✍️ अशोक मिश्र
कुनै समय थियो जुनबेला नेपाली विद्यार्थी परिवर्तनका संबाहक थिए । अहिले यो कुरा एकादेशको कथा जस्तो भएको छ । अहिले त विद्यार्थीलाई विद्यार्थी आन्दोलन र विद्यार्थी संठन पनि थाहा छैन । थाहा पनि किन होस् ? कक्षा १० पास गरेपछि के गर्ने, के पढ्ने, के पढ्दा भविष्य सुनिश्चित हुन्छ अथवा कुन देश जाने के पढ्ने, त्यो देश जाने प्रक्रिया के के हुन् जस्ता कुराले पिरोलिरहेको हुन्छ । त्यो हुनु पनि स्वभाविक हो । यो विश्वव्यापीकरणको प्रभाव मान्न सकिन्छ, महत्वपूर्ण कुरा त हाम्रो देशको परिस्थिति पनि हो । छुटाउनै नहुने कुरा त दिनैपिछे पशुपतिको मृगस्थलीमा राखिएका मृग जस्तो वा त्यही वरिपरि कुद्ने अलि अलि मान्छेले छरेको चारो लुच्छाचुडी गरेर खाने नेताको अनुहार र तिनीहरूको उपद्रो दिनैपिच्छे देख्नुपरेर, तिनीहरूको आश्वाशन सुन्न परेर पनि हो ।
यो विद्यार्थीहरूको मौन आन्दोलन पनि हो । विकल्प खोज्नुको विकल्प नै नरहेपछि विदेशिनुको अलावा देशमा विकल्प छैन । दलाली गर्नेको मात्र राम्रो भविष्य छ । उद्योगधन्दा कल-कारखाना स्थापनाको त देशमा सम्भावनै छैन । कृषिप्रधान देशमा उत्पादनको अवस्था हेर्ने हो भने दयनीय छ । २०७८ को कृषि गणनाको तथ्यांकलाई हेर्ने हो भने ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र १ लाख ३२ हजार परिवारले पशुपक्षीमात्र पालेको पाइन्छ जब कि २०७८ को जनगणना अनुसार देशको कुल परिवार संख्या ६६ लाख ६६ हजार ३७ छ । अघिल्लो गणनाको तथ्यांकभन्दा केही बढेको पाइए पनि सन्तोषजनक परिणाम देखिँदैन ।
निजी विद्यालयले विद्यार्थीसँग मनपरी पैसा असुलेर पढाएको पाइन्छ । सरकारी विद्यालयमा पढाउने शिक्षककै निजी विद्यालयमा लगानी हुन्छ । ती सरकारी विद्यालयका शिक्षक राजनीतिक पार्टीसँग आबद्ध हुन्छन् । पढाउनुभन्दा बढी विद्यालयमा राजनीति गर्छन् ।
बढ्दै गरेको कृषि परिवारलाई सरकारले प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने, तिनीहरूलाई अझ बढाउने कार्य गर्नुपर्ने, भूगोल र नेपालीको अवस्था हेरेर नीति बनाउनुपर्नेमा पनि सरकारको ध्यान देखिँदैन, यसमा विद्यार्थी संगठनको धारणा के छ ? आधुनिक कृषि प्रणालीमा हालका युवालाई जोड्न त्यस किसिमको पाठ्यक्रम विकास गर्न र व्यावहारिक रूपमा प्रयोग गर्नमा सरकारलाई दबाब सिर्जना गर्नमा विद्यार्थी आन्दोलन चुकिरहेको छ । भविष्यका कर्णधार भनिएका विद्यार्थी युवाहरू एकपछि अर्को गर्दै विदेश पलायन भइरहेका छन् । तिनीहरूलाई नेपालमै केही गर्ने वातावरण हुनुपर्ने हो त्यतातिर पनि सरकार मुकदर्शक बनेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो । यता सरकारले शिक्षामा आर्थिक वर्ष २०८०/०८१ लाई ९७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । यस आर्थिक वर्षमा शिक्षामा छुट्याइएको बजेट र ५ महिनामै पढ्न विदेशिएका विद्यार्थीले लगेको पैसाको अवस्थालाई तुलना गर्ने हो भने झण्डै उस्तै छ । यद्यपि अध्ययनको क्रममा विदेशिएका विद्यार्थीले लगेको पैसाको तथ्यांक पाँच महिनाको मात्र हो ।
यसै अनुपातमा विदेशिने पैसा बढ्ने हो भने पूरै आर्थिक वर्ष सकिँदासम्मको विदेशिने पैसा र यसै आर्थिक वर्षमा शिक्षा क्षेत्रमा विनियोजन गरिएको पैसा उस्तै हुन आउँछ । अझ विनियोजन गरे जति खर्च हुन सक्दैन । अतः शिक्षामा छुट्याइएको बजेट पनि आन्तरिक र बाहृय ऋणबाट बजेट निर्माण गरी विनियोजन गरिएको हो । यसरी देश खोक्रो बनिरहेको छ । देश जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यता देशभित्रका शैक्षिक क्षेत्र विद्यालय, विश्वविद्यालयभित्र माफियाको चलखेल अत्याधिक छ । निजी विद्यालयले त झन् छाता संगठन बनाएर नै ब्रहृमलुट गरिरहेका छन् । दलाली गर्नेहरूको संगठन मजबुत बनिरहेको छ । संगठनभित्र पनि दलाली गर्ने अवसरवादी यत्रतत्र छन् ।
निजी विद्यालयले विद्यार्थीसँग मनपरी पैसा असुलेर पढाएको पाइन्छ । सरकारी विद्यालयमा पढाउने शिक्षककै निजी विद्यालयमा लगानी हुन्छ । ती सरकारी विद्यालयका शिक्षक राजनीतिक पार्टीसँग आबद्ध हुन्छन् । पढाउनुभन्दा बढी विद्यालयमा राजनीति गर्छन् । सरकारले समयमा शैक्षिक संस्थामा पाठ्यपुस्तक पु¥याउन सक्तैन । सरकारी र सामुदायिक विद्यालयमा राजनीतिक भागबण्डामा नियुक्त भएका शिक्षकले न राम्रो पढाउँछन् न सरकारले नियमन गर्छ । यसरी विद्यार्थी र अविभावक विचलित बनेर आफ्ना छोराछोरीहरूलाई निजी विद्यालयमा भर्ना गर्न बाध्य हुन्छन् । अनि निजी विद्यालयको मोलमोलाई धन्दा सुरु हुन्छ । यहाँ अर्थशास्त्रको नियमलाई राख्न जरुरी छ ।
मूल्यको नियम अर्थात् माग बढ्दा मूल्य बढ्ने माग घट्दा मूल्य घट्ने यस्तै निजी विद्यालयको बाध्यकारी माग बढ्दा तिनीहरूमा पढ्दा लाग्ने खर्च बढेको छ । विद्यार्थी विचलित बनेको छ सरकारी विद्यालयमा भर्ना हुन मान्दैनन् शिक्षाको गुणस्तरलाई कारण देखाउँछन् अनि कारण देखाउँछन् राजनीतिभित्रको चरम अराजनीतिक क्रियाकलापलाई । विद्यार्थीले कक्षा आठ पास गर्दाबाटै विदेशिने सोच बनाउँछ अनि त्यतातर्फ लाग्छ । पढ्ने खेल्ने उमेरमा भविष्यको चिन्ता लिन थालेपछि विद्यार्थीको मानसिक स्वास्थ्य बिग्रिन्छ ।
यस्तो अवस्थामा विद्यार्थीको हक र हितका निम्ति भनेर स्थापना भएका विद्यार्थी संगठन कानमा तेल हालेर बसेका छन् । प्रक्रिया पूरा गर्न अथवा यसो देखाउनलाई भए पनि विज्ञप्ति बुझाएझै गर्छन् आन्दोलन गरेझैँ गर्छन् र प्रचारबाजी गर्छन् । प्रत्येक राजनीतिक पार्टी निकट विद्यार्थी संगठन छन् । तिनीहरूको काम नै पार्टीले उठ भने उठ्ने बस भने बस्ने भएको छ । यतिबेला विद्यार्थी आन्दोलन जाग्नुपर्ने हो । एकजुट भएर लड्नुपर्ने हो तर त्यसो भएको देखिँदैन । कुनै समय पञ्चायत फ्याक्न सक्ने ल्याकत राख्ने विद्यार्थी आन्दोलन आजका दिनसम्म आउँदा दलाल पुँजीपतिको चौघेरामा फस्न पुगेको छ । अनि दबिन्छन् आवाज उठ्न नपाउँदै यसरी विद्यार्थी आन्दोलनलाई दबाइएको छ । अर्को शब्दमा भन्नुपर्दा दबिएको छ ।
हिजो यिनै विद्यार्थी संगठन हुन् विद्यार्थीलाई सार्वजनिक यतायातमा ४५ प्रतिशत छुट गराउन आन्दोलन गर्ने । देशका प्रमुख परिवर्तनको आन्दोलनमा अग्रभागमा उभिएर काम गरेका विद्यार्थी संगठन आज कर्मकाण्डी कार्यमै व्यस्त छन् । न विद्यार्थीको समस्या थाहा छ न चासो नै राख्छन् । त्रिभुवन विश्वविद्यालय जस्तो देशकै ठूलो विश्वविद्यालयमा चरम राजनीतिक दलालीकरणको कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा छ । चार वर्षे कोर्सलाई सात वर्ष लगाएर पढ्नु परेको छ । न समयमा रिजल्ट हुन्छ न समयमा परीक्षा । यस्तो लथालिंग अवस्थामा रहेको विश्वविद्यालयमा स्ववियु पनि छ तर निकम्मा स्ववियु देखाउन आन्दोलन गरेजसो गर्छ र भित्रभित्रै मौन बस्छ ।
यस्तो अवस्थामा अन्य विद्यार्थी संगठन पनि चुपचाप छन् । भविष्यका कर्णधार भनिएका विद्यार्थी र विद्यार्थीका संगठन आज छैनन् भन्दा फरक नपर्ला । यी आफ्ना पार्टीका शीर्ष नेताका आसेपासे मात्र भएको देखिन्छ । विद्यार्थी संगठन शीर्षनेतामाथि कसैले केही भन्यो भने आन्दोलन गर्ने संगठन विद्यार्थीका तमाम समस्यामा मौन छन् । यी तमाम समस्या छन् तर समस्या छन् भनेर आतिनु हँुदैन । विद्यार्थी संगठनहरूले यस्तो समयमा एकजुट भएर विद्यार्थीका समस्यामाथि छलफल र त्यसको निष्कर्षतर्फ जोड दिनुपर्ने देखिन्छ ।
नेपालमा पढाइ हुने विषय नेपालको माटो सुहाउँदो नेपालको आवश्यकता अनुरूप बनाउनतर्फ विद्यार्थी आन्दोलनले बहस छेड्नुपर्ने देखिन्छ । उत्पादन र रोजगारीमा जोड्ने खालको शिक्षालाई व्यावहारिक रूपमा लागू गर्न विद्यार्थी आन्दोलन जाग्नुपर्ने देखिन्छ । माध्यमिक शिक्षा निःशुल्क र गुणस्तरयुक्त बनाउन अबको विद्यार्थी आन्दोलन केन्द्रित हुनपर्ने देखिन्छ । दिनानुदिन विदेशिरहेका विद्यार्थीको निम्ति छलफल बहस गरेर सकेसम्म देशमै बस्ने वातावरण निर्माणमा जोड दिनुपर्ने देखिन्छ । विदेशमा गएर पढिरहेका विद्यार्थी जो अध्ययन सकेपछि दक्ष जनशक्ति नेपालमा आएर स्थापित गराउने वातावरण निर्माणमा ध्यान दिन जरुरी देखिन्छ ।
विद्यार्थीले नै अग्रमोर्चामा लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था हामीसामु छ । उत्कृष्ट संविधान पनि हामीसामु छ तर कार्यान्वयन पक्ष फितलो भएका कारण जनता तथा विद्यार्थीहरूले समेत सास्ती पाएका छन् । यस्तो अवस्था देखेर पनि विद्यार्थी संगठनहरू टुलुटुलु हेरेर बसेका छन् ।
देशमा व्याप्त भ्रष्टाचार देख्दादेख्दै सुन्दासुन्दै युवामा निराशा पैदा भएको छ । आफूले मिहिनेत गरेर कमाएको पैसाले तिरेको करको दुरूपयोग हुँदा, त्यसबापतको सेवा सुविधा नपाउँदा आमजनतामा निराशा आउनु स्वाभाविक हो । यस्तो अवस्थामा परिवर्तनको मूलधार भनिएका विद्यार्थी संगठन मौन बसेका छन् । पञ्चायत कालीन अवस्थामा तात्कालीन राजनीतिक दलहरू प्रतिबन्धित रहेर जनताका सारा अधिकार कुण्ठित भएको बेला २०३५ सालमा पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएका कारण वा त्यसैको निहुँमा सडकमा उत्रिएको विद्यार्थी आन्दोलनले तत्कालीन पञ्चायत सरकारलाई घुँडा टेकाई जनमत संग्रह गर्न बाध्य पारेको थियो ।
बालिग मताधिकार प्रत्याभूति गराउन पञ्चायत सरकालाई बाध्य पारेको इतिहास हामीसामु छ । त्यस्तो देशलाई नै एउटा परिवर्तनको मोडमा पु¥याउने विद्यार्थी आन्दोलनले हाल त्यसैको ब्याजमात्र खाएको जस्तो देखिन्छ । विद्यार्थी आन्दोलन अहिले आएर निस्तेज हुँदा देश नै दलालहरूको साम्राज्य बनेको छ । यत्रतत्र तमाम समस्या हुँदा विद्यार्थी संगठनहरूले देशव्यापी बहस चलाउनुपर्ने हो । अतिरिक्त क्रियाकलाप गराएर विद्यार्थीलाई सचेत बनाउनुपर्ने हो । तर, त्यतातर्फ कुनै विद्यार्थी संगठनको ध्यान गएको देखिँदैन । विश्वव्यापीकरणले यहाँ नभए त्यहाँ भन्ने संस्कृति सिर्जना गरेकाले देशमा भन्दा विदेशमा जाने संस्कृतिको बढी विकास भएको हुनसक्छ ।
विद्यार्थीले नै अग्रमोर्चामा लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था हामीसामु छ । उत्कृष्ट संविधान पनि हामीसामु छ तर कार्यान्वयन पक्ष फितलो भएकाले जनता तथा विद्यार्थीहरूले समेत सास्ती पाएका छन् । यस्तो अवस्था देखेर पनि विद्यार्थी संगठनहरू टुलुटुलु हेरेर बसेका छन् । विदेश जाने विद्यार्थी त विदेश जान्छन् आफ्नो भविष्य सुनुश्चित गर्छन् । विदेश जान नपाएका वा नसकेका विद्यार्थीहरू मानसिक रूपमा प्रताडित हुँदै बेरोजगार बस्नुपर्ने अवस्था छ । देशमा रोजगारीका क्षेत्रजस्तै सरकारी क्षेत्र, संथान, गैरसरकारी क्षेत्रका लागि एकजनाको कोटामा हजारौंको संख्यामा भिडेको पाइन्छ । बेरोजगारी बढेको छ, विश्वविद्यालय खाली हुँदै गएका छन् । यस्तो बेलामा सचेत भनिएका भोलिको उज्याको भविष्य र कर्णधारका विद्यार्थी संगठनलाई यस विषयमा संगठित भएर लड्ने परिस्थितिको सिर्जना गर्न केले रोक्यो ?
किन मौन छ विद्यार्थी आन्दोलन ? निजी विद्यालयहरूको अथवा निजी क्षेत्रको पकेटमा कहिलेसम्म बस्ने विद्यार्थी आन्दोलन ? यदि परिवर्तन चाहने हो भने पर्वाह नगरी व्यापक रूपमा विद्यार्थी आन्दोलनलाई सतहमा ल्याउन जरुरी छ । बहस र छलफल गरी रणनीतिक योजना बनाई त्यसनुरूप कार्य गर्न जरुरी छ । संविधानमा लेखिएको समाजवाद जस्तो गरिमामय व्यवस्थालाई समाजमा ल्याउन र संस्थागत गर्न अबको विद्यार्थी आन्दोलन जरुरी छ । सार्वजनिक स्वार्थका निम्ति र विद्यार्थी वर्गको स्वार्थका निम्ति अबको आन्दोलन, बहस र व्यवहार त्यतातर्फ मोड्न जरुरी छ ।
विद्यार्थी परिवर्तनको संबाहक हुन्छन् भन्ने भनाइलाई व्यावहारिक रूपमा फेरि पनि पुष्टि गर्न जरुरी छ । हालको अवस्थाको गम्भीर चिन्तन मनन गरेर योजनाबद्ध ढंगले अबको विद्यार्थी आन्दोलनको कार्यक्रम बनाउन आवश्यक छ । सामाजिक सञ्जाल रंग्याउन, देखाउनका निमित्तमात्र गरेजसो गर्ने हो भने त्यस्तो भ्रमको खेती बन्द गर्दा फरक पर्दैन तर विद्यार्थीको गरिमालाई उच्च पार्न तत्कालीन समस्यासँग जुध्न विद्यार्थी संगठन तयार हुनपर्ने देखिन्छ । विद्यार्थी र समाजका सम्पूर्ण समस्याका समाधान खोज्नु नै विद्यार्थी आन्दोलनको मूल कर्तव्य हो । यो कर्तव्य हो भने हाल विद्यार्थी आन्दोलन कर्तव्यच्युत भएर मृत प्रायः बनेको छ । यस कुरालाई मध्यनजर गर्दै अबको विद्यार्थी आन्दोलनलाई सक्रिय गराउने बहस सतहमा ल्याउन जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच