एक डेढ दशक अघिसम्म नेपालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्नु भनेको फलामको चिउरा चपाउनु सरह थियो । त्यसैले कक्षा दशको अन्तिममा लिइने एसएलसी परीक्षालाई फलामे ढोका भनिन्थ्यो । नेपालबाटै उत्तीर्ण हुनेहरू क्याम्पस पढ्न जान्थे भने जो यहाँबाट पार पाउन सकिँदैन भन्ने ठान्दथे, उनीहरू भारतका विभिन्न सजिला प्रान्ततर्फ गएर वैकल्पिक चाँजोपाँजो मिलाउँथे । त्यताबाट खरिद गरेर ल्याएका नक्कली प्रमाणपत्रहरूका आधारमा पढेर पछि गएर स्नातकोत्तर पास गरिसकेकाहरूको समेत खारेज भएको दृष्टान्तहरू छँदैछन् । त्यस्ता प्रमाणपत्रका आधारमा जागिर खाएकाहरूले प्रमाणपत्र छानविनको क्रम चलेसँगै जागिर खाने अवधि पर्याप्त हुँदाहुँदै पनि बीचैमा राजिनामा दिएर हिँडेका उदाहरणहरू पनि पर्याप्त छन् तर आजभोलि भने विद्यालय तहको प्रमाणपत्र खरिद गरेर ल्याउने प्रचलनमा रोक लागे जत्तिकै छ ।
पछिल्लो समयमा आएर विश्वविद्यालयहरूमा पदोन्नतिका लागि विद्यावारिधि अनिवार्य जस्तै भएपछि एसएलसीको यो रोग पिएचडीको प्रमाणपत्र हासिल गर्नेहरूतर्फ सल्किएको आशंका गर्न थालिएको छ । पदोन्नतिका बेलामा कुनै विश्वविद्यालयमा विद्यावारिधिको १२ नम्बर त कुनैमा ६ नम्बर राखिएबाट यो नभएकाहरूको प्रगति असम्भवप्रायः नै बनेको छ । त्यसैले जसरी पनि नामका अगाडि डाक्टर झुण्डाउने होडबाजी चल्दै गएको छ । आफ्नो योग्यता र क्षमताले भ्याओस् वा नभ्याओस् यसका लागि प्राध्यापकहरू त दौडने नै भए, त्यसका अलावा आफूलाई अरूभन्दा पृथक र योग्य देखाउन चाहने अन्य पेशाका व्यक्तिहरूको पनि यसतर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।
खरिद गरेर ल्याइएको डिग्रीका बारेको त कुरा बेग्लै भयो आजभोलि सेटिङमा विद्यावारिधि सम्पन्न हुन्छ भन्ने चर्चा बाहिर आउनुले पनि शिक्षाक्षेत्रका धेरैलाई झस्काएको छ । शक्तिका आधारमा निर्देशक, सहनिर्देशकहरू चयन गर्ने, थेसिस अरूलाई नै लेखाउने र वाक् परीक्षाहरूमा आफू उपस्थित भएर एक दुई वाक्य बोलेका भरमा पिएचडी सम्पन्न गर्नेहरू पनि थपिँदै गएका छन् भन्ने हल्ला पनि व्यापक हुन थालेको छ ।
पिएचडीको ग्रन्थले केही नयाँ कुरा दिनै पर्दछ, जुन देश या समाजका लागि उपयोगी होस् । जेनतेन दुई अढाई सय पृष्ठ तयार गरिएको छ र त्यसैका आधारमा अनेक उपायद्वारा उपाधि हासिल गरिएको छ भने त्यसको कुनै अर्थ रहँदैन ।
नामका अगाडि डाक्टर लेखेका छन् तर पिएचडी सकेकै विषयमा दश मिनेट बोल्नु वा एक दुई पाना तत्काल केही लेखिदिनु न भन्यो भने नसक्नेहरू पनि देखिन थाले भन्ने कुरा पनि नेपालमा चिन्ताको विषय बन्दै गएको छ । कतिपयले त निर्देशकले यस्तो थेसिसमा म सही गर्न सक्दिन भन्दा डरत्रास, धम्की देखाएर जबर्जस्ती गराए भन्ने पनि सुनिन्छ । यसरी हासिल गरेको डिग्रीले बाहिर बाहिर धक्कु लगाए पनि भित्री मन सायद भत्भती पोलेको हुनुपर्ने नै हो ।
पिएचडीका बारेमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा.शंकर खनाल जहिले पनि आफ्ना विद्यार्थीहरूलाई भन्ने गर्नुहुन्छ–तपाईंले थेसिसमा लेखेको कुरा जसले जहिले प्रश्न उठाए पनि अनेक तथ्यहरूका आधारमा तपाईंले प्रमाणित गर्न सक्नुपर्दछ । थेसिसमा भएका कुराहरूमा उठेका प्रश्नको जवाफ दिने सामथ्र्य तपाईंले राख्नैपर्दछ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति प्रा.डा. वसन्त ढकालको रोचक भनाइ छ – भोलि गएर तपाईंका नातिले तपाईंको थेसिस पढ्दा उसले गर्व गर्न सकोस् र त्यसलाई मेरो हजुर बुबाको ग्रन्थ सार्वजनिक गर्छु भनेर प्रकाशन गर्ने चेष्टा राखोस् । यी दुई भनाइ अति सरल भए पनि यिनले निकै महत्व बोकेका छन् पिएचडीका सन्दर्भमा ।
पिएचडीको ग्रन्थले केही नयाँ कुरा दिनै पर्दछ, जुन देश या समाजका लागि उपयोगी होस् । जेनतेन दुई अढाई सय पृष्ठ तयार गरिएको छ र त्यसैका आधारमा अनेक उपायद्वारा उपाधि हासिल गरिएको छ भने त्यसको कुनै अर्थ रहँदैन । यसको उपादेयताका बारेमा यो छोटो लेखमा विश्लेषण गर्न कठिन छ तर के भन्न सकिन्छ भने निश्चय नै घरमा पाहुना आउँदा देख्लान् कि भन्ने डरले थेसिस लुकाउनुपर्ने भयो भने त्यो पिएचडीको अर्थ नै के रहृयो र ? थेसिसभित्र रहेका कुराका बारेमा कसैले प्रश्न सोध्ला कि भनेर डाक्टर साबहरू डराउँदै भाग्नु पर्ने अवस्था आयो भने नामको अगाडि डाक्टर राख्नुको पनि कुनै माने हुँदैन । चोरेका, किनेका डिग्रीभन्दा आफैँले हासिल गरेका साक्षरता मात्रैको योग्यता गर्व गर्न लायक हुन्छ ।
वर्षौंदेखि नेपालमा प्रचलित एउटा भनाइ छ, भारतका केही विश्वविद्यालयहरूमा पिएचडी तह अध्ययनका लागि जाने हो भने पहिलो सोधिने प्रश्न ‘लिखना है कि लिखाना है ?’ हो । आफैँ लेख्छु तर योग्य भए पनि नभए पनि डिग्री प्रदान गर्नुपर्दछ भन्ने हो भने अलि कम पैसा लाग्ने र त्यहीँका मान्छेहरूले लेखेर थेसिस तयार गरिदिए अलि बढी पैसा तिर्नु पर्दछ भनेर चल्ने चर्चा व्यापक नै छ । यो कुरा सत्य पनि हुन सक्दछ, असत्य पनि हुन सक्दछ ।
कति सत्य छ र कति असत्य हो भन्ने कुरा त्यता गएकालाई नै थाहा होला तर यसरी उपाधि लिएर आएका कतिपय नक्कली विद्वान्हरू ठूला पदमा पुगेर रजगज गर्दै स्वर्गवासी भइसके भने कतिपयले त्यसैका आधारमा पदोन्नति लिएर अहिले पनि हैकम चलाइरहेको छन् भन्ने गुनासो सर्वत्र छ । त्रिभुवन विश्वविद्यालयको भने भर्खरै आँखा खुलेको छ ।
त्रिभुवन विश्वविद्यालयले भारतका चारवटा विश्वविद्यालयबाट विद्यावारिधि अर्थात् पिएचडी उपाधि लिएर आएका विद्वान्हरूको उपाधिलाई मान्यता नदिने निर्णय गरेसँगै नयाँ हलचल सुरु भएको छ । एउटा राम्रो आरम्भ त्रिविले गरेको छ तर ती चार विश्वविद्यालयलाई मात्रै लक्षित गरेर पुग्छ कि पुग्दैन भन्नेतर्फ ध्यान दिन जरुरी छ । अन्य थुप्रै संस्थाहरूबाट उपाधि लिएका कथित विद्वान्हरूका बारेमा चर्चा गर्न पनि उत्तिकै जरुरी छ जति ती चारवटा विश्वविद्यालयबाट उपाधि लिएर आएकाहरू छन् । साथसाथै त्रिभुवन विश्वविद्यालयबाटै उपाधि लिएका कतिपय डाक्टर साहेबहरूका बारेमा पनि छानबिन गराए अति उत्तम हुन्थ्यो भन्ने तर्क दिनेहरू पनि यत्रतत्र प्रशस्तै पाइन्छन् ।
त्रिवि नेपालका लागि मानक विश्वविद्यालय हो । विद्यार्थी संख्या तुलना गर्दा यसैसँग दाँजिन्छ । प्राध्यापकहरूको विद्वत्ताका बारेमा कुरा गर्दा सबैभन्दा पहिला यही विश्वविद्यालयका प्राध्यापकहरूको विमर्श गरिन्छ । नेपालको पहिलो र ठूलो विश्वविद्यालय भएका कारण पनि यो विश्वविद्यालयले के गर्दछ भन्ने कुरेर अन्य विश्वविद्यालयले निर्णय गर्ने गर्दछन् । आफूलाई जतिसुकै अब्बल विश्वविद्यालय साबित गर्न खोजे पनि अन्य विश्वविद्यालयहरूले त्रिवि सरहको मान्यता कतैबाट प्राप्त गर्न सकेका छैनन् ।
त्यसैले यो विश्वविद्यालयको सामान्यभन्दा सामान्य निर्णयदेखि ओजपूर्ण निर्णयसम्मले नेपालको उच्चशिक्षामा महत्वपूर्ण स्थान लिने गरेको पाइन्छ । त्यसैले बजारमा हल्ला चलेका नकारात्मक समाचारहरूको न्यूनीकरणमा त्रिविले ठोस कदम चालोस् भन्ने चाहना सबैको हुन्छ । अनौठा निर्णयहरू पनि विश्वविद्यालय अनुदान आयोग र त्रिविबाट बेलाबेलामा नहुने गरेका पनि होइनन् । नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृतदेखि बाहेकका अन्य विषयमा दिइएको विद्यावारिधि उपाधिलाई मान्यता नदिने भन्ने कुरा पनि यदाकदा सुन्ने गरिएको छ । कारण बताइने गरिएको छ कि त्यहाँ स्नातकोत्तर तहको पढाइ नहुने विषयमा संस्कृत विश्वविद्यालयले पिएचडी गराउन पाउँदैन । यो नियम देश विदेश सबैतिर एकै भए संस्कृत विश्वविद्यालयलाई पनि पचाउन गाह्रो हुने थिएन तर विदेशी संस्थाहरूलाई भने यस्तो बन्देज लगाएको पाइँदैन ।
त्रिभुवन विश्वविद्यलय नेपालका लागि मानक विश्वविद्यालय हो । प्राध्यापकहरूको विद्वत्ताका बारेमा कुरा गर्दा सबैभन्दा पहिला यही विश्वविद्यालयका प्राध्यापकहरूको विमर्श गरिन्छ । नेपालको पहिलो र ठूलो विश्वविद्यालय भएका कारण पनि यो विश्वविद्यालयले के गर्दछ भन्ने कुरेर अन्य विश्वविद्यालयहरूले निर्णय गर्ने गर्दछन् ।
अन्य मुलुकहरूमा विभिन्न नाममा अनुसन्धान केन्द्रहरू खुलेका पाइन्छन् । ती अनुसन्धान केन्द्रहरूले विश्वविद्यालय तहको कुनै पनि कार्यक्रम या पठनपाठन सञ्चालन गर्दैनन् तर पिएचडी कार्यक्रम भने चलाउने गरेका छन् । विदेशतिरका त्यस्ता संस्थाहरूबाट आएका उपाधि भने मान्य हुने र नेपालकै उही ऐन नियमबमोजिम सञ्चालित विश्वविद्यालयले दिएको उपाधिमाथि शंका उठाउनु भने त्यति सहजै ग्राहृय होला जस्तो लाग्दैन । एउटा कुरा के सत्य हो भने संस्कृत विश्वविद्यालयले आधुनिक विषयहरूमा गराउने विद्यावारिधिमा अधिकांश निर्देशक र सहनिर्देशकहरू त्रिविकै प्राध्यापक हुनेगरेका छन् र तिनै प्राध्यापकले त्रिविअन्तर्गत रही गराएका पिएचडीहरू स्वीकार्य तर नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रही गराएका अस्वीकार्य हुने भनी प्रश्न उठाउनु त्यति स्वाभाविक मान्न सकिँदैन जस्तो लाग्दछ ।
बरु के हो भने शोधग्रन्थ विद्यार्थीले आफैँ तयार गरेको हो कि होइन भन्ने कुरामा गहन भएर मूल्यांकन गर्ने परिपाटीको विकास जरुरी भइसकेको छ । अंग्रेजी दुई लाइन शुद्ध लेख्न नसक्नेले अंग्रेजीमा, नेपाली एक पृष्ठ लेख्दा बीस ठाउँमा गल्ती गर्नेले नेपाली विषयमा वा संस्कृत एक वाक्य बोल्न नसक्नेले संस्कृतमा शोधग्रन्थ बुझाई विद्यावारिधिको उपाधि लिएको जानकारी समाजले पायो भने निश्चय नै त्यसभन्दा ठूलो बेइज्जत अरू कुनै हुँदैन ।
थेसिसमा लेखिएकै कुराको लिखित परीक्षासमेत लिएर उपाधि दिने व्यवस्था गरी विद्यार्थीलाई योग्य बनाउनेतर्फ प्रयास गर्ने कि भन्ने पनि सोच्न सकिन्छ । पिएचडीको शोधग्रन्थलाई साँच्चिकै अनुसन्धानमूलक बनाउन अन्य के के प्रयास गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन चाहिँ पर्ने नै देखिन्छ । नामका अगाडि लेख्नेले पनि सगर्व डाक्टर लेख्न सकोस् र उपाधि दिनेले पनि मेरो विद्यार्थी भनेर गर्व गर्न सकोस् ।
बदनाम भगवती लेमिनेट्सको बदमासी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका