✍️ खेमनाथ दाहाल
गत शनिबारको अंकबाट बाँकी..
३.कृतिका कुराः-
जोशीको चोभार ब्लुज उन्नाइस नियात्रा कथाले युक्त कृति हो । यसमा समाविष्ट कतिपय आख्यानहरू कथाभित्रको कथाका रूपमा प्रकट भएकाछन् । स्वैरकल्पनालाई यथार्थमा परिणत गर्नसक्नु जिम्मेवार साहित्यकारको विशेषता र अझ कर्तव्यभित्र पर्दछ । हुनत अंगे्रजी, स्पेनिस साहित्यमा पनि ‘play within the play’ भनेर यस प्रकारका कल्पनालाई यथेष्ट स्थान दिएको पाइन्छ ।
चोभार ब्लुजमा पनि लेखक जोशीले यही बाटो डराउँदै डराउँदै पछ्याएको देखिन्छ तर पूर्ण छैन । उदाहरणार्थ उनकै शब्दमा ‘पर बज्रबाराहीको जङ्गल नजिकिँदै थियो । देब्रेतिर सन्तानेश्वर महादेवको थुम्को ठिङ्ग उभिएको थियो । एक्लो हिँडाइले कल्पनाको घोडा बेतोड कुदाउने गर्छ ।
जोशीका यस कृतिमा समेटिएका आख्यानहरू प्रायशः यथार्थलाई मिथक र स्वैरकल्पनाका लेपनमा परिवेष्ठित गरिएकाले अझ आस्वादित एवम् मनन योग्य छन् । आस्वादपूर्ण वस्तु चाहे जे होस् त्यो आफैँमा ग्रहणीय अवश्य हुन्छ । जोशीका सबै आख्यानहरू उल्लेखनीय छन् तथापि सबैलाई यस सानो आलेखमा अटाउन अहिले नसकिएकोमा खल्लो त अवश्य लागेकै छ तथापि ‘सुनको पोको’ जस्तो असाध्यै मार्मिक र विम्बात्मक आलेखका बारेमा लेखिएन भने यो लेखको औचित्यता पनि विलोप होला । सुनको पोकोलाई म देश रोएको कथा भन्न रुचाउँछु । यसमा मर्मस्पर्शी भाषामा आज देशमा आएको विकृति र विसङ्गतिलाई जोशीले व्यक्त गरेकाछन् । आज सन्ते जस्ता युवालाई मलेसिया र अरव जान कसले बाध्य पारेको छ ? देशका युवती र बालकलाई विधुवा र टुहुरा बनाउने को हो ? त्यसको उत्तर लेखकले आफ्नो धर्म निभाउँदै दिएका छन् । दोषीलाई समाज अगाडि उभ्याएका छन् तर समाज लाछी भएको छ लेखकले दिएको कोरामिनलाई समेत पचाउने भएको छ र यही नै आज देशको दुर्भाग्य बनेको छ दुर्दशा बनेको छ । त्यतिमात्र नभएर कसरी सत्ता र शक्तिका भरमा पुनेहरू सुनका पोका राखेर सुकुम्बासी भएका छन्, सच्चा सुकुम्बासी तिनले बनाएका टहरामा भाडामा आश्रयलिन बाध्य छन्, राजनीतिको आडमा गाउँसमेतमा कसरी प्रकृति दोहन भएको छ ? कसरी निरीह जनता शोषणको मारमा परेका छन् ? लेखकले प्रष्ट पारेका छन् तर सत्ताले यो कुरा सुन्दैन यो कुरा बुझेर पनि बुझ्दैन किनकि सत्ता आफैँ झोलेमय भएको छ । तथापि एक लेखले आफ्नो धर्म छाड्दैन र छोड्नु पनि हुँदैन त्यसैले ऊ लेखिरहन्छ यसरी आफ्नै मर्मस्पर्शी भाषमा ‘जुन बेला एउटा लास मिजारेखोलाको धमिलो पानीमा डुब्दै उत्रँदै सिउघाटबाट घोर्लेटारतिर बग्दै थियो, त्यत्ति नै खेर घाटछेउको सुरिलो रूखको टोड्कोमा एक जोडी डाङ्ग्रे रूपीले एउटा बचेरो कोरल्यो । झरीमा रुझ्दैरुझ्दै त्यो डाङ्ग्रेको बच्चो एक महिनामा हुक्र्यो, अनिलगत्तै कलिला पङ्ख फिँजाएर उत्तरतिर उडान भर्यो मिजारेखोलाको तीरैतीर । एउटा घर अघिल्तिर पुगेर पखेटा फड्फडाउँदै जुठेल्नुमाथि थपक्क बस्यो । पहेँलो थुतुनु फिरिरिरी हल्लायो कट्कट् च्यूँच्यूँ गर्दै कराउन थाल्यो । भुरुरु उडेर आँगनको डिलमा बस्यो । फेरि फुरुक्क उडेर झ्यालको देब्रे फग्ल्याँटामा बस्यो, अनि निहुरी निहुरी कोठाभित्र चियायो । भित्र दुई आमा–छोरा गुँडुल्किएका थिए । केही छिन एकोहेरो हेर्यो । टाउको एकातिर ढल्काएर मधुरो आवाजमा कुट्कुट् गर्यो र फेरि भुरुरु उडेर दक्षिणतिर बेपत्ता भयो’
प्रायशः काठमाडौं भेलीको काँठ र ग्रामीण परिवेश त्यसमा पनि स्थानीय मौलिक भाषा र बोलीचाली यो परिवेशलाई यति उत्कृष्ट खुराकी बनाएर पस्कन केवल जोशीहरू जस्ता पारखीबाट मात्र सम्भव हुन सक्दछ । उनले भेली संस्कृतिलाई कृतिमा उतार्न यावत् प्रयत्न गरेकाछन् र उतारेका पनि छन् । कथाभित्र बागमती सम्यता, नेवारी संस्कार र संस्कृतिलाई जीवन्त बनाउने यत्न गरेका छन् । उनले विभिन्न देविदेवताका इतिहास उत्खनन् गरेका छन् लेख्दा लेख्दै नेवार समुदायमा प्रचतिल शिव र पार्वतीको अभिमानको परिणाम स्वरूप उत्पत्ति भएका ख्याकको कथासमेत बुन्न भ्याएका छन् । काठकाडौं उपत्याको छेउकुनाले अझैं पनि सिङ्गो देशको प्रतिनिधित्व गर्दछ । यहाँका मानिस जति स्वच्छ छन् निग्ध छन् त्यो आफैँमा गौरवको विषय छ । उनीहरूको भाषा र बोलचालमा आफ्नै पना छ । यो मौलिक निष्कपटतालाई जोशीले यस कृतिमा पनि टपक्क टिपेर समावेश गरेकाछन् । यसको उदाहरणको रूपमा जोशीले लेखेको यस बाबुछोराको मौलिक सम्बादलाई यहा उद्धृत गर्न वाञ्छनीय ठानेर जस्ताको त्यस्तै उद्धृत गरिएको छ । यस्ता स्थानिय सम्बादको आफ्नै इतिहास हुन्छ जसलाई कृतिमार्फत अजर अमर बनाउनु लेखक धर्म हुन जान्छ ।
‘ए बौचा ! यो कसको मोटर हाँ ?
मेरै हो बा ! कलेज जान, काममा जान गाडी नभई हुन्न त यहाँ ।’
‘पैसा काँबाट ल्याइस् यत्रो मोटर किन्न ?’
‘किस्तामा किन्ने नि बा । एकैतालि तिर्नु पर्दैन । बिस्तारै तिर्दा हुन्छ ।’
‘अस्ति पठाको खर्च जम्मै खत्तम हो कि क्या हो, बेमान् मचा ।’
‘होइन बा । त्यो कलेज फी को लागि थियो । चलाएको छैन । ल बस्नुस् । घर पुग्न टाढा छ ।’ लगेज डिक्कीमा हाल्दै हेर्चाले भन्यो ।
‘घर पनि किनेर पठाइस् कि क्या हो ?’
‘हा हा हा । बा पनि ठट्टा गर्नुहुन्छ । काँ घर किन्नु सक्नु । भाडामा हो बा । घरमालिकहरूको नर्थ सिड्नीमा अर्को घर छ, उस्तै बस्न गा’का छन् । यताका घरहरू हेर्ने जिम्मा मलाई द्या’ छन् ।’ गाडी स्टार्ट हेर्चाले भन्यो ।
‘तँ ज्वाइँ होस् ? घरै जिम्मा दियो भन्छ, बेमान् ।’.............
‘अनि नि बा ! हृयाँ मलाई हेर्चा भनेर नबोलाउनु है । हीरा भन्नु होस् । सबैले मलाई यही नामले चिन्छन् ।’ (घिर्वाको विदेश यात्रा)
चोभार ब्लुज एक परिवर्तनकारी कृति यसमा कृतिकारले जो जे देखेका भोगेका र सुनेका छन् त्यही उद्धरण गरेका छन् । नास्तिकले नपत्याउन सक्छ उनका कुरा किनकि उसले हात्ति छिर्ने र सियो उन्ने कथाको मर्म बुझेकै हुँदैन अथवा भनौ विश्व बुझ्नसक्ने स्तरमा पुगेको हुँदैन । कुनै पनि कुरालाई आत्मशात गर्न एउटास्तर अवश्य पारगर्नुपर्छ । भ्रमलाई यथार्थका रूपमा प्रकट गर्ने क्षमता केवल कविमा हुन्छ साहित्यकारमा हुन्छ । कवि कालिदाशले रघुवंश र मेघदूतमा, वर्डवर्थले लुसी ग्रे र सोलिटरी रिपरमा यथेष्ट प्रयोग गर्दै भ्रम (Illusion)लाई यथार्थमा परिणत गरेका छन् । न त मेघसँग मानिसले सम्बाद गर्नसक्छ न त लुसी नै हराउन सक्छिन् तथापि पाठक सत्य आभाषमा आनन्द लिन्छ, दुःखको प्रसङ्गमा कारूणिक बन्दछ । चोभार ब्लुजमा पनि लेखक जोशीले यही बाटो डराउँदै डराउँदै पछ्याएको देखिन्छ तर पूर्ण छैन । उदाहरणार्थ उनकै शब्दमा ‘पर बज्रबाराहीको जङ्गल नजिकिँदै थियो । देब्रेतिर सन्तानेश्वर महादेवको थुम्को ठिङ्ग उभिएको थियो । एक्लो हिँडाइले कल्पनाको घोडा बेतोड कुदाउने गर्छ । हिँड्दै जाँदा एउटा सरियल पात्रको जन्म भयो दिमागको एउटा कुनामा । बज्रबाराही देवी आफ्नो बँदेलस्वरूप धारण गरेर पाल्नुभो र सर्याकसुरूक गर्दै घरि दायाँबाट बायाँ त घरि बायाँबाट दायाँ हुत्तिदै मेरो पिछा गर्न थाल्नुभो । के हुँदैछ थाहै नदिई अचानक मलाई जुरूक्क उचालेर आसमानमा विचरण गराउनुभो ।’ यस पछि लेखकले ‘तन्द्रा न हो, चञ्चल मन उड्न कत्ति पनि बेर लागेन’ नलेखेको भए हुने थियो किनकि लेखकलाई कृतिमा प्रष्टीकरणको आवश्यकता पर्दैन त्यो हेर्ने काम त समालोचकको हो पाठकको हो । इति ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच