आठ महिनामा एक सय ८३ उद्योग दर्ता

Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा एक सय ८३ स्वदेशी तथा विदेशी लगानीका उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार दर्ता भएका उद्योगले कुल एक खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । सो अवधिमा ४७ ठूला उद्योग, ५३ मझौला तथा ८३ साना उद्योग दर्ता भएका हुन् । एक सय ८३ नयाँ उद्योगबाट कम्तीमा १२ हजार सात सय ४८ जनालाई रोजगारी प्राप्त हुने विभागले जनाएको छ ।

चालु आवको फागुनमा १९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् । फागुनमा तीन ठूला उद्योग, सात मझौला तथा नौ साना उद्योग दर्ता भएका हुन् । ती उद्योगले कुल सात अर्ब ३० करोड रुपैयाँ लगानी प्रस्ताव गरेका छन् भने एक हजार सात सय ११ जनालाई रोजगारी दिने जनाएका छन् । विभागका अनुसार हालसम्म नेपालमा झण्डै नौ हजार अर्थात् आठ हजार नौ ४७ उद्योग दर्ता भएकोमा कुल २७ खर्ब ८२ अर्ब लगानी प्रस्ताव प्राप्त भएको छ । जसबाट छ लाख ७० हजार दुई सय ५५ रोजगारी सिर्जना हुने बताइएको छ । विभागका अनुसार चालु आवको फागुनसम्ममा एक सय ५९ स्वदेशी तथा विदेशी उद्योगको कुल २० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार पाँच करोडभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन । सो अवधिमा नेपालमा सेयर पर्चेज एग्रिमेन्ट र एसएसएमार्फत् १० अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । चालु आवको फागुनसम्म नेपालले एक हजार सात सय ४८ ट्रेडमार्क, ११ डिजाइन र छवटा प्याटेन्ट दर्ता गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?