![ह्युस्टन हुरिकेन्सविरुद्ध नेपालको संघर्षपूर्ण जित](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/nepal-cricket.jpg)
✍️ म्यामराज राई
पेशाले फोटो व्यवसायी कथाकार डीआरको पहिलो कथासङ्ग्रह खोक्पा हो । यद्यपि डीआरराई भन्ने नाम गीत, कला, साहित्य क्षेत्रमा अपरिचित नाम भने होइन । उनी साठीको दशकदेखि नियात्रा, उपन्यासलगायत विभिन्न आख्यान कृतिहरू गरी आधा दर्जनभन्दा बढी कृतिका मालिक हुन् । प्रकाशित भएका कृतिहरूमा नयाँ मोडहरू २०६३, कान्तिपुरदेखि सन्दकपुरसम्म २०६६, आत्मभाव २०७२, तिलस्मी २०७५, सेन्टोसा २०७७, समयको डोब २०७७, खोक्पा २०८० र सातवटा गीतिएल्बम आदि छन् । यसर्थ उनी बहुमुखी प्रतिभाका धनी हुन् । खोक्पा कथासङ्ग्र्रह पेज टर्नर प्रालिबाट प्रकाशित कृति हो । यस कृतिको बाहिरी आवरण प्रतीकात्मक चित्र रङ्गीनमा छ । खोक्पासँग सान्दर्भिक पनि छ ।
झट्ट हेर्दामात्रै पनि बडो गम्भिर बनाउँछ । गाताको एकातर्फ चित्रको माथिल्लो भागमा कृति र कृतिकारको नाम छ भने पछाडिको भागमा प्रकाशकीयमा खोक्पा सर्जकसँगै खोक्पा कृति बारे छोटकरीमा लेखिएको छ । पहिलो गाताको भित्री पृष्ठमा सादामा बाहिरी आवरण जस्ताको तस्तै राखिएको छ भने तेस्रो पृष्ठमा प्रकाशकको नाम छ । पछाडिको गाताको भित्री पृष्ठमा डीआरद्वारा लिखित कृतिहरूको नाम उल्लेख छ । पछाडिबाट तेस्रो पृष्ठमा कथाकारको तस्वीर सादामा राखिएको छ । अलिखित पृष्ठ एकदेखि आठसम्म चिनारी, समर्पणमा स्वर्गीय मातापिताको तस्बिर, प्रस्तावना र कथाक्रम समावेश गरिएको छ । कथाहरू पृष्ठ नौदेखि १७५ सम्ममा छन् । यस कृतिको मूल्य व्यक्तिगत रु.४००, संस्थागत रु.१,००० र विदेश बिक्रीमा १० डलर राखिएको छ । आवरण चित्र डीआर सिर्जना संसारबाट बनाइएको छ ।
खोक्पा कथासङ्ग्रहमा ११ वटा कथाहरू सङ्ग्रहित छन् । यसमा रहेका कथाको विषयवस्तु सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, पारिवारिक, सांस्कृतिक, धार्मिक, मनोवैज्ञानिक, राष्ट्रप्रेम, व्यावहारिक ज्ञान आदि रहेको देखिन्छ । यसरी विविध विषयलाई समेट्न सक्नु यसको राम्रो पक्ष हो ।
खोक्पा कथासङ्ग्रह कथाप्रति चासो, जिज्ञासा र रुचि राख्नेका लागि सिङ्गो कथा क्षेत्रमा एक कोसे ढुङ्गो साबित हुन सक्दछ । यस कथासङ्ग्रहमा विविध विषयहरू समावेश भएका छन् । मेरो दृष्टिबाट जे देखिन्छ, सोहीअनुसार समीक्षा गर्ने कोशिस गरेको छु ‘बूढो रूख’ शीर्षकको कथा प्राकृतिक र अकाट्य घटनालाई बिम्बको प्रयोग गरी कथिएको कथा हो । प्रकृति र मानव जीवनचक्रको परिदृश्य खिचिएको छ । बिम्बमा रूख छ । मान्छे शिशुको रूपमा जन्मेर बालक, किशोर, युवा अधबैँसे हुँदै बूढो हुन्छ । समयको डोरीमा बाटिँदै शाखासन्तान सबै लाखापाखा लाग्छन् । समयसँगै बाँचेका सन्तानले ज्येष्ठ नागरिक उमेरकालाई आफूसित बसाउन खोजे पनि प्रकृतिसँग बस्न बानी परेकाले कृत्रिमतामा नरमाउने कथामा दाबी गरिएको छ । वास्तविकता पनि त्यही हो नै ।
पितापुर्खादेखि बसिआएको आफ्नो थातथलो छोड्न तिनीहरूको मन मान्दैन । अन्तत बुढो शरीर एक्लो हुनपुग्छ । त्यही शरीर जवान हुँदाताका रोपिएको रूख पनि समय बितेसँगै एक्लिएको हुन्छ । निष्प्राण भएको रुख नजिकको साथी बनाउने जगन्नाथ वृद्ध पात्रको कथन बडो मर्मस्पर्शी लाग्छ । सिउरिराखे प्वाँख पनि काम लाग्छ भनेजस्तै खोक्पा भइसकेको रुख त्यही जगन्नाथको अन्त्येष्टिमा काम लाग्यो । ‘नयाँ बाकस’ कथामा जन्मपश्चात् मृत्यु शाश्वत सत्य हो भन्ने कथासार छ । कथाको समापनमा बालअबोधता देखिन्छ । बाल मनोविज्ञानमा आधारित रहेर कथाकारले चलाखीपूर्ण कथालाई अन्त्य गरेका छन् । युवा पुस्तामा इच्छाशक्ति भयो र पाखुरी चलायो भने आफ्नो लागि त छंदैछ, सिङ्गो देशको नाम रोसन गर्नसक्छन् भन्ने उदाहरण पेश भएका कथाहरू हुन् ‘पुच्का’ र ‘परिवर्तन’ ।
यी दुईमा कथागत विषयवस्तु, पात्र र परिवेश अलग भए पनि दुवैले दिन खोजेको सकारात्मक सन्देश युवातर्फ लक्ष्यित छ । नेपाली समाजका लागि एउटै समयको अग्रगामी दिशामा बगेका छन् । अपरिपक्व निर्णयको परिणाम निकै डरलाग्दो हुन्छ भन्ने विषय छ, परिणाम शीर्षकको कथामा । गलत परिणामले करोडदेखि रोडमा पुग्न कति पनि समय नलाग्ने देखिन्छ ।
त्यस्तै गरी ‘रवि’ शीर्षकको कथामा अवसरको बल्छी थापेर बस्ने जाली, फटाहाहरूले सोझासाझा व्यक्तिलाई कसरी सजिलै फसाउँछन्, भन्ने कथा उतारिएको छ । विशेषगरी नारी वर्गलाई हुने खानेले सजिलै जालमा पार्छन् र प्रयोगपश्चात् बाटोमा फाल्छन् । आजको पुस्तामा प्रविधिको प्रयोग बढेसँगै यस किसिमका घट्नाहरू बढेको प्रशस्त भेटिन्छन् । पक्कै पनि यस कथाबाट शिक्षा लिन सकिन्छ । रगतको नाताभन्दा भावनाको नाता नजिक र प्यारो हुन्छ । जीवनयापन गर्न सहज हुन्छ- यही हो ‘हराएको नाता’ को कथासार । हुन त विकसित देशहरूमा वृद्धाश्रममा बस्नु सामान्य मान्छन् । उस्तै उमेरका साथीसङ्गतीबीच भेट हुने भएकोले त्यहाँका वृद्धवृद्धाहरू खुसी मान्छन् । नेपाली समाजमा भने नकारात्मक रूपमा लिने चलन छ । आफ्ना सन्तानबाट हेलाहोचा भएकालाई मात्र वृद्धाश्रम पुग्छ भन्ने सोचाइ छ ।
हुने खानेलाई सही सुझाव दिने व्यक्ति पायो भने समाजको लागि योगदान दिन तत्पर हुन्छन् भन्ने सारमा गाड्धन शीर्षकको कथा छ । यस कथाबाट समाज र राष्ट्रका लागि सकेको दान गर्न प्रेरणा मिल्छ । ‘लाहुरेको निशानी’ख ले एकतामा शक्ति हुन्छ भनेर सन्देश दिएको छ । आफ्नो गाउँ आफैँ बनाऔँ भनी लागिपरेका लाहुरेहरू समाजसेवी बनेका छन् । यो सामाजिक कथा उत्कृष्ट कथाको लहरमा देखिन्छ । ‘सर्प पनि मर्ने, लट्ठी पनि नभाँचिने’ भन्ने उखान चरितार्थ भएको छ-‘मायाको चिनो’ मा । पारिवारिक मिलनको सुन्दर कथा । ‘लङ्गडो साथी’ मा साथी अर्थात् घोडाको भूमिका असाध्यै उत्कृष्ट देखिन्छ । साथी घोडा नभएर मान्छे भएको भए उहिले कर्णलाई लात मारेर हिँड्थ्यो होला । यसरी मानवेतर पात्रमार्फत मानवीय वैगुनी चरित्रलाई कथाकारले व्यङ्गय गरेका छन् ।
खोक्पा कथासङ्ग्रहमा ११ वटा कथाहरू सङ्गृहीत छन् । यसमा रहेका कथाको विषयवस्तु सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, पारिवारिक, सांस्कृतिक, धार्मिक, मनोवैज्ञानिक, राष्ट्रप्रेम, व्यावहारिक ज्ञान आदि रहेको देखिन्छ । यसरी विविध विषयलाई समेट्न सक्नु यसको राम्रो पक्ष हो । प्रयोग भएको परिवेशमा गाउँ र शहर सँगसँगै अन्तर्राष्ट्रिय स्थानहरू समेत छन् । भाषा सरल र बोधगम्य रहेको छ । पात्र चयन समय सापेक्ष विषयवस्तु अनुसार चयन भएको छ । सामान्य चलनचल्तीअनुसार पुस्तकको नाम भएको कुनै एउटा कथाको नामसमेत जुराएको भए सुनमा सुगन्ध हुने थियो । यद्यपि प्रायः शीर्षकले आफ्नो अस्तित्व र कथाको धर्म निर्वाह गरेका छन् । केही कथामा कमभन्दा कम पात्रको प्रयोग देखिन्छ । जे होस्, खोक्पा कथासङ्ग्र्रह पठनीय छ । नेपाली समाजमा आजको पुस्ताले भोगिरहेको समय खिच्न कथाकार सफल छन् ।
हतुवागढी हाल जापान ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच