सर्वोपनिषदो गावो दोग्धा गोपाल नन्दनः
पार्थो वत्सः सुधीर्भोक्ता दुग्घं ग्रीतामृतं महत् ।
भगवद्गीताको महत्व दर्साउँदै गीतामहात्म्यमा यसो भनिएको छ । भौतिक रूपले अत्यन्त सम्पन्न भइसकेको आजको विश्वमा पनि ईश्वर भन्ने अदृश्य तत्वले गहिरो प्रभाव पारिरहेकै छ । भनिन्छ मानिसले अरू धेरै कुरा गरिसकेपछि आस्थाले होस् वा अनास्थाले एकपटक ईश्वर वा सोही प्रकृतिको कुनै अदृश्य तत्त्वका विषयमा कुरा गर्न रुचि राख्दछ रे । यसबाट के बुझिन्छ भने ईश्वर भन्ने तत्व मानिसको मनोविज्ञान हो जसलाई मानिसले चाहेर राख्न वा हटाउन सक्दैन । बरू चाहेर नचाहेर यसैको वरिपरि विचार घुमाइरहन्छ ।
साहित्य, दर्शन वा समाजशास्त्र पौरस्त्य मान्यतातर्फ दृष्टि लगाउँदा हामीमा उठ्ने धेरै जिज्ञासामध्ये ईश्वरीय तत्वबारेको चिन्तन, धर्म र यसले पारेको प्रभाव, मानव चेतनामा जन्म र मृत्युको अनिवार्यताले उत्पन्न गराउने चिन्ता, आशा र निराशा, क्षणमा प्राप्त हुने र नाश पनि हुने सुख र प्रायः मानिसले भोग्ने दुःखमय संसारको बाध्यता, जन्म, जरा, व्याधि र मृत्युको अनिवार्यता मनमा बोकेर हिँडिरहने मानवीय शरीर इत्यादि कुराहरूमा मानिसको चिन्तन केन्द्रित हुन्छ । यी धेरै विरोधाभासपछि मानिसले मनलाई अड्याउन खडा गरेको विश्वासको कुनै आधार जुन अदृश्य छ तर शक्तिशाली जस्तो लाग्छ त्यस्तो शक्तिप्रतिको चिन्तन र उसले रचना गर्ने साहित्य पनि यस्तै पृष्ठभूमिमा निर्मित हुनाले यिनै विषयहरूले भरिएको हुन्छ ।
हामीले थाहा पाएपछिको विज्ञान वा ज्ञान जे भनौँ त्यो वेद नै हो । त्यसैले हामी पूर्वीय वाङ्मयका अनुयायीहरूको निम्ति वेद नै ज्ञान र तर्क पनि हो । अर्थात् वेद साहित्य, दर्शन, संस्कृति, धर्म, प्रकृति सबै हो ।
त्यही हो जीवन र दर्शनको कुरा जसलाई साहित्यमा कसरी व्यक्त गरिएको भन्ने बुझ्नको निम्ति पौरस्त्य दर्शनका तत्त्वहरूको अनुशीलन आवश्यक छ । पौरस्त्य वाङ्मयमा विचारको आरम्भ वेदबाट भएकाले त्यसपछि नै संस्कृति, दर्शन र साहित्य आदिमा हाम्रो उपस्थितिले अर्थ पाएको हो र वेदबाटै ईश्वर तत्वको जन्म भएको हो । वेदमा धेरै प्रकारका देवी र देवताको आराधना, प्रार्थना र पूजा गर्ने कुराको उल्लेख छ । अग्नि, वायु, जल, सूर्य, चन्द्रमा, उषा, पृथ्वी, इन्द्र, सोम आदि देवताहरूको चर्चा गरेर तिनीहरूको आराधना गर्नुपर्ने कुरा वेदमा गरिएको छ । वेदभन्दा पहिला हाम्रो दर्शन, साहित्य, संस्कृति के थियो हामीलाई थाहा छैन ।
हामीले थाहा पाएपछिको विज्ञान वा ज्ञान जे भनौँ त्यो वेद नै हो । त्यसैले हामी पूर्वीय वाङ्मयका अनुयायीहरूको निम्ति वेद नै ज्ञान र तर्क पनि हो । अर्थात् वेद साहित्य, दर्शन, संस्कृति, धर्म, प्रकृति सबै हो । त्यसैले विश्वासले जन्माएको हाम्रो आस्था र तर्कले जन्माएका हाम्रा मान्यताहरू सबै वेदकै देन भएकाले हाम्रा आस्थाका ईश्वर र तर्कका ईश्वरको पनि आरम्भ वेद नै हो ।
यो कार्यरूप सृष्टिको उत्पत्ति भएको थिएन त्यतिखेर सर्वशक्तिमान् परमेश्वर र यो जगत्को कारणमात्रै थियो (नासदासीन्नो ... ऋग्...... १०, २९.१) आत्मा वा ... (ऐ. उप. १/१) एकै आत्मास्वरूप ब्रहृममात्रै थियो । फेरि सर्वशक्तिमान् परमेश्वरले आफ्नो अनिर्वचनीय दिव्य इच्छा गरे । एकोद्रहं वहुस्यामको इच्छा भयो । अनि सूर्य, चन्द्र आदि आकाशीय ग्रह गुण आदिलाई बनाए भन्ने कथनले हाम्रो सृष्टि नियमको वैदिक प्रमाणलाई प्रस्तुत गर्दछ । यसबाट हामीले वेद र सृष्टिको सम्बन्ध र सृष्टिसँग ईश्वरको सम्बन्ध अनि ईश्वरीय चिन्तनको वाङ्मयिक निरन्तरतालाई बुझ्न मद्दत मिल्दछ । हामी सृष्टिदेखि हालसम्म ईश्वरसम्बन्धी चिन्तनबाट टाढा गएकै छैनौं त्यसैले अब जान सक्दैनौँ भन्ने पनि बोध हुन्छ ।
ईश्वरवादका सम्बन्धमा दुई प्रकारका मान्यताहरू प्रचलनमा रहेका छन्-तर्कवादी मान्यता र विश्वासवादी मान्यता । वेद, ब्राहृमण, आरण्यक, उपनिषद् र भगवद्गीतासम्मको पूर्वीय वाङ्मयको परम्परामा ईश्वर विश्वासका रूपमा आराध्य रहेको पाइन्छ भने दर्शनहरूको औपचारिक प्रारम्भपछि ईश्वरसम्बन्धी तार्किक मान्यताको पनि प्रारम्भ भयो । दर्शनहरूसम्म आइपुग्दा एकातिर विश्वासको ज्यादै भरपर्दो स्तम्भ र अर्कोतिर तर्कको कठघरामा उभिएर आफ्नो अस्तित्व र अनस्तित्वको द्वन्द्व व्यहोरी रहेको वैचारिक तत्वका रूपमा ईश्वरको अवस्थाको अध्ययन विश्व साहित्य, दर्शन र संस्कृतिका क्षेत्रमा भएको छ । दर्शनमा पनि विश्वास र तर्क दुवै रूपमा ईश्वरवादसम्बन्धी चर्चा र बहस भएका छन् । साहित्यमा ईश्वरवाद तर्कमा भन्दा बढी विश्वासमा आधारित मान्यता हो । तर विश्वासको आधार पनि तर्क नै हो । तर्कमाथि आस्थाभाव जोडिएर ईश्वरवादसम्बन्धी विश्वासको आधार तयार भएको हो । विशेषतः ईश्वरको जन्म पूर्वीय वाङ्मयको देन हो ।
तर्क र ईश्वर
ईश्वरवादसम्बन्धी बहसलाई कतै समय सान्दर्भिक छैन, अब ईश्वरका विषयमा बहस गरेर समय बिताउने दिन छैन, यो त तर्कले विश्वासलाई जितेको युग हो । यो विज्ञानले वस्तुलाई प्रमाणित गराएर देखाउने युग हो । अब पनि ईश्वरको विश्वासको बहस चलाउनु विज्ञानलाई चुनौती दिनु हो भन्ने पछिल्ला प्रतिक्रियाहरूकै बीचमा हामी अझै ईश्वरको अस्तित्वको विषयलाई समय सान्दर्भिक ठान्छौँ र अहिलेको साहित्य, संस्कृति, दर्शनले ईश्वरलाई विषय बनाओस् भन्ने चाहन्छौँ । किनकि हामीबाट ईश्वर पर गएकै छैनन् । हाम्रा प्रत्येक गतिविधिको केन्द्रमा ईश्वर छ । हामी विश्वास गरेर र नगरेर पनि ईश्वरीय तत्वकै संरक्षणमा छौँ भन्ने कुरा हाम्रो व्यवहार, हाम्रो ज्ञानलाई चुनौती बनेर हाम्रै मनमा बस्नेजस्तो अवस्थामा बस्ने, ईश्वरले नै प्रमाणित गर्छ ।
दर्शनका कुराले ईश्वरीय सत्तामा तर्कको प्रवेश भयो । ईश्वरीय सत्तामाथिको ठूलो विश्वासमा प्रश्नहरू जन्मिए । ईश्वरलाई महाविश्वासको रहस्यबाट धर्तीमा ओरालेर मानिसले बहसको विषय बनाए । आफ्नो खाँचोको काम लाग्ने वस्तुझैँ व्याख्या गर्न थाले । त्यस्तै खाँचो नपर्ने काम नलाग्ने वस्तु हो झैँ गरेर मनबाट फ्याक्नुपर्ने तर्क गरे । आपूmलाई चाहिएको काम पूरा गरिदिन पुकारा गरेर ईश्वरवादी हौँ जस्तो लाग्ने अतिवाद र ईश्वरलाई रछ्यानमा मिल्काउनुपर्ने वस्तु ठान्ने अतिवाद दुवैले ईश्वरीयतामाथि न्याय गर्दैनन् । ईश्वर छ भन्दैमा ईश्वर हाम्रो खेतालो÷गोठालो पनि होइन र ईश्वर छैन भन्नेहरूको जस्तो कुनै फुटेको घैँटाको टुक्राजस्तो बेकामे वस्तु होइन ।
ईश्वरीय सत्ता, विश्वास वा चिन्तन भनेको सबै खाले आग्रहभन्दा परको वस्तु हो । आफ्नो अनुकूल पार्न नसक्दा पर फ्याँक्न मिल्ने र अनुकूल पर्दा घरको मन्दिरमा पूजा गरेर राख्ने मान्यता हाम्रो तिरस्कार र भक्तिका त्रिगुणात्मक रूप हुन् तर ईश्वर भनेको निस्त्रैगुण्य रूप हो । परा प्रकृति चेतन प्रकृति हो-अपरा प्रकृति जड प्रकृति हो । ईश्वरको प्राकृतिक रूप भनेको त्यही परा र अपरा दुवै प्रकृतिको रूप हो ।
ईश्वरलाई तर्कमा सामेल गर्दाका केही रोचक प्रसङ्गहरू छन् जसले ईश्वरीयतालाई निषेध गर्न प्रेरित गर्दछन्-ईश्वरको आवश्यकता छैन भन्नेहरूमध्ये हठवादी अनीश्वरवादीले निःसन्देह भन्ने गर्दछन्–ईश्वरको कुनै अस्तित्व नै छैन त्यसैले ईश्वर छ भनेर विश्वास गर्नु अन्धविश्वासमात्र हो भने ईश्वरको अस्तित्वमा सन्देह गर्ने अर्काथरि सन्देहवादीहरूले ईश्वरको अस्तित्व वा अनस्तित्वको छिनोफानो गर्ने शक्ति मनुष्यको बुद्धिमा सम्भव छैन त्यसैले अल्पबुद्धिले ईश्वर छ भनेर मानेको कुरामा विश्वास गर्न आवश्यक छैन भनेर आफ्नो विमति जाहेर गर्दछन् ।
एउटा अनौठो सत्य के हो भने ईश्वर छ भन्ने संसारका आधाभन्दा केही बढी मानिसहरू र ईश्वर छैन भन्ने त्यत्तिकै संख्याका मानिसहरू दुवैथरिले ईश्वरलाई चिन्तनको विषय बनाएपछि अब ईश्वर बिनाको संसार कल्पना गर्नु नपर्ने भएको छ ।
त्यसैगरी समीक्षावादी निरीश्वरवादीहरूको तर्क छ ईश्वर छ भनेर प्रमाणित गर्ने तर्क र प्रमाणहरू पर्याप्त छैनन् । जे छन् भनिएको छ ती दोषपूर्ण छन् । त्यसैले ईश्वर छैनन् । अनिश्वरवादीहरूका तर्कहरूले ईश्वर छैन भन्न त खोजेका छन् तर छैन भन्ने प्रमाण जुटाउन भने सकेका छैनन् । तर यी तर्कले ईश्वरसम्बन्धी जिज्ञासा र चर्चालाई भेटाउन सकेका छैनन् बरू ईश्वरकै विषयमा पढ्न र बुझ्न जिज्ञासा जगाएका छन् ।
विश्वास र ईश्वर
भनिन्छ, ईश्वरमा हामीले विश्वास गरौँ या नगरौँ तर हाम्रोभित्र ईश्वरका विषयमा जिज्ञासा भइ नै रहन्छ । त्यस्तै अध्ययनले के पनि बताएको छ भने संसारका विभिन्न जातिहरूमा ईश्वरमा विश्वास गर्नेहरूकै संख्या धेरै छ । त्यसै कारणले गर्दा ईश्वरको विषयको चर्चालाई दर्शनशास्त्रहरू र अन्य शास्त्रहरूले पनि आफ्नो विषय बनाइ रहेका हुन्छन् । ईश्वरलाई चिन्तनको विषय बनाउनेहरू मूलतः ईश्वरवादी आस्तिक र अनीश्वरवादी नास्तिक दुई वर्गमा विभाजित छन् । ईश्वर मान्नेहरूले विश्वास र केही प्रमाणहरूले ईश्वर छ भन्ने सिद्ध गर्न चाहन्छन् भने ईश्वर छैन भन्नेहरूले पनि प्रमाणकै आधारमा ईश्वर छैन भन्न मन पराउँछन् ।
एउटा अनौठो सत्य के हो भने ईश्वर छ भन्ने संसारका आधाभन्दा केही बढी मानिसहरू र ईश्वर छैन भन्ने त्यत्तिकै संख्याका मानिसहरू दुवैथरिले ईश्वरलाई चिन्तनको विषय बनाएपछि अब ईश्वर बिनाको संसार कल्पना गर्नु नपर्ने भएको छ । यहाँ यो आलेखको आशय पनि ईश्वरीय तत्वका कुरा गर्दा ईश्वरका विपक्षमा उठेका तर्कलाई अस्विकार गर्नु होइन । कुरा के हो भने यति धेरै मानिसको चिन्तनको रूचि ईश्वरकै विषयमा छ भने अवश्य पनि त्यो तत्वको अस्तित्वलाई सर्वथा नकार्न त मिल्दैन । ईश्वरलाई धार्मिक रुढीवादसँग जोडेर निस्कने ईश्वर तत्वसम्बन्धी निष्कर्षले हामीलाई तर्कको अधिकार पनि दिँदैन । हाम्रो उद्देश्य तर्कमा विश्वास गर्नु हो । तर्क र विश्वास दुवैले आफ्नो मान्न मिल्ने तहको तत्वमा हामीले विश्वास गर्न मिल्छ । ईश्वरवादीहरूले ईश्वरलाई वास्तविक सत्ताको प्रमुख मान्दछन् ।
ईश्वर वास्तविक, स्वतन्त्र, सर्वश्रेष्ठ मूल्य, परमसाध्य, आध्यात्मिक र चेतन हुन्छ भन्छन् । उनीहरू ईश्वरको सत्यता, सर्वव्यापकता, सर्वशक्ति सम्पन्नतामा विश्वास गर्दछन्, यो सृष्टि, स्थिति र लयको प्रमुख आधार ईश्वर नै हो भन्ने मान्दछन् । ईश्वर एउटैमात्र छ भनेर मान्ने एकेश्वरवादीहरू, अनेक ईश्वर वा देवताहरूलाई मान्ने अनेकेश्वरवादीहरू, ईश्वर विश्व सृष्टिको केवल निमित्त कारणमात्र हो, उपादान कारण होइन किनकि सृष्टिको रचना शून्यबाट भएको हो भन्ने निमित्तेश्वरवादीहरू, ईश्वर नै एकमात्र परमार्थ सत्ता हो र त्यही नै अनन्त, सर्वव्यापक, विश्वको मूल तत्त्व रहेकाले विश्वको आरम्भ, अस्तित्व र रक्षाको पनि मूल कारक ईश्वर नै हो । ईश्वरबाहेक अरू केही छैन भन्ने निमित्तोपादानेश्वरवादीहरू यी सबै प्रकारका ईश्वरवादीहरूले आ-आफ्ना तर्क शक्तिका भरमा ईश्वरको अस्तित्वलाई मान्दछन् । सबैमा केही मतान्तरहरू छन् तर सबैले ईश्वरको सत्तालाई मान्दछन् । क्रमशः