पाँच बर्षसम्म संचालन भएन शितभण्डार, उद्घाटन नहुदै बिग्रिए उपकरण

नन्दराम जैशी
Read Time = 10 mins

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले कृषि हाटबजारमा स्थापना भएको शित भण्डार संचालनमा सकस परेको छ । सरकारी तवरबाट वीरेन्द्रनगर बजारभित्र निर्माण भएको एक मात्रै बुलबुले शित भण्डार संचालनमा आउने अपेक्षा गरिएको थियो ।

तर यो शित भण्डार उद्घाटन पनि नहुँदै यहाँका उपकरण बिग्रिएका छन् । निर्माण भएको पाँचवर्ष पुग्दासमेत सञ्चालन त परै जावस उद्घाटनसम्म हुननसक्दा भौतिक संरचना जिर्ण बन्दै गएका हन् । हाल शित भण्डारमा रहेका मेसिनहरु नचल्ने अवस्थामा छन् । राज्यको करोडौं लगानी खेर जाने अवस्था आएको छ ।

निर्माण सम्पन्न भएपछि यो शित भण्डार सञ्चालनमा ल्याउने प्रयास भएको थियो । तर सञ्चालनको जिम्मा पाएको जिल्ला सहकारी संघ सुर्खेतको नेतृत्वको कमजोरीले शित भण्डार ओझेलमा परेको हो । गत बर्ष सहकारी संघले परिक्षणका लागि स्याउ, कागती, आलु लगाएतका तरकारी, फलफुल तथा मसलाजन्य वस्तु भण्डारण गरेको थियो ।

तर पहिलो पटक अक्सिजन फाल्ने मेसिन बिनै भण्डारण गरिएका वस्तु कुहिएपछि व्यापारीहरुले ठुलो घाटा बेहोर्नु परेको थियो । हाल बिद्युत लगायतका कारण देखाउँदै यो शित भण्डार पूर्णरुपमा बन्द छ ।

आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ७५ लाख लागतमा बनेको यो शित भण्डार दुई सय मेक्ट्रिन क्षमताको हो । प्रदेश सरकारको एक करोड, वीरेन्द्रनगर नगरपालिकाको २५ लाख र जिल्ला सहकारी संघ सुर्खेतको ५० लाख लगानी रहेको यो शित भण्डारमाथि अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले पनि अनुसन्धान गरीरहेको छ ।

भौतिक रुपमा तयार यो शित भण्डारमा हावाको चाप मिलाउने, च्याम्बरभित्र पानी सप्लाई गर्ने लगायतका मेसिनहरु जडान भएका छैनन् । शित भण्डार सञ्चालनका लागि मेसिन खरिद तथा मर्मतका लागि अझै १५ लाख बढि रकम आवश्यक पर्ने सहकारी संघले जनाएको छ ।

आवश्यक ज्ञान बिनै शित भण्डार निर्माण गर्दा समस्या उत्पन्न भएको जिल्ला सहरकारी संघ सुर्खेतका व्यवस्थापक ढाकाराम न्यौपाने बताउँछन् । उहाँकाअनुसार विद्युत भोल्टेज नपुग्नु, विजुलीको बिलमहंगो पर्नु, थप्नु पर्ने मेसिन र मर्मतका लागि आवश्क बजेट व्यवस्थापन नहुनुलगाएत समस्याले शित भण्डार संचालन गर्न सकस परेको हो ।

उहाँले भन्नुभयोे ‘शित भण्डारमा प्रयोग हुने सामग्रीका बारेमा सामान्य ज्ञानसमेत नहुँदा मर्मत सम्भार र संचालनमा समस्या आएको हो ।’

समस्या आउनुमा आरोपप्रत्यारोप

बुलबुले शित भण्डारको चार कोठा मध्ये दुई कोठमा अक्सिजन फाल्ने मेसिन जडान हुन बाँकी नै छ । बुलबुले तरकारी हाटबजार विशेष गरी वीरेन्द्रनगरको प्रमुख तरकारी तथा फलफुल बिक्रिहुने स्थान भएकै कारण व्यवसायी तथा कृषकलाई मध्यनजर गरी शित भण्डार निर्माण गरिएको थियो । तर हाल यो शित भण्डार सञ्चालनमा बुलबुले तरकारी हाटबजारभित्रकै व्यापारीहरुले असहयोग गरेको सहकारी संघको आरोप छ ।

बुलबुले कृषि हाट बजारमा सात जना व्यवसायीले नीजि लगानीमा शित भण्डार सञ्चालन गर्दै आएका छन् । जसले गर्दा पनि सरकारी लगानीको शित भण्डार ओझेलमा परेको छ । तर व्यापारीहरु भने यो शित भण्डार मापदण्ड अनुसार संचालन नभएका कारण वस्तु भण्डारण गर्न उपयुक्त नभएको दावी गर्छन् ।

‘गत बर्ष मैले मात्रै ४० लाखको स्याउ यो शित भण्डारमा राखेको थिए । तर ११ लाख बराबरको मेरो स्याउ कुहियो । एक लाख ४० हजार भाडा तिरे’ व्यापारी विशेस धितालले भन्नुभयो, ‘यसरी अव्यवस्थित यो शित भण्डारमा व्यापारीले घाटा खानलाई किन वस्तु राख्ने ? सहकारी संघले यो शित भण्डार चलाउन सक्दैन । तर बुलबुले कृषि बजारलाई हस्तान्त्रण गर्न आवश्यक देखिन्छ ।’

यो शित भण्डार संचालनमा ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । तर प्राविधिक कारणवस संचालनमा आउन सकेको छैन । यस शित भण्डार निर्माणको क्रममा कृषि विकास निर्देशनालय सुर्खेतले पनि सहयोग गरेको थियो । ‘हामीले शित भण्डार यथाशिघ्र संचालन होस् भनेर भित्रको र्‍याक र बाहिरको एक कोठा बनाइदिएका हौं’ निर्देशक चित्र बहादुर रोकायले भन्नुभयो, ‘भित्रका प्राविधिक समस्याका कारण यस्ता सबै शित भण्डार प्रयोगमा ल्याउन सकस परेको देखिन्छ ।’

बुलबुले कृषि बजजार भित्रको यो शित भण्डार जिल्ला सहकारी संघको भेलाबाट निर्णय गरी संचालनमा ल्याउने वा सहकारी संघले नेतृत्वगर्न नसक्ने भए समयमै अन्य निकायलाई हस्तान्त्रण गर्न जरुरी छ । अलपत्र शित भण्डार संचालनपछि कर्णालीमा उत्पादित कृषिजन्यवस्तु भण्डारण तथा बजारीकरणमा सहजमात्रै हुनेछैन । किसानको जीवनस्तर समेत माथिउस्कने देखिन्छ ।

यता कर्णाली सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले शित भण्डारको निरिक्षण गरी प्राविधिक अध्ययनपछि सञ्चालन र व्यवस्थापनमा विशेष योजना बनाउने बताउनुहुन्छ । उहाँका अनुसार प्रयोगविहिन शित भण्डार संचालनका लागि अध्ययनपछि मन्त्रालयले थप सहयोग गर्नेछ ।

प्रदेश सरकारले मात्रै रुकुमपश्चिममा तीन, सुर्खेतमा तीन (एक निर्माणाधिन), दैलेखमा एक र जुम्लामा एक गरी आठ वटा शित भण्डार निर्माण गरेको छ । तर मुख्य विद्युतलगाएत अन्य प्राविधिक समस्याका कारण ति शित भण्डार संचालनमा छैनन् ।

निर्माण भएका शित भण्डारमा कर्णाली सरकारको ७० प्रतिशत र सहकारीको ३० प्रतिशत लगानी छ । प्रदेश सरकारले शित भण्डार सञ्चालन एवम् व्यवस्थापन कार्यविधि बिनै संचालनको जिम्मासोझै सहकारीलाई दिदाँ पनि थप समस्या भएको हो ।

कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवत्ता धन बहादुर कठायतले प्रदेशभर निर्माण भएका शित भण्डार राम्रोसँग संचालन नभएको पाइएपछि थप शित भण्डार बनाउने कार्यक्रम प्रदेश सरकारले रोकेको बताउनुभयो ।

उहाँका अनुसार हाल सुर्खेतको लाटिकोइलीमा निर्माणधिन अधुरो शित भण्डारको काम पुरा गर्न बजेट व्यवस्थापन गरिएको छ । सुर्खेतको भेरीगंगानगरपालिका-१० छिन्चुमा र गुर्भाकोट नगरपालिकामा बनेका शित भण्डार पनि प्रयोगविहिन छन् । यस्तै वीेरेन्द्रनगर-११ सुर्खेतको औद्योगिक क्षेत्र भित्र सुर्खेतका व्यापारीद्वारा निर्माण गर्ने भनिएको शित भण्डार जग निर्माणपछि अलपत्र छोडिएपछि अख्तियार आयोगले १६ जनाविरुद्ध भ्रष्टाचार कसुरमा विशेष अदाल काठमाडौंमा मुद्दा दायर गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?