✍️ प्रा. देवीभक्त ढकाल
२०७७ साल असार १६ गते नै हुनुपर्छ मेरो टेलिफोनको घण्टी बज्यो । फोन उठाएँ । फोन हिमालय टाइम्सका सम्पादक मित्र पुरुषोत्तम दाहालको थियो । फोन वार्तामा व्यक्तिगत र पारिवारिक विषयहरूले प्रवेश पाउने विषय स्वाभाविकै भयो । हिमालय टाइम्सको प्रधान सम्पादकमा नियुक्त भएपछि पहिलोपल्ट सम्पर्क भएकोले बधाई र शुभकामना दिएँ । त्यही क्रममा हप्तामा एउटा विचार प्रधान लेख नियमित पठाउने प्रस्ताव आयो । त्यसैको परिणाम भन्नुपर्छ २०७७ श्रावणबाट २०७९ असारको यो अन्तिम मंगलबारसम्मको दुई वर्षभित्र १०४ को संख्यामा हिमालय टाइम्समा विचार शीर्षकअन्तर्गत मेरा विचार नियमित प्रकाशित भए ।
म त्रिभुवन विश्वविद्यालयबाट सेवा निवृत्त भएर बसे पनि कोरोनाको विश्वभर भएको मानवीय क्षतिको डरलाग्दो आकडा र नेपालमा कोरोना फैलने क्रम चरम उत्कर्षमा रहेकोले सरकारले लकडाउन गरेर जनजीवन अस्तव्यस्त भएको बेला लेखन प्रस्तावलाई स्वीकार्न सहज थिएन । फोनमा नै नियमित लेख्ने काम हुन सक्ला र भन्ने आशंका व्यक्त गर्दै गर्दा विश्वविद्यालयको उच्च जिम्मेवारीबाट सेवा निवृत्त केही साथीहरूको नामै लिएर तिनीहरूले अनुभव नहुँदा लेख्ने आँट नै गरेनन् भन्ने कुरा आयो । पुरुषोत्तम दाहाल नै राजधानी दैनिकमा सम्पादक हुँदा राजधानी दैनिकमा मेरा थुप्रै आलेखहरू पचासको दशकमा प्रकाशित भएका थिए । साथीहरूले लेख्न हिचकिचाउनुको कारण लेखन अनुभव नभएको हो भन्दै दबाबमूलक अनुरोध आयो ।
अनुरोधलाई मैले सम्मान भन्ने बुझे । लेखनको विषय र क्षेत्रमा छलफल भयो । निष्कर्षमा समसामयिक सामाजिक, आर्थिक, साथै राजनीतिक घटनाक्रमहरूको विश्लेषण, समीक्षाका साथै सचेतना, विधिको शासन र सुशासन जस्ता विविध विषयमा आफ्ना विचार लेख्न सकिने कुराहरू भए । आफ्ना कुतकुती, जिज्ञासा, भोगाइ सार्वजनिक हुने विषयमा म सकारात्मक भएँ । हुन्छ भनेर आश्वस्त गरिन । कोसिस तुरुन्तै थालेँ ।
कोसिसभित्र प्रतिबद्धता, अनुबन्ध साथै चुनौतीसमेत थियो । फोनवार्ता टुंगिनासाथ विषयवस्तु छनौट र लेखनका विषयमा प्रवेश गर्न थालेँ । लेखन आफैंमा बोझिलो हुन्छ । पत्रपत्रिकामा केही वर्ष पहिल्यै लेखेको अनुभवलाई पुनःस्थापित गरेर लेख्ने विषयको प्रारम्भसँगै अब मस्तिष्कमा भएको कोरोना भयलाई लेखन भयले विस्थापित गरेको लेखन यात्राको अनुभव अहिले सम्झँदा पनि आनन्द लाग्छ । केही दिनअघि कविवर गोविन्दराज विनोदीजीको मेरा लेखहरूलाई पत्रिकामा प्रकाशित गर्ने प्रस्तावलाई सम्झेँ । पुरुषोत्तमसँगको फोन वार्ताको विवरण सुनाउन विनोदीजीलाई तत्कालै फोन गरेँ । विनोदीसँग लेख्ने खाका, विषयवस्तु र भाषिक समस्या जस्ता विषयहरूमा वार्तालाप केन्द्रीकृत भयो । मलाई लेख्न सधैं प्रोत्साहित गर्ने र भाषिक शुद्धताका विषयमा विनोदीजीबाट प्राप्त हौसलाका शृंखलाहरू फेरि अविस्मरणीय छन् ।
अर्काले लेखेको टिप्पणी गर्न जति सजिलो लेख्न हुँदैन । लेख्नु पर्दा कठिन हुन्छ भन्ने बुझेका कारण अब लेखको खाका, शीर्षक र विषयवस्तुमा केन्द्रित भएँ । यसले कोरोनासम्बन्धी समाचार हेर्ने समयमात्रै घटाएन कोरोना महामारीको भय र समाचार पढ्ने समयलाई लेखनको कामले विस्थापित गर्यो । कोरोनाले नकारात्मक बनाएको मनस्थितिलाई सकारात्मक बनाएको अनुभूति अविस्मरणीय छ । जति–जति म लेख्ने खाका बनाउँदै गएँ त्यति-त्यति मलाई कोरोनाको भय कम भएको सम्झँदा आनन्दानुभूति हुन्छ । यसका लागि प्रधान सम्पादक दाहाललाई धन्यवाद दिनैपर्छ ।
त्यसबखत कालापानी, लिम्पियाधुरा क्षेत्रको सीमा विवाद, भारत-चीनबीचको हाम्रो भूभागमा ३६ किलोमिटर नेपालसँग कुनै सम्पर्क नै नगरीकन भारतले बनाएको, नेपाल सरकारले थाहा नपाएको राजमार्गको विषयमा नेपालको सदनमा चर्को बहस र लिम्पियाधुरा क्षेत्रलाई समेटेर बनाएको नक्सालाई संसदबाट पास गर्ने विषय विशेष चर्चामा थियो । पत्रपत्रिकाहरूका समाचारका विषयवस्तु कालापानी लिम्पियाधुरामय थिए । २०७७/०७८ को बजेट निष्काशनपूर्व नै मैले आफ्नो फेसबुक स्टाटसमा अर्थमन्त्री खतिवडालाई भारतले ३६ किलोमिटर लामो सडक आफ्नै भूभागमा बनाउँदा थाह नभएको सरकारलाई त्यस सडकमा सडक दस्तुर असुल्न हिम्मत गर्नुपर्छ भनेको थिएँ । त्यसैले नै हुनुपर्छ हिमालय टाइम्समा मेरो पहिलो लेखको शीर्षक नै कालापानी, लिम्पियाधुरा नै थियोे ।
२०७७ साल असारमा पुरुषोत्तमसँग मेल मागेँ । लेख पठाउँदा मैले एकै चोटि दुईटा पठाएँ । फोनमा कुरा गरिनँ । लेख २०७७ साउनको पहिलो र दोस्रो मंगलबार नै निस्केछन् । मलाई भने अत्तोपत्तो नै छैन । अर्को अनौठो मलाई नेटबाट हिमालय टाइम्स हेर्ने जानकारी पनि थिएन । पठाएको लेख प्रकाशित भए/नभएको विषयमा चासोसम्म नराख्नु मेरो आफ्नै कमजोरी भन्नुपर्छ । साउनको दोस्रो हप्ताको सम्भवतः बुधबार हुनुपर्छ सम्पादक दाहालको फोन आयो । ए देवी के हो आफ्नो लेख शेयर पनि नगर्ने भनेपछि मात्रै मलाई मेरा दुवै लेख प्रकाशित भएको जानकारीपछि नेटमा हिमालय टाइम्स पत्रिका खोजेर पढेँ ।
त्यसलाई कपी गरेर आफ्नो फेसबुकमा पोष्ट गरेपछि विधिवत रूपमा लेखनको यात्रा सुरु भएको हो । अब मलाई तेस्रो लेखको शीर्षक, विषयवस्तुमा केन्द्रीकृत हुन दबाब सिर्जना गर्यो । सुरु-सुरुमा विषयवस्तु खोज्न र रोज्न कठिन हुन्थ्यो । तर, पार्टीहरूबीच, नेताहरूबीचको बेमेल, भ्रष्टाचार, अनियमितता, विधिविहीनता, राजनीतिक नियुक्तिमा परिवारवाद, आर्थिक चलखेल, विकास बजेटको चरम दुरुपयोग जस्ता दिनदिनैका नयाँ घटनाक्रमले विषयवस्तुको कुनै कमी भएन । कोरोनाले आवागमन बन्द भएकाले अध्ययन र लेखनलाई निरन्तरता दिन मन र मस्तिष्क एकाग्र भयो । लेख कुन विषयमा लेख्ने ? शीर्षक के राख्ने ? विषयवस्तुलाई कसरी आकर्षक शैलीमा प्रस्तुत गर्ने विषयमा केन्द्रीकृत हुँदा कोरोना भय स्वतः कम हुनथाल्यो ।
अर्को सम्झन योग्य घटना टाइपसँग सम्बन्धित छ । मलाई कम्प्युटरमा टाइप गर्न नआउने । हिमालय टाइम्समा प्रकाशित हुने लेख टाइप गर्ने विषय मेरा लागि चुनौतीपूर्ण रहृयो । मैले यात्राका क्रममा देखेका, अनुभव गरेका विषयलाई मोबाइलमै टाइप गर्ने हल्का आदत थियो । कति लेख्दा कति शब्द हुन्छ भनेर हेर्ने ज्ञान थिएन । लेख्न सुरुवात गर्दा आफैंले छानेको शीर्षकमा के लेख्न सकिएला भनेर सुरु गर्यो त्यो लेख तन्किएर सोह्र सत्र सय शब्दसम्म हुने रहेछ । लेख पठाउँछु छोटो आउँछ । कारण थाहा छैन । मलाई कति सय शब्दको लेख पठाएँ भनेर हेर्ने ढंग थिएन । तीन-चारवटा लेखहरू प्रकाशित भएपछि सम्पादक दाहालको फोन आयो ।
उनलाई के लाग्यो भने देवीलाई शब्द हेर्न आउँछ किन यति लामो लेखेको होला । हिमालय टाइम्स त प्रिन्ट संस्करणमा पनि निस्कने हुँदा शब्दको सीमितताभित्र नै लेखलाई प्रकाशित गर्नुपर्ने बाध्यता बारे म पूर्णतः अनभिज्ञ थिएँ । फोनमा नै दाहालले १२ सय शब्दको आसपासमा मात्र लेख पठाउन अनुरोध गरे । म मोबाइलमा टाइप गर्छु । त्यसमा शब्दको संख्या हेर्ने ज्ञान मसँग छैनभन्दा उनीले आश्चर्य माने । सुरुमा त एक-दुई दिन मोबाइलमा शब्द गन्ने पनि गरेँ । त्यो अत्यन्तै अफ्ठ्यारो हुँदा मलाई आफ्नो लेखलाई शब्दमा सीमित गरेर पठाउने विषय निकै झन्झटिलो भयो ।
म मोबाइलमा डाउनलोड गरेको नोट्स नाम गरेको एप्समा टाइप गर्थें । जानी नजानी मेल गर्थें । मेल गए÷नगएको हेर्नेसम्म ढंग थिएनभन्दा अहिले लाज लाग्छ । एकातिर मोबाइलमा लामो टाइप गर्ने कठिनाइ । दोस्रो विषयवस्तु, शीर्षक र प्रस्तुतीकरणको शैलीको कठिनाइ । तेस्रो निश्चित शब्दभित्र लेख्ने र त्यसलाई मेल गर्ने कठिनाइले त हतोत्साही पनि बनायो । इच्छा भए उपायहरू निस्कन्छन् भने झैँ अर्को एउटा सिम्पल नोट नामक एप्लिकेसनलाई डाउनलोड गरेँ । त्यसमा लेख्न सजिलो र कति शब्द भयो भनेर हेर्न मिल्यो । समस्या सुल्झियो ।
अब लेखनको काम बोझ नभएर विस्तारै आनन्दमय बन्यो । लेखनको विषयवस्तु, शीर्षक छनौट र शैली सम्बन्धमा पाठकहरूबाट राम्रा प्रतिक्रिया आए । समय क्रममा हप्तामा एउटा लेख नियमित बुझाउने आज्ञाकारी विद्यार्थी बनेँ ।
कोरोना कम भएपछि नेपालका विभिन्न भागमा घुम्ने, हेर्ने क्रम पूर्ववत् सुरु हुँदा लेखनको काम के सम्भव होला भन्ने चिन्ता थियो । एकपटक पाथीभरा माताको दर्शन गर्न जाने क्रममा आइतबार बेलुका तेह्रथुमको संक्रान्ति बजारमा होटलमा बास बस्यौं । बेलुका थकाइले लेख्न सकिनँ । के विषयमा लेख्ने निधोसमेत थिएन ? कोठामा दुईजना सुतेकाले राति चाडै लेख्न पनि भएन । सोमबार बिहान अली सबेरै उठेर लेख्न सुरुवातमात्रै के गर्दै थिएँ साथीहरूले हिँड्ने तरखर गरे । त्यसबखत मैले सबैसँग आज लेख पठाउने दिन हो मलाई एक घण्टा समय चाहिन्छ भनेर ढोका थुनेर लेख्न थालेँ ।
करिब सवा घण्टामा लेखर लेखलाई मेल गरेको घटना कहिल्यै बिर्सन्नँ । भारतको एक महिने तीर्थयात्रा गर्दा सधैं लेख्ने काम गर्न सकेँ तर तामिलनाडुको कन्याकुमारीको दर्शनपछि रामेश्वरममा बसमा गयौं । बसमा लेख्न सकिनँ । होटल पनि त्यति सुविधाजनक मिलेन । लेख्न धेरै प्रयास गर्दा पनि नसकेर दुई वर्षको बीचमा एक दिन गयल भएको सम्झनाले अहिले पनि मनलाई खिन्न पार्छ ।
जति जति समय बित्यो त्यतित्यति पाठकहरू पनि बढे, प्रतिक्रियाले उत्साह थप्यो तर गुणस्तरीयताले चुनौती पनि थपिँदा धेरै समय अध्ययन र लेखनमा नै बित्ने हुँदा सधैं क्रियाशील र चिन्तनशील बनाएको छ । हाम्रो समाजका केही बुद्धिजीवीहरू किन लेख्ने भनेर निरुत्साहित गर्ने पनि भेटिए । अहिले विश्वविद्यालयहरूका विद्वानहरू, नेपाल सरकारका राजदूत, पूर्वराजदूतहरू, पूर्वसहसचिव, सचिवहरूलगायत आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रका देशभित्रका र देशबाहिरका पाठकहरूले दिने सल्लाह र ऊर्जाले लेखनको काम बोझ नभएर समयलाई आनन्दसँग बिताउने माध्यम भएको छ ।
लेखको पहिलो प्याराग्राफ र अन्तिम प्यारागाफको लेखन बारे सैद्धान्तिक पक्षसमेतको मसिनो अध्ययन र स्तरीय बनाउन सधैं सल्लाह दिने डा.नारायण कुँवरप्रति आभारी छु । पूर्वउपकुलपति डा.तीर्थ खनिया, मधुनिधि तिवारी, तीर्थ मिश्र, मणि काफ्ले र गणेश न्यौपाने साथै पूर्वसहकर्मी खेमराज भट्टराई जस्ता निरन्तर पढने र निरन्तरताका लागि सधैं मलाई प्रेरित गर्ने थुप्रै अन्य आदरणीय गुरूहरू र आत्मीय जनहरू सबैको नामै उल्लेख गरेर धन्यवाद व्यक्त गर्न स्थानाभावका कारण नसकेकोमा क्षमाप्रार्थी छु । मलाई सुझाव दिने, उत्साहित गर्ने, आलेख पढने सम्पूर्ण पाठकहरूका साथै हिमालय टाइम्सका सम्पादकलगायत सम्पूर्ण परिवारप्रति आभार प्रकट गर्दछु ।
लेखनको अनुकूल वातावरण दिने, विषयवस्तु समेतमा सल्लाह सुझाव दिने मेरी जीवन संगिनी पूर्वराजदूत डा.मायाकुमारी शर्मा ढकाललाई धन्यवाद दिन्छु । उनको सहयोगविना यो लेखन यात्रा सम्भव थिएन । अन्त्यमा हिमालय टाइम्स परिवार, आदरणीय पाठकहरू, शुभचिन्तकप्रति आभार प्रकट गर्दै सधैं मंगलबार प्रकाशित हुँदै आएको लेखनको अनुभव साटासाटको भावनात्मक प्रस्तुतिलाई बिट मार्ने अनुमति माग्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच