आत्मनिर्भर हजुरआमाहरू

हिमालय टाइम्स
Read Time = 4 mins

महोत्तरी । थपमाया लामा उमेरले ८५ वर्ष पुग्नुभयो । हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त हुनुहुन्छ । उहाँसँगै उहाँकी ७८ वर्षीय सम्धिनी तुलीमाया पाख्रिन पनि हुनुहुन्छ । तुलीमायाका छोरा गोविन्द पाख्रिनले थपमायाकी छोरी देवीमायासँग विवाह गर्नुभएको छ ।

बजार लाग्ने दिन उहाँहरू बिहानै घरबाट निस्किनुहुन्छ, लालबन्दीबाट धुप र मर्चा मगाउनुहुन्छ अनि अटोमा राखेर उक्त सामान बजारसम्म पु¥याउनुहुन्छ । हेर्दा निकै वृद्ध देखिने यी दुई सम्धिनीले व्यापार गर्न लागेको २० वर्ष भइसकेको छ । वृद्ध उमेरमा पनि आफ्नो पेशालाई निरन्तरता दिएर देशमै आयआर्जन गर्न सकिन्छ भन्ने उहाँहरू उदाहरण बन्नुभएको छ । ‘कहिलेकाहीँ बजार जाँदा होस् या कपडा किन्दा होस् छोरा र बुहारीसँग हात फैलाउनुपर्दैन,’ तुलीमाया भन्नुहुन्छ ।

अझ थपमायाका तीन सन्तान हुनुहुन्छ । जेठा छोरा वेदबहादुर अहिले परिवारसहित दोलखाको चरिकोटमा बस्दै आउनुभएको छ । कान्छा छोरा प्रिमान बर्दिबासमा नै बस्नुहुन्छ । थपमायाको व्यापार परिवारको भरणपोषणको आधार पनि बनेको छ । थपमायाको पुख्र्यौली घर पनि चरिकोट नै हो । अनि तुलीमायाको दोलखाकै जिरीमा ।

तुलीमायाको भने थपमायाको भन्दा अलि फरक कथा छ । उहाँको छोराछोरीको नाममा एकजना छोरा हुनुहुन्छ । पहिले छोरा पर्यटकहरूको भरिया काम गर्नुहुन्थ्यो । तर, अहिले पहिले जस्तो अवस्था छैन । हिमाल जाने पर्यटकहरूले सवारी यातायातको प्रयोग गर्न थाले, फलस्वरूप कयौँ जना बेरोजगार बनेका छन् । यही सूचीमा तुलीमायाका छोरा पनि पर्नुभयो । काम नभए पनि तुलीमायालाई कुनै चिन्ता छैन ।

उहाँ भन्नुहुन्छ, ‘मैले कमाएको पैसाले नै घरपरिवारमा सहयोग पुग्छ, त्यही भएर छोराले काम पाउँदा गरिहाल्छ, नपाउँदा म आफैं कमाउँछु ।’

थपमाया र तुलीमायाको घर अहिले बर्दिबासमा नै छ । सवारीसाधनको सहयोगले उहाँहरू बजारसम्म आउनुहुन्छ अनि बेलुका आफैं फर्किनुहुन्छ । ‘अहिले नातिनातिनीले अब व्यापार गर्नुपर्दैन भन्छन् । तर, दिनभरि के गरेर बस्नु र भनेर यता आउँछौँ, बेच्छौँ,’ थपमाया र तुलीमाया एकसाथ भन्नुहुन्छ । बुढेसकालमा पनि आत्मनिर्भर बन्न सकेकोमा उहाँहरूलाई गर्व छ । उहाँहरूले बजार लागेको दिन दैनिक पाँच सयसम्मको व्यापार गर्नुहुन्छ ।

बर्षौदेखि बर्दिबासमा बस्दै आए पनि तुलीमाया र थपमायाले बसाइँसराइ दर्ता गराउनुभएको छैन ।  जसका कारण थपमायाले वृद्धभत्ता दोलखाबाट बुझ्ने गर्नुभएको छ भने ७५ वर्षीया तुलीमायाले नागरिकताका कारण वृद्धभत्ता बुझ्न पाउनुभएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?