युवा जनशक्ति निर्यात गर्ने देश : समृद्धिका कुरा नगर्दा नै बेस

हिमालय टाइम्स
Read Time = 18 mins
A A- A+

✍️ प्रा. देवीभक्त ढकाल

युवा शब्दले अथाह शक्ति, साहस, ऊर्जा, ज्ञान, अनुसन्धान र आविष्कारको प्रतिनिधित्व गर्छ । युवाशक्ति हुरी, तुफान, बाढी जस्तै गतिशील र शक्तिशाली हुन्छ । युवा शक्तिलाई रचनात्मक र सिर्जनात्मक बनाउने जिम्मेवारी राष्ट्रिय राजनीतिको हो । जुन देशका युवाहरू स्वस्थ्य हुँदैनन् त्यस देशका युवाहरूको सोच, दृष्टिकोण पनि स्वस्थ्य हुँदैन । युवाहरूमा भएको अथाह क्षमतालाई सिर्जनशीलतामा रूपान्तरण गुणस्तरीय शिक्षाले गर्छ । युवाहरूको समान पहुँचमा गुणस्तरीय स्वास्थ र शिक्षाको व्यवस्था राज्यको मुख्य दायित्व हो । युवाहरूसँग समयको प्रवाहसँगै विकसित नयाँ सोच, नयाँ विचार, तार्किक चिन्तनशक्ति, ऊर्जा, कल्पना तथा ज्ञानको अथाह भण्डार हुन्छ ।

यो भण्डारको वैज्ञानिक परिचालनले विकास र समृद्धि ल्याउँछ । जागृत र क्रियाशील युवाहरू देश विकासका इन्जिन हुन् । देशको भाग्य र भविष्य हुन् । युवाहरू राष्ट्रका अपार क्षमता र परिवर्तनका बाहक हुन भने प्रतिभा र सिर्जनशीलताका खानी र अभियन्ता हुन् । राष्ट्रको विकास र समृद्धि देशका युवाहरूका क्रियाकलाप र उपलब्धिमा भर पर्छ । गुणस्तरीय शिक्षाले युवाहरूलाई देश र समाजप्रति जिम्मेवार बनाउँछ । युवाहरू नदीको बाढी जस्तै हुन् ।

प्रयोग गरे देश सप्रन्छ । प्रयोग गर्न नसके देश बिग्रन्छ पनि । युवा अवस्था भनेको जोश, जाँगर र क्रियाशील हुने अवस्था हो । युवाहरूमा अन्तरनिहित सिर्जनशीलताको सदुपयोग गर्ने देशले विकासमा प्रगति गर्छ । तर, हामीकहाँ भ्रष्ट नेताहरू युवाशक्तिलाई निर्यात गरेर देश विकासको सपना बाँड्दैछन् । शक्तिको चरम दुरुपयोग गर्ने झ्याली खेलको राजनीतिले जनतालाई विपन्न बनायो भने मुठ्ठीभर नेताहरू सम्पन्न बने ।

हाम्रो दुर्भाग्य भनेको के हो भने अहिले एघार बाह्र कक्षा पढ्नेमध्ये ९० प्रतिशत विद्यार्थीलाई तिमीहरू किन पढ्दैछौ भनेर सोध्ने हो भने उनीहरू विना कुनै हिचकिचाहट अमेरिका, अष्ट्रेलिया जान पढेको भन्छन् । के हाम्रो शिक्षाको राष्ट्रिय लक्ष्य र उद्देश्य विदेश भासिने नागरिक तयार गर्ने हो ? शिक्षित युवाहरूलाई पलायन हुन अनुकूल वातावरण बनाउने सरकारले विकास शब्दावली किन प्रयोग गर्छ ? देशका लागि, ज्ञानका लागि पढ्ने युवाहरू नै शून्य प्रायः भएपछि यो देशको विकासको भविष्य अन्धकार भएन ? गैरजिम्मेवार र भ्रष्टाचारी राजनीतिक नेतृत्वका कारण शिक्षा, स्वास्थ, सडक यातायात जस्ता विषयहरू अविश्वसनीय छन् ।

शिक्षित जनशक्ति पलायन हुने वर्तमान पद्धतिले देशलाई अन्याय गरेको छ । हाम्रा शिक्षण संस्थाहरूको लगानीको लाभ विदेशीले लिएको अवस्थामा शिक्षाको हाम्रो लगानी खेर गइरहेको छ । यस लगानीको लाभ अमेरिका र अष्ट्रेलियाले लिने अवस्थामा देश कसरी उँभो लाग्छ ?

यसले सबैलाई निराश बनाएको छ । बढ्दो बेरोजगारीले देशको युवा जनशक्ति विदेश पलायन हुने क्रम २०४६ सालपछि सुरुवात भयो । माओवादी आन्दोलन र अत्याचारले युवाहरू विदेशिन बाध्य पार्‍यो । देश विकासमा आफ्नै जनशक्तिको उपयोग गर्न अक्षम सरकारले विकास र समृद्धिको राजनीतिक नारा भ्रम सिर्जना गर्ने हतियार बन्यो । देशमा बेरोजगारी, अभाव र गरिबी छ भने विदेशमा उच्च पारिश्रमिक, सुखी जीवन, सुविधा सम्पन्न सडक, गुणस्तरीय स्वास्थ र शिक्षा जस्ता सुविधाले युवा-युवतीहरू आकर्षित भए । युवाहरू विदेश पलायन नहुने उपायहरू विकासको पूर्वशर्त हो । युवाहरूको सहभागीताविना विकास र समृद्धि फगत नारा हुन्छ उपलब्धि किमार्थ हुँदैन ।

हाम्रा स्कुल र कलेजहरूले जनशक्ति उत्पादन हाम्रा लागि गर्ने कि अमेरिका, अष्ट्रेलिया जस्ता विकसित देशहरूका लागि गर्ने ? हाम्रो उत्पादन हाम्रो आवश्यकता आपूर्ति गर्न हुनुपर्ने हो तर त्यसो नभएर हामी विदेशीको गुलामी गर्ने जनशक्ति उत्पादन गर्न लगानी गरेका छौं । गरिब देशको शिक्षाको लगानी विडम्बना उपभोग विकसित देशले गर्ने ? शिक्षित जनशक्ति पलायन हुने वर्तमान शैली र पद्धतिले देशलाई अन्याय गरेको छ । तसर्थ हाम्रा शिक्षण संस्थाको लगानीको पूरै लाभ विदेशीले लिएको अवस्थामा शिक्षाको हाम्रो लगानी खेर गइरहेको छ । शिक्षा र स्वास्थ्यमा भएको लगानीको लाभ अमेरिका र अष्ट्रेलियाले लिने अवस्थामा देश कसरी उँभो लाग्छ ? विदेशिने छात्रछात्रालाई देशले लगानी किन गर्ने ?

अब विदेशिनेबाट देशले गरेको लगानी र त्यसको ब्याजसमेत फिर्ता गर्ने संयन्त्र बनाउनुपर्छ । गरिब देशको लगानीले विकसित देशहरूले सित्तैमा जनशक्ति पाउने अवस्थाको अन्त्य गर्ने उपाय विश्वका सबै गरिब देशहरूले अविलम्ब सोच्नुपर्छ । विकास र समृद्धिको अभियानमा राज्यले आफ्ना युवा जनशक्ति साथै बौद्धिक प्रतिभालाई उच्चतम सदुपयोग गरेर देशको विकास र समृद्धि गर्छ । जुन देशबाट प्रतिभाशाली युवा जनशक्ति पलायन हुन्छ भने त्यो देशको विकास र समृद्धि भाषणमा सीमित हुन्छ न कि व्यवहारमा । हाम्रो अवस्था त्यस्तै छ । सबै होनहार युवाहरू वर्षेनी पलायन हुन्छन् । पलायन हुन रोक्ने योजना बनाउन सरकार असफल छ ।

नेपाली समाज युवाहरूलाई पलायन हुन प्रोत्साहित गर्छ । देश युवाहरूको जाँगर र प्रतिभाशाली जनशक्तिको बौद्धिक उन्नतिबाट स्वतः वञ्चित हँुदा विकासको नारा निरर्थक भयो । यस्तो अवस्थामा कसरी हुन्छ विकास ? कसरी आउँछ समृद्धि ? जनशक्ति निर्यात गर्ने देशले आफ्नो विकासमा आफ्नै जनशक्ति प्रयोग गर्न नसक्ने अवस्थामा विकास र समृद्धि शब्दको प्रयोग नै देश र जनताका लागि धोका हो । जुन देशको सरकारले आफ्नो विकासमा आफ्नै जनशक्ति परिचालन गर्न सक्दैन भने त्यो देशको विकास कसरी हुन्छ ?

विकासलाई नेताहरूले जनतालाई ठग्ने सूत्र बनाए । देशका नकारात्मक आर्थिक परिसूचकले देशले विनासको बाटो अख्तियार गरेको प्रमाणित भयो । राजनीतिका हस्तीहरू अहिले जनताको पूर्णअविश्वासको घेरामा छन् । हिजो डेरा भाडासम्म तिर्न नसक्ने नेताहरूले आज लखनउका बादसाह बस्ने जस्तो महल र जीवनशैली कसरी बनाए ? यसको छुट्टै अनुसन्धान जरुरी छ । जनताको उत्थानको नारालाई उनीहरूले पूरै आफ्नो र आफ्नाको उत्थानमा सीमित गर्दा प्रजातान्त्रिक शासन व्यवस्था नातावाद, कृपावादको र भ्रष्टहरूको शासन हो भन्ने सन्देश गयो ।

सबै उच्च पदहरूमा हुने नियुक्तिहरू पञ्चायत कालमा योग्यताको आधारमा हुन्थ्यो । नियुक्ति पाएका व्यक्तिहरू आफैंमा योग्य र तुलनात्मक रूपमा उम्दा हुन्थे । अहिले सबै अयोग्यमात्रै नियुक्त हुँदा कुशासनको बिगबिगी छ । हाम्रो स्कुल, कलेज र विश्वविद्यालयबाट उत्पादन हुने सैद्धान्तिक र प्राविधिक जनशक्तिमध्ये विशेष योग्य जनशक्ति सबै पलायन हुने संरचनाले विकास र समृद्धिमा आफ्नै नागरिक परिचालन गर्न नसक्नु भनेको यो देशको सरकार, योजना आयोग, शिक्षा नीति, विश्वविद्यालय र बौद्धिक समुदाय सबै असफल र असक्षम भएको प्रमाण हो ।

हिजो राजा महेन्द्रले भेषबहादुर थापा, हर्क गुरुङ जस्ता थुप्रै विदेशमा पढ्न गएकामध्ये उत्कृष्टलाई नेपाल फर्काउन प्रयत्न गर्दा त विकास र समृद्धिको काम अधुरै रहृयो भने अहिले कलेज, विश्वविद्यालयमा उत्कृष्ट नम्बरमा पास हुने सबै नागरिक पलायन हुने अवस्थामा विकास र समृद्धिको रटान आफैंमा देश र जनतालाई भ्रमित पार्ने शब्दावली हुन्भन्दा फरक पर्दैन ।

कुनै पनि देशसँग प्राकृतिक सम्पदाका साथसाथै मानव सम्पदा हुन्छ । प्राकतिक सम्पदाको प्रयोग र मानव सम्पदाको परिचालनबाटै संसारका सबै देशहरू समृद्ध भएका हुन् । विकास र समृद्धि भाषणले आउँदैन । विकास र समृद्धि राजनीतिज्ञहरूको दृढ इच्छाशक्ति र देशमा रहेको मानव शक्तिको लगनशीलता र प्राकृतिक सम्पदाको परिचालनबाट प्राप्त हुन्छ । राजनीतिज्ञमा इच्छाशक्ति नभइकन जनशक्ति परिचालन हुन सक्दैन । जनशक्ति परिचालनको प्रबन्ध विना विकास र समृद्धि असम्भव हुन्छ ।

सर्वप्रथम देशमा के कस्ता प्राकृतिक सम्पदाहरू छन् ? कहाँ-कहाँ छन् ? कति मात्रामा छन् ? त्यसको जानकारी लिन सक्ने जनशक्ति देशले उत्पादन गर्न सक्नुपर्छ । विद्यमान प्राकृतिक सम्पदालाई उत्खनन्, प्रशोधन गरेर उपभोग्य वस्तु उत्पान गर्ने प्रविधि र प्राविधिक उत्पादन गर्ने शिक्षण संस्था वा प्राविधिक प्रशिक्षण केन्द्रहरू नितान्त आवश्यक शर्त हुन् । हाम्रो भूगोल र प्रकृतिले हामीलाई के के दिएको छ ? त्यसको सीमाभित्र नै प्राविधिक शिक्षाको व्यवस्थाद्वारा देशले उन्नतिको रेखा कोर्नुपर्छ ।

हामीसँग जलस्रोत, हिमाल, पहाड, तराईका उर्वर फाँटहरू र पर्यटन विकासका विपुल सम्भावना छन् । तिनै सम्पदाको परिचालबाट उत्पन्न विकास दिगो र भरपर्दो हुन्छ । जलस्रोतलाई विद्युत्, सिँचाइ, पिउने पानीलगायत विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिन्छ । ती क्षेत्रहरूको आवश्यकताको पहिचना गर्ने र आवश्यकताभन्दा बढी जलविद्युत् साथै हिमाली पिउने पानी निकासीसमेत गर्ने स्पष्ट योजना र त्यसको कार्यान्वयनबाट देश शीघ्रातिशीघ विकसित हुन्छ ।

आफ्नो विकासका लागि आफ्नै देशका हिमाल, पहाड र वनस्पति जस्ता वस्तुहरूका माध्यमले हुने पर्यटन प्रबद्र्धनमा सहयोगी जनशक्ति उत्पादन गर्ने पर्यटन विश्वविद्यालय देशको बेरोजगारी समस्या समाधानको अचुक अस्त्र बन्न सक्छ । तर, वर्तमान राजनीतिले त्यो दिशातर्फ सोचसम्म बनाउन सकेको छैन । युवाहरूलाई परिचालन गर्न नसक्ने, आफ्नै प्राकृतिक सम्पदाको प्रयोग गर्न असक्षम सरकारलाई विकास र समृद्धि शब्दको उच्चारणसम्म गर्ने हक छैन । देशका योजनाविद्ले देशका युवा शक्तिलाई परिचालन गरेर आफ्नै जनशक्तिलाई आफ्नै देशको विकासमा योगदान गर्ने चाहनालाई पूरा गर्ने योजनाको खाका बनाउन नसक्ने योजनाविद्को अगाडि झुण्डिएको विद्यावारिधिले सधैं नै यिनीहरूको डिग्रीलाई कुरी-कुरी गरेको छ ।

छोराछोरी विदेशी नागरिक भएभन्दा दुःखी हुने कि खुशी ? सन्तति अनागरिक हँुदा गर्व गर्ने बाबुआमा र हिनताबोध र लज्जाबोध नगर्ने छोराछोरीहरूको विवेको लिलामीले देश विकास र समृद्धिको चरणमा होइन चरम संकटको चरणमा प्रवेश गरेको छ ।

आफ्नो युवाशक्तिलाई पलायन हुन बाध्य पार्ने देशको सरकार र योजना आयोगको असक्षमता नै विकासका लागि बाधक भएको विषयमा अब बहस प्रारम्भ गरौं । युवा जनशक्ति निर्यात गर्ने नीति देशलाई वृद्धाश्रम बनाउने षड्यन्त्र हो । सरकारले युवाहरूलाई निर्यात गर्ने नीति पनि युवाहरूको असन्तुष्टिलाई व्यवस्थापन गर्ने रणनीति हो । नेपाली युवाहरूले विदेशमा रोपेको धानले नेपालमा भकारी भर्छौं भन्नु जस्तै हो नेपाल सरकारको विकास र समृद्धिको नारा ।

छोराछोरी विदेशी नागरिक भएभन्दा दुःखी हुने कि खुशी ? सन्तति अनागरिक हुँदा गर्व गर्ने बाबुआमा र हिनताबोध र लज्जाबोध नगर्ने छोराछोरीको विवेको लिलामीले देश विकास र समृद्धिको चरणमा होइन चरम संकटको चरणमा प्रवेश गरेको छ । होनहार सन्ततिहरू अनागरिक बन्ने प्रतिस्पर्धाले देशको भविष्य अन्धकार हुने निश्चित छ । राजनीतिक नेतृत्वमा रहनेहरू प्रायः सबैका सन्तति विदेशमा छन् । विदेशी नागरिकता लिएका छन् । विदेशी नागरिकता लिएका छोराछोरीका बाबुआमाहरू अहिले देशको नेतृत्वमा छन् । उनीहरूलाई नेपालको विकासको के खाँचो ?

भान्सेले आफूले नखाने भोजन स्वास्थ्यकर बनाउन चासो नदिए जस्तै विकासको चासो लिनुपर्ने उच्च पदधारी यहाँको पदावधि सकिने बित्तिकै विदेश बसोबासको योजनामा छन् । त्यसैले सबैले विकासलाई पद हत्याउने र जनता अलमलमा पार्ने साधन बनाएका छन् । जहिलेसम्म विकास र समृद्धिमा आफ्ना युवालाई परिचालन गर्ने स्पष्ट नीति र रणनीति अख्तियार हुँदैन त्यस बेलासम्म विकास र समृद्धिको रटान जनता झुक्याउने हतियार हुन्छ । त्यसैले जनशक्ति निर्यात गर्ने हाम्रो देश-विकास र समृद्धिका कुरा नगर्दा नै बेस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
9 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2022-08-09 8:13 am

Sarokarwala le Manan garnai parne

श्याम
श्याम
2022-08-11 7:13 am

अलिकति पनि देशको माया छ भने युवा जनशक्ति देश भित्रै परिचालन हुने वातावरण बन्नै पर्छ र बनाउनु पर्छ नेतृत्वले ।

गोविन्द विनोदी
गोविन्द विनोदी
2022-08-11 10:11 am

आलेखले वर्तमानको ज्वलन्त समस्यालाई सम्बोधन गरेको छ । सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने विषय हो यो । यति राम्रो र चित्तबुझ्दो लेखका लागि देवी सरलाई हार्दिक बधाई !!!

Tirtha Parajuli
Tirtha Parajuli
2022-08-12 12:21 pm

Vhitta bujhyo.
Netaaharule padhera sakaratmak shoch banaae rammro hunthyo.

devibhakta dhakal
devibhakta dhakal
2022-08-12 6:02 pm

धन्यवाद हिमालय टाइम्स परिवारलाई ।

Narayan chalise
Narayan chalise
2022-08-13 10:40 am

सारपूर्ण लेख आदरणीय सरको !

छुटाउनुभयो कि ?