छ । नगरपालिकाले गाउँमै सबै प्रकारका सेवा सुविधा दिने गरि काम गरि रहेको भन्दै उक्त सडकलाई कृषि सडकका रुपमा विकास गरिने उहाँ बताउनुहुन्छ ।

“पहिले गाउँमा मान्छेहरु थिए, उनीहरुको आवश्यकतालाई मध्यनजर गरि सडक निर्माण गरियो तर अहिले गाउँबाट धमाधम मान्छेहरु बजार झरि रहेका छन्, गाउँमै रोक्नका लागि पनि प्रयासहरु गरि रहेका छौँ,” प्रवक्ता भण्डारीले भन्नुभयो - “गाउँमा भएका ति सडकसँग कृषि र पशुपालनलाई जोड्नु पर्छ, कोही व्यवसायीले गाउँमा उद्यम गर्न चाह्यो भने यी सडक व्यापारीक सडकका रुपमा विकास हुन सक्छन्, नगरपालिकाले बसाइँसराइ रोक्नका लागि प्रयासहरु पनि गरि रहेको छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?