मकैमा फौजी किरा र फलफूलमा औंसाको प्रकोप

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । लामो समयको खडेरी र त्यसपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको मकै खेती र फलफूलमा रोग तथा किराको प्रकोप देखिएको छ ।

खडेरीका कारण यस वर्ष गहुँ उत्पादनमा कमी आएपछि चिन्तित बनेका किसान मकै छर्ने समयमा पनि पानी नपरेका कारण मकै उत्पादन हुने सबै ठाउँमा खेती गर्न सकेका छैनन् । खडेरीमा छरेको मकै पानी परेपछि निकै ढिलो गरी उम्रेका र ती विरुवामा पनि डडुवा रोगको प्रकोप देखिएपछि किसानहरु थप चिन्तित बनेका मालिका ६ का किसान विरबहादुर विश्वकर्माले बताउनुभयो ।

मकै बालीमा मात्रै होइन फलफूल र कोसेबालीमा समेतऔंसा र रोगको प्रकोप देखिएको किसानले बताएका छन् ।

जिल्लाको मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकालगाएत बेनी नगरपालिकाका विभिन्न ठाउँहरुमा गरिएको मकै खेतीमा रोगको प्रकोप देखिएको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् ।

जिल्लाको मालिका गाउँपालिकाका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी किराको प्रकोप देखिएको मालिका गाउँपालिका-१ निस्कोटका कृषक तीर्थबहादुर पुनले बताउनुभयो ।

त्यसैगरी सुन्तला र केरा खेतीमा पनि प्रकोप देखिएको छ । फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारी भरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायतमा औँसा, घोगा लाग्न थालेका मकैमा फौजी किरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका कृषि प्राविधिकको भनाइ छ ।

प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । किसानले लगाएका काँक्रा र पाक्न लागेका आरु, आरुपखडामा पनि औँसा कीराको व्यापक सङ्क्रमण भेटिएको छ । मकैबालीमा अमेरिकन फौजी किरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कीराको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको कृषि प्राविधिकले बताएका छन् ।

कृषि ज्ञानकेन्द्रले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । यसैगरी गोलभेँडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेको मंगला गाउँपालिका-५ का किसान विक्रम सेनले बताउनुभयो ।

म्याग्दीमा किसानले लगाएको मकै बालीमा फौजी किराले क्षति पुर्‍याएको छ । जिल्लाको निस्कोट, रणबाङ, ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौर, रुम, देविस्थानलगायत क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढेको हो । घोगा हाल्न लागेका मकैका बोटमा फौजी किराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको मंगला गाउँपालिका-२ का किसान प्रताप सापकोटाले बताउनुभयो । उहाँका अनुसार विषादीले समेत फौजी किराको आक्रमण रोकिन सकेको छैन ।

बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायतका स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी किराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र किराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी व्यहोर्नुपरेको बताउनुभयो ।

फौजी किराको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराइँदै आएको उहाँले बताउनुभयो । यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकै बालीमा फौजी किराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी किराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।

प्रायः सुक्खा मौसममा देखिने फैजी किरा पछिल्लो समय वर्षा भइरहँदा पनिफौजी किराको आक्रमण बढेको कृषि प्राविधिक बताउँछन् । फौजी किराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्‍याउने कृषि प्राविधिक बताउँछन्

यसैगरी म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा डढुवा रोगका कारण बोट सुक्न थालेका छन् ।

जिल्लाको बेनी नगरपालिका-२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । त्यसैगरी डढुवा रोगका कारण आलुका बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?