
✍️ श्रीबाबु कार्की
महाराज !
सदियौँदेखि मैले
खाइरहेछु हजुरको लात
भन्नुस् न, अब कतिन्जेलसम्म चल्नेछ
मेरो छातीमाथि हजुरको क्रीडा ?
सामान्य दृष्टि लगाउँदा यो कवितांशले एउटा कालखण्डको केन्द्रीय प्रतिनिधित्व गर्छ । तर, गहिरिएर पढ्दा यो कविताले समाजको पिँधदेखि मौलिँदै गरेको वर्तमान छोटेराजा महाराजहरूको सिंगो चरित्र झट्कारिदिन्छ । अनपेक्षित रूपमा विभिन्न साशकहरूको उदयले नै यस्ता कविताहरू लेखिन्छन् । यसर्थ कवितालाई समाजको दर्पन भनिएको हुनुपर्छ । यो कविताले वर्तमानमा मौलिँदो छोटे–राजाहरूको प्रतिनिधित्व पनि राम्रैसँग गर्छ ।
विश्वप्रसिद्ध कवि वर्डस्वथका अनुसार ‘अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो ।’ कविसँग त्यो शक्ति हुन्छ जो अनुभूतिको जगमा पृथक चेतना निर्माण गर्छ । म कविताको सामथ्र्यसँग हमेसा कायल छु । कविताले संसार हल्लाउँछ । थोरै शब्दमा युगको आवाज बुलन्द पार्छ । कवितामाथि कहिले-कहीँ दुस्साहस पनि गर्नुपर्छ । आज म त्यही दुस्साहस गर्दैछु । समकालीन कविताका एकोत्कृष्ट हस्ताक्षर कवि छविरमण सिलवालको काव्यकृति अगाडि राखेको छु । नेपाली कवितामा पछिल्लो समय एक काव्य-कृतिको चर्चा चुलिँदै गएको छ- त्यो हो ‘डोरम्याट’ । कतिपय कविता पठनबाट पाठहरूमा पृथक अनुभूति हुन्छ । हृदयमा नूतन स्वाद र मस्तिष्कमा विशिष्ट सौन्दर्यानुभूति अनुभव हुन्छ-त्यही कविता पाठकीय छनौटमा पर्छ । म उनको शैली र शिल्पको मोहमा केही दिनदेखि तानिएको छु । र, उनको शिल्पमाथि कलम चलाउने दुस्साहस गर्दैछु ।
‘डोरम्याट’ भुइँमानिसहरू र सीमान्तकृतहरूको प्रतिनिधित्व गर्ने शक्तिशाली बिम्ब हो । यो नाम आफैँमा बृहत् अर्थबोध छ । कविले ‘डोरम्याट’ बिम्बमार्फत हेपिएका, थिचोमिचोमा परेका, वर्जित अनुहारहरूको आवाज लिएर आएको भान पुस्तकको शीर्ष नामबाट प्रष्ट हुन्छ ।
प्रारम्भिक रूपमा काव्यकृतिको नाउँमा म निक्कै आकर्षित भएको थिएँ । कवितासङ्ग्र्रहको नाम ‘डोरम्याट’ राख्नुले कविको जग र सामाजिक चिन्तनको गहिरो अर्थबोध हुन्छ । ‘डोरम्याट’ शब्द झट्ट सुन्दा अङ्ग्र्रेजी शब्द भए पनि ढोकामा राखिने खुट्टा पुछ्ने एक सामग्रीको रूपमा अर्थविन्यास हुन्छ । कवितामा ‘डोरम्याट’ हेपाहा र मिचाहा बिम्बका रूपमा उभ्याइएको छ । यस शीर्षकले सधैँ चुला-चौका पुग्नबाट वर्जित, शयनकक्ष, बारकक्ष, बैठककक्ष र बरण्डा लगायत कोठा-चोटामा बस्न निषेध गरिएका पात्रहरूको सन्दर्भलाई सङ्केत गर्छ । यो भुइँमानिसहरू र सीमान्तकृतहरूको प्रतिनिधित्व गर्ने शक्तिशाली बिम्ब हो । यो नाम आफैँमा बृहत् अर्थबोध छ । कविले ‘डोरम्याट’ बिम्बमार्फत हेपिएका, थिचोमिचोमा परेका, वर्जित अनुहारहरूको आवाज लिएर आएको भान पुस्तकको शीर्ष नामबाट प्रष्ट हुन्छ ।
सिलवाल सरल भाषामा सुन्दर कविता लेख्ने थोरै कविहरू मध्ये एक हुन् । मूलतः भुँईमानिसका आवाज बुलन्द गर्ने प्रतिनिधि कवि हुन् उनी । जीवनका अनुभूति नै मूलतः सिर्जनागर्भको आधार मानिन्छ । कविको मस्तिष्कमा रहेको संवेदनात्मक भाव, भावनाको द्वन्द्व, हार्दिकता, कल्पनाको उडान, अनुभूतिको सूक्ष्मता साथै भाषाको वैशिष्ट्यता नै कविताको मेरुदण्ड हुन् । कविताको खास सौन्दर्य जीवनानुभ नै हो । कविले आफू र आफू उभिएको समयको प्रतिबिम्बन गर्छन् । अतिशय कल्पना, क्लिष्टता र सस्तो धुमधमका सिलवालीय शैली होइन । शालीन शब्दचयन, मानवीय संवेदनशीलता, गहन चिन्तन र समसामयिकताको जगमा कवि तीब्र संवेदित भएको देखिन्छ । प्राञ्जल भाषा र सरल संरचनामा काव्यिक सुगन्ध भर्न सक्नु नै डोरम्याटको विशेषता बन्न पुगेको छ ।
डोरम्याटभित्रका कविताहरू नदी झैँ गतिशील छन् । यथास्थितिप्रति विमति राख्छन् । विषमताविहीन समाजको परिकल्पना गर्छन् र अनेकौं अतृप्ति अनि दिशाहीनता विरुद्ध हुंकार गर्छन् । कविता सुबोध्य र कथ्यपूर्ण छन् । सम्पे्रषणीय अभिव्यक्तिकलाका कुशल कवि छविरमण सिलवाल सरल तथा तार्किक भाषामार्फत आफ्नो आशयलाई कूतुहलमय निष्कर्षमा पुर्याउन निपुण छन् । मानिस र तिनीहरूले गर्ने सह-अस्तित्वमाथिको दादागिरीविरुद्ध लेखिएको ‘रूख’ कविता निक्कै सशक्त कविता हो । उनले यो कवितामार्फत मानवीय दुर्नियतमाथि दार्शनिक हतियार उठाएका छन् ।
रुख काटेर
धन जोड्नेहरूलाई ......
अन्तिममा खरानी बनाउनुपर्छ ।
‘डोरम्याट’ का हरेक कविता ढुङ्गाको कापबाट शिलाजित निसृत भएझैँ कविको मन-मस्तिष्कबाट काव्य निसृत भएको देखिन्छ । शाब्दिक कलात्मकता कविताको केन्द्रीय तत्व हो । कविता पढ्दा शब्द होइन, कविको शिल्प पक्ष सुन्दर होस् । कवितामा शब्द गौण लागोस् र मस्तिष्कलाई कविताको शिल्पकलाले रनन्न्न बनाओस् । प्रायः कवितामा बौद्धिक पाठकहरू हुन्छन् । पाठकलाई लाग्छ-कविताले एकपछि अर्को पढ्दा मस्तिष्कमा गहिरो नशा देओस् । साँच्चै अशली कविताको पाठकले अपेक्षा गर्ने कुरा ‘डोरम्याट’ भित्रका अधिकांश कविताले न्याय गरेको देखिन्छ । कवितामा संलाप्यता उनको निजत्व हो । सिलवालका हरेक कवितामा सामाजिक पात्र, प्रवृत्ति र परिवेशसँग गहिरो भावनात्मक सम्बन्ध रहेको देखिन्छ ।
कवि छविरमण सिलवाल परिपक्व साहित्यिक साधक हुन् । उनले लेख्ने हरेक सिर्जनामा गम्भीरता छ । साधना छ । चिन्तन छ र खँदिलो चैतन्यिक सौन्दर्य छ । त्यसैले उनका आफ्नै विशिष्ट पाठक छन् । प्रतिष्ठा छ र पहिचान छ । उनलाई शब्दको सस्तो दोकान थाप्नु छैन । उनी नेपाली कविता/निबन्ध र अखबारी लेखनका सिद्धहस्त स्रष्टा हुन् । गहिरो अध्येता हुन् । साहित्यिक अन्वेषक हुन् अनि काव्यका निर-अविछिन्न कर्मयोगी साधक हुन् ।
अहिले कतिपय कविताकर्म गरिरहेकाहरू हृदयमा-कुण्ठा, मनमा-अपराध, मस्तिष्कमा-पूर्वाग्रह र व्यवहारमा-कलुष भरेर कविता लेखिएका हुन्छन् । ती कविताहरू केही मानिस र गुटरीमा वाह-वाही पाइरहेका छन् तर सिलवालका कविताहरूमा कहिँ-कतै चर्को आक्रोश छैन । खोटपूर्ण पूर्वाग्रह छैन । अतिशय कुण्ठा र कसैप्रति दुरभावना छैन । यी कविताहरू शुद्ध आत्माबाट अभिगुञ्जित वैचारिक र शालीन द्रोह बोकेर आएका छन् । यो नै सिलवालीय साधनाको काव्यिक महक बनेको छ । वर्तमान राजनीति र नेतृत्वप्रति कवि यति क्षुब्द छन् कि यो कुरूप राजनीतिबाट वाक्कदिक्क छन् कवि । उनी हाम्रा टाउकामा निरन्तर गिर खेलिरहेकाहरू विरुद्ध शालीन क्रान्तिको परिकल्पना गर्न पुग्छन् ।
हरेक कविताले बहुल अर्थ निस्पत्ति गर्छन् । यी कविताहरू मानिस र मानिस इतरका संवेदनालाई मर्मस्पर्शी भावले छोइने भएर आएका छन् । उनका कविता सरल छन् तर चोटिला दर्शनले सिंचित छन् । हरेक कविता लोकतान्त्रिक चिन्तन र चरित्रले सु-सोभित छन् । वैश्विक चेत, सह-अस्तित्व र ‘वसुधैव कुटुम्बकम्’ को भाव सबै कवितामा प्रकट भएको पाइन्छ ।
म अहिले यी कविताहरू चाख मानेर पढिरहेको छु । सूक्ष्म विषयवस्तुलाई समातेर जीवनको गहिराई छाम्न सक्ने हैसियत यिनका कविताहरूमा छ । यिनी खास कवि हुन्, मानवीय संवेदनशीलता यिनका अक्षर–अक्षरमा छ । भुईंमानिसहरूले भोगेको कहालीलाग्दो अत्यास र उनीहरूले बाँचेको सामाजिक परिवेशको चित्रण उनको लेखनमा हेर्न सकिन्छ । जीवनको बोध छ । हामी र हामी उभिएको समय चियाउने शाब्दिक कोलाज हुन् यी कविताहरू ।
सिलवाल कवितामा दार्शनिक चेत भरपुर प्रयोग गर्न रुचाउँछन् । ‘आस्थाको भग्नावशेष’ कविता अमूर्त भावाव्यक्त भएको कविता हो । कवितामा मानिस र उनीहरूका अदृश्य सुख-दुःख टिपेर जीवन्त कविता लेख्न सजिलो छैन । कविता कुनै बुद्धिविलासको सोझो वर्णन होइन न त शब्दको जालझेल नै कविता हो । कवितामा बिम्बको स्वाद हुनुपर्छ, प्रतीक र उपमाको पाश्र्वछाया हुनुपर्छ, अलङ्कार, ध्वनि, लय, रीति, वक्रोक्तिजस्ता काव्याभूषणले सजिएको हुनुपर्छ ।
नेपाली कवितामा शिष्ट, शालीन र सम्यक् दृष्टिकोण राखेर आफ्ना कवितालाई कालजयी बनाउन सकिन्छ भन्ने धृष्टता कसैसँग छ भने त्यो सिलवालका कवितालाई रिफ्रेन्स दिन सकिन्छ । उनका कविताको दिगो मिठास भनेको साधारण र सूक्ष्म विषयमा पनि गहिरो चिन्तन, दार्शनिक चेत अनि कलात्मक संस्पर्श नै हो । ‘डोरम्याट’ काव्य-कृतिभित्रका अधिकांश कविता सुन्दर छन् । यद्यपि शीर्षक कविता ‘डोरम्याट’, ‘स्मृतिमा बा’, ‘मान्छे-मान्छे र मान्छेहरू’, ‘समय त्रासदी’, ‘एउटा युगपुरुषको खोजी’, ‘रूख’, ‘यो पृथ्वी कसको हो महाशय ?’, ‘अदृश्य ईश्वरको नाममा’, लगायत कविताहरू पुस्तकका शक्तिशाली कविताहरू हुन् ।
कविता आफैँमा गरुङ्गो विषय हो । कविता आख्यान/गैरआख्यान पढेजसरी पढ्न सकिँदैन । कविताको पठन धीमा गतिमा हुन्छ । शब्द–शब्दबाट झरिलो रसास्वादन गरिन्छ । ‘डोरम्याट’ कवितासङग्रह छरितो साइजमा आएको छ । आवरणसहित सय पृष्ठ रहेको ‘डोरम्याट’ भित्र उनका तीस थान सुन्दर कविताहरू सङ्गृहीत छन् । भुँडीपुराण प्रकाशन प्रकाशक रहेको यो पुस्तकको आवरणमा प्रसिद्ध गीतकार वसन्तराज अज्ञातको सुन्दर कलाले अझै सुन्दर बनेको छ । नेपाली साहित्यमा सबैभन्दा बढी प्रकाशित हुने काव्य-कृतिहरूमा ‘डोरम्याट’ को उपस्थिति गुणात्मक छ भन्ने कुरामा म ढुक्क छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच