अटेरी गर्ने मासु पसललाई कारबाही

रासस
Read Time = 4 mins

हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्ला र सिमकोट गाउँपालिकाको नेतृत्वमा सोमबार साँझ सिमकोट बजारमा सञ्चालित मासु पसलहरुको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा हुम्ला उद्योग बाणिज्य संघको नियम विपरीत सञ्चालित अटेरी गर्ने सातवटा वोइलर कुखुराका मासु पसल सञ्चालकलाई रु पाँच हजारका दरले कारवाही स्वरुप जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताउनुभयो ।

सदरमुकाममा १६ वटा वोइलर कुखुराका मासु पसल सञ्चालन हुँदै आएका छन् भने सातवटालाई कारबाही गरिएको हो । यस्तै सिमकोटमा रहेका चारवटा खसी मासु पसललाईसमेत दण्ड जरिवाना तोकिएको छ । खसीका मासु पसल व्यवसायी तथा चारवटै सञ्चालककलाई रु दश हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

सदरमुकाममा सञ्चालित मासु पसलेले हुम्ला उद्योग बाणिज्य संघले निर्धारण गरेको मूल्यसूची टाँस नगर्नुका साथै निर्धारण भएको मासुको मूल्य लागु नगर्दा उनीहरुलाई जरिवाना तोकिएको बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारीले बताउनुभयो । यस अघि उद्योग बाणिज्य संघ हुम्लाले गरेको मूल्य निर्धारणका लागि १५ दिने सूचना जारी गरेको थियो ।

बाणिज्य संघले जारी गरेको सूचनाको ती मासु पसल सञ्चालक वेवास्ता गरी आफ्नो मनोमानी ढंगले मासु विक्री गर्दा कारबारी स्वरुप जरिवाना गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । जरिवानाका साथै उनिहरुलाई मूल्य सूची टाँस र मुल्य कायम गर्न सुझावसमेत दिएको उद्योग बाणिज्य संघका अध्यक्ष भण्डारीले बताउनुभयो ।

यस्तै व्यवसायीले उपभोक्तालाई ठगेको वा उद्योग बाणिज्य संघले निर्धारण गरेको मूल्यमा विक्री नगरेको पाइएमा उपभोक्ताले तत्काल जिल्ला प्रहरी कार्यालयको एक सयमा फोन गरेर जानकारी दिन उहाँले बताउनुभयो । उपभोक्ता स्वयम ठगिएमा सयमा फोन गरेपछि प्रहरी त्यहाँ पुगेर कारबाही गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

बजार अनुमगनमा सिमकोट गाउँपालिका कार्यावाहक अध्यक्ष तथा उपाध्यक्ष शुसिला रोकाया (भाम), प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, सिमकोट गाउँपालिका लेखा प्रमुख विशाल बोहरा, पशु शाखाका विष्णु बुमी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, स्वास्थ्य शाख प्रमुख नर बहादुर भण्डारीलगायत विभिन्न सरोकारवाला निकायाको सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?