बर्दघाटको सहिद पार्कमा स्रस्टाहरुको जमघट

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट १० मा रहेको सहिद स्मृति पार्कमा सस्टाहरुको जमघट भएको छ ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सस्टाहरु जमघट गरेको हो । प्रज्ञाले तीन दिने साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सव गर्दै बर्दघाटका प्रमुख पर्यटकीय क्षेत्रहरुमा स्रस्टाहरुलाई स्थलगत अवलोकन गराएको छ ।

तीन दिनको महोत्सवमा आउनु भएका अधिकांश साहित्यकारहरुले प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको यो महोत्सवबाट अनुभव र दृष्टीकोणको आदानप्रदान भएको बताए । साहित्यकार हुमानाथ आचार्यले प्रज्ञाको महोत्सवबाट बर्दघाटका प्रकृतिको सुन्दरता, इतिहास र पुरातात्त्विक र भाबी सम्भावना बोकेका क्षेत्रहरुको अवलोकनको अवसर मिलेको बताउनु भयो । उहाँले कवितामार्फत पर्यटन क्षेत्रको बिकास गर्ने सकिने बताउदै कविता मन्च कविता र वास्तविक कविता गरि दुइ थरी कविता रहने उल्लेख गर्नु भयो । उहाँले भन्नुभयाे, 'भाषाका माध्यामबाट तात्कालिक मनोरञ्जन मात्रै नगरी दीर्घकालीन सकारात्मक परिणाम दिन सकिने खालका रचनाहरुमा समय दिनु पर्छ । बर्दघाटका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा रचनाहरुले रचनात्मक भुमिकासहित प्रचारप्रसार गर्ने सकिन्छ ।' रचनामा संबेदना हुन पर्ने र नेपाली भाषाको स्पर्षले संबेदना दिन सक्नु पर्ने आचार्यको भनाइ छ ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले साहित्यमार्फत बर्दघाटलाई चिनारी बनाउन सहयोग गरेको बताउनु भयो । गत बर्ष लुम्बिनी प्रदेश स्तरीय कविता बाचन गर्ने र अहिले प्रज्ञाले महोत्सव मार्फत साहित्यिक गतिविधिबाट चिनारी बटुल्न सफल भएको बताउनु भयो । स्रस्टाहरुलाई शहिद स्मृति पार्कमा स्वागत गर्दै उहाँले नगरको भाषा, कला साहित्य र संस्कृतिको संरक्षण गर्न प्रज्ञाले ठुलो भुमिका खेलेको उल्लेख गर्नुभयो ।

नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले मानव बंशको विकास र बिस्तारमा साहित्यले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । साहित्यले बिचार बहसको सिर्जना गर्दछ । बैचारिक बहसबाट निष्कर्ष आउने उल्लेख गर्दै उहाँले बर्दघाटको पर्यटन विकासमा स्रस्टाले दिएको निष्कर्षलाई अगाडी सारेर अघिबढ्ने बताउनु भयो ।

स्रस्टाहरुले सबैलाई सम्मान गर्दै सम्मानजनक ब्यवहार वृद्धि गर्ने साहित्यले सहयोग गर्न सक्ने धारण राखेका छन् ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले कवितालाई परिभाषामा बाध्न नसकिने बताउनु भयो । 'कविता त्यस्तो हो जुन सपाट हुदैन । जसलाई कुनै न कुनै कुरा भन्नका लागि एउटा ढंगले भन्नु पर्नेमा अर्कै ढंगले प्रस्तुत गरिन्छ', न्यौपानेले भन्नुभयो । 'सबै प्रतिक बिम्ब हुन् सबै बिम्ब प्रतिक होइन्',न्यौपानेले भन्नुभयो,  त्यसैले रचनामा बिम्ब र प्रतिक मिलाउन सके उत्कृष्ट रचना हुने गर्दछ ।

महोत्सवको दोस्रो दिन २३ गते सन्सारकोट, बिहारी गुफा, सहिद स्मृति पार्क र बाउन्नघोला सिमसार क्षेत्रमा स्थलगत अवलोकन र रचनावाचन गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौड्यालले जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?