हाल रूस र युक्रेनबीच युद्ध चलिरहेको छ । रूस शक्तिराष्ट्र हो र युक्रेन रूसबाटै टुक्रिएको एउटा सानो देश । पछिल्लो समयमा रूसले युक्रेनमाथि हमला गरेर हालसम्म पनि यसलाई निरन्तरता दिइरहेको छ । यी दुई देश युद्ध लडिरहेका छन् । यसरी युद्ध सुरु भएपछि रूसले आफ्नो देशबाहेक अन्य देशका नागरिकहरूलाई समेत आफ्नो देशको सेनामा भर्ना गर्ने गरेको छ । यही क्रममा नेपालीहरू पनि रूसी सेनामा भर्ना हुन पुगेका छन् । यसरी युद्धरत अवस्थामा विदेशी सेनामा भर्ना हुनु ती नेपालीहरूको बाध्यता हो भनिरहनु पर्दैन । युद्धग्रस्त अवस्थामा अर्काको देशको सेनामा भर्ना हुने रहर तिनको अवश्यै पनि हुन सक्दैन ।
यसका लागि पनि कसैको प्रलोभन, आश्वासन र आकर्षण भने हुन सक्छ तर आफ्नो देश छोडेर केही रुपैयाँ आर्जन गरी आफ्नो घर परिवार पाल्ने र केही आर्जन गरी छोराछोरी पढाउने तिनको चाहनामा त्यहाँ पठाउने र पुर्याउनेहरूले केही मात्रामा आगोमा घ्यू थप्ने काम निश्चिय पनि गरेका छन् भन्न सकिन्छ । यस्तै प्रलोभनमा परेर ती व्यक्तिहरू आफ्नो ज्यानको बाजी लगाएर रूसी सेनामा भर्ना हुन पुगे तर यसका लागि त्यहाँको सरकारले दिने केही पैसाबाहेक अन्य प्रकारका उपदान, निवृत्तभरणजस्ता कुनै पनि सेवासुविधा दिने व्यवस्था छैन । दुई राष्ट्रिय सम्झौताबाट यसरी सेना पठाउने सम्झौता यो होइन र नेपालीलाई रूसमा पठाउने राष्ट्रिय स्तरमा कुनै पनि सम्झौता भएको पनि होइन ।
युद्धरत देशलाई लडाइँका लागि सेनाहरूको आवश्यकता भएकै हुन्छ । त्यसो भएका कारण रूसले यसरी अर्काको देशबाट विभिन्न व्यक्तिलाई सेनामा लिने गरेको छ तर यसमा लागि नेपाल सरकारले सम्झौता गरेको छैन र सरकारसँग यसको आधिकारिक तथ्यांक छैन । रूसमा नेपालीहरू भर्ना भएको कुरा भने यथार्थ नै हो । यस युद्धमा केही नेपालीहरूले ज्यानसमेत गुमाइसकेका छन् । तिनको संख्या ३९ पुगिसकेको छ भनिन्छ तर तिनका बारे जानकारी भए पनि रूसी सरकारले तिनको लाससमेत नेपाललाई हस्तान्तरण गर्न मानेको छैन । रूसी सेनामा कति नेपालीहरू भर्ना भएका छन् त्यसको पुष्टि हुन सकेको छैन । यो हाम्रा लागि एउटा दुर्दान्त पीडाको विषय हो ।
हाम्रो गरिबी र बाध्यता झल्काउने एउटा सग्लो चित्र हो यो । रूसी सेनामा मात्र होइन युक्रेनी सेनामा पनि नेपालीहरू भर्ना भएका छन् भनिएको छ तर यसमा आधिकारिता पुष्टि हुन सकेको छैन र युक्रेनी सेनामा भर्ना भएका नेपालीहरूको संख्या पनि यकिन हुन सकेको छैन । त्यहाँ हताहती भएकाहरूको न त तथ्यांक छ न त्यसको पुष्टि नै हुन सकेको छ । नेपालीहरू वर्तमान समयमा विश्वका विभिन्न मुलुकहरूमा पुगेका छन् । कामको सिलसिलामा, भ्रमण गर्न वा अन्य यस्तै विभिन्न प्रसंगमा विश्वभरि छरिन पुगेका भए पनि सैनिक सेवामा भर्ती भएर भारत र बेलायतमा मात्र जाने गरेका छन् । यसका लागि भने दुई देशबीच सम्झौता नै भएको छ ।
यो निकै लामो इतिहास बोकेको सन्दर्भ हो । यसका लागि सम्बन्धित देशहरूसँग हाम्रो देशको त्यसका सर्तहरू समेतको सम्झौता भएको त तर पछिल्लो समयमा युद्धरत देशको सेनामा नेपालीहरू अनाधिकारिक रूपमा यसरी भर्ना हुन पुगेको सन्दर्भ चाहिँ हालैको मात्र हो । यसका लागि यसको विवरण र तथ्यांकको खोजी गरी सरकारले सम्बन्धित देशसँग वार्ता गरेर तिनलाई फिर्ता बोलाउने, तिनलाई क्षतिपूर्ति दिलाउने र आफ्ना नागरिकहरूलाई नेपाल सरकारलाई जानकारी नदिई यसरी आफ्नो देशको सेनामा भर्ना नगर्न ती देशहरूलाई निर्देशन दिने जस्ता विषयमा नेपाल सरकार पछि पर्नु हुँदैन ।
भन्न त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसका लागि आफू प्रयासरत भएको बताउनुभएको छ तर यस्तो प्रयास गर्न ढिलो भइसकेको छ । यो यस्तो संवेदनशील विषय हो जुन जति ढिलो ग¥यो त्यति नै यसको परिणाम नराम्रो आउने गर्छ । युद्ध हो दिनदिनै मानिस मारिने नै भए । त्यसमा नेपालीहरू चाहिँ पर्दैनन् भन्ने छैन । सम्पर्कविहीन भनिएका २७२ जनाको अज्ञात स्थिति पनि मन कुँढिने खालको छ । कहाँ गए होलान् त त्यत्तिको संख्याका नेपालीहरू ? अझै तथ्य फेला नपरेकाहरू कति होलान् । त्यहाँबाट भागेर पनि केही नेपाली फर्किएका छन् र तिनले दिएको जानकारी अनुसार रूसी सेनामा भनिएभन्दा धेरै नेपाली रहेका छन् ।
तिनलाई जतिसक्दो छिटो फिर्ता ल्याउनुपर्ने आवश्यकता छ । आफ्ना देशका नागरिकहरूको संरक्षण र सुरक्षा गर्ने दायित्व सरकारकै हो भलै तिनीहरू आफूखुसी अवैधानिक रूपमै रूसी सेनामा गएका होलान् । तिनको ज्यान बचाउन सरकार लाग्नुपर्छ र त्यसका लागि तदारुकता अपनाइ हाल्नुपर्छ नत्र अझै बढी नेपाली नागरिकहरूले ज्यान गुमाउनुपर्नेछ । सहकारी पीडितहरूले सरकारसँग सहयोगको याचना गर्दा ‘दिने बेलामा हामीलाई सोधेको हो र ?’ भन्ने जवाफ दिएजस्तो यस विषयमा ‘जाने बेलामा सरकारलाई सोधेको हो र ?’ भन्ने सरकारको जवाफ आयो भने त्यो ज्यादै अप्रिय र आलोच्य मानिनेछ । किनकि यो मानिसको ज्यानसँग सम्बन्धित छ धनसँग होइन । त्यसैले सरकार आजैबाट ती नेपालीहरूको उद्दारमा लागिहाल्नुपर्ने आवश्यकता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच