✍️ विमल भौकाजी
कतिपय इतिहासहरू यत्तिकै मेटिएर जान्छन् । हुन पनि कुनै-कुनै इतिहासको ठूलो मूल्य हुँदैन पनि, रहँदैमा त्यसले खास अर्थ राख्दैन । तर, महत्वपूर्ण इतिहासहरूको अर्थ रहन्छ, तिनको ठूलो मूल्य हुन्छ । इतिहास लेख्ने हातहरूले त्यसको हेक्का राख्नुपर्छ । राज्यस्तरमा सरकारी तवरबाट लेखिनुपर्ने इतिहास त जसरी पनि लेखिन्छ नै । तर, निजी रूपका इतिहासहरूलाई राज्यले प्रायसः ध्यान दिएको पाइँदैन । त्यसैले त्यस्ता खालका इतिहासहरूलाई व्यक्ति-व्यक्तिले नै लेख्नुपर्ने हुन्छ ।
निजी खालका इतिहास पनि कुनै त राज्यस्तरको भन्दा पनि मूल्यवान् हुन्छ । खास गरेर देश निर्माणको क्रममा साहित्य-संस्कृति-कलाको क्षेत्रमा व्यक्तिहरूले निजी स्तरमा पुर्याएको योगदानको इतिहासहरू थुप्रै छन् र तिनलाई विभिन्न कालखण्डमा विभिन्न किसिमले लेखिएका छन्, लेखिँदै छन् । अझ कुरै गर्ने हो भने, झन् राजनीतिक इतिहासको त लेखाजोखै राख्न सकिँदैन । तर, यहाँ ती पक्षका नभई उद्योग-वाणिज्य क्षेत्रको सन्दर्भ जोड्न खोजिएको छ ।
यो पुस्तकलाई केवल घनश्याम राजकर्णिकारले आफ्नो पुर्खाको इतिहास भनेर आफ्ना स्मृतिहरूलाई लिपिबद्ध गरे पनि मूलतः यो नेपालमा पाउरोटी उद्योगको जग बसालिएको तथ्यमा आधारित देशकै महत्वपूर्ण दस्तावेज हो ।
नेपालमा व्यक्तिगत रूपबाट सामान्य सञ्चालन भएको व्यापार-व्यवसायले क्रमशः विस्तृत रूप लिँदै अन्ततः देशकै उद्योगको जग बसाउनमा ठूलो भूमिका खेलेको पाइन्छ । चाहे लत्ताकपडाको उत्पादन होस् या खाद्यवस्तुको होस्, अथवा निर्माण सामग्रीको होस् या पुस्तक प्रकाशनको नेपालको इतिहास हेर्ने हो भने त्यो इतिहास धेरै लामो नदेखिए पनि धेरै महत्वपूर्ण भने पक्कै देखिन्छ ।
‘सम्झनामा मेरा पुर्खा’ नामक पुस्तकले एउटा त्यस्तो उद्योगको इतिहास बताएको छ, जो बडो रोमाञ्चक छ । नियात्राकार घनश्याम राजकर्णिकारद्वारा लिखित यस पुस्तकमा पुस्तकको शीर्षक अनुरूप उनले आफ्ना पुर्खाको इतिहास बताएका छन् । उनका अनुसार-लेखकका जिजुबाजे गजराज जङ्गबहादुरको थापाथली दरबारमा मिठाई-रोटीहरू आपूर्ति गर्ने गर्थे । ठीक यही समयमा त्यही दरबारमा पालिएका जङ्गबहादुरका नाति वीर शमशेर दरबारमा अपहेलित भएका कारण गजराजका मिठाई पसलमा जिलेबी-स्वारी सित्तैमा खान आउने गर्थे । त्यसो त त्यहीँ पसलमा पनि उनले अपहेलना सहनुपथ्र्यो । तर, गजराज वीर शमशेरप्रति दयाभाव राख्थे र भन्ने गर्थे- उनलाई नहेप्नू, पछि यो ठूलो मान्छे हुन्छ, जे मागे पनि उनलाई खान दिनू !
संयोग ! उनै वीर शमशेर पछि शासनसत्ता सम्हाल्न पुगे र गजराजका छोरा हीरामानलाई निजी हलुवाइ नियुक्त गरे । यसरी, यो पुस्तकले यसरी आफ्नो पुर्खाको इतिहासको उत्खननको सुरुवात गरेको छ । जसबाट पुष्टि गरिएको छ- नेपालको पहिलो पाउरोटी उद्योगको आधारशीला लेखक राजकर्णिकारका पुर्खा हुन् । पुस्तक जम्मा ७ वटा अध्यायमा विभाजित छ । पहिलो अध्यायमा लेखकका जिजुबाजे गजराज, दोस्रो अध्यायमा हजुरबा हिरामान सिंह, तेस्रो अध्यायमा हजुरआमा लक्ष्मीकुमारी, चौथोमा बुबा कृष्णबहादुर, पाँचौंमा मावली बजै मानकुमारी, छैटौंमा बुबा कृष्णबहादुरको अर्को पाटो उजागर गर्दै नेपालमा पाउरोटी उद्योगका अग्रणीको रूप र सातौं अध्यायमा आमा प्राणमायाको व्यक्तित्वलाई समेटिएको छ ।
समष्टिमा, यो पुस्तकलाई केवल घनश्याम राजकर्णिकारले आफ्नो पुर्खाको इतिहास भनेर आफ्ना स्मृतिहरूलाई लिपिबद्ध गरे पनि मूलतः यो नेपालमा पाउरोटी उद्योगको जग बसालिएको तथ्यमा आधारित देशकै महत्वपूर्ण दस्तावेज हो । वीर शमशेरको निधनपछि वीरकै नेवार्नी रानीका तर्फबाट जन्मिएका छोरा तेजशमशेर आफ्नो लालदरबारमा मिठाईहरू आपूर्ति हिरामानबाटै गराउथेँ । हिरामानबाट खुशी भएर तेजशमशेरले उनलाई आफ्ना लुगाफाटा र अनेक बास्नाका अत्तरहरू दिने पनि गर्थे ।
यसबाट थाहा हुन्छ कि हिरामान तेजशमशेरका अत्यन्त प्रियपात्र थिए । कालान्तरमा, हिरामानलाई तेजले आफ्नै दरबारछेउ कमलपोखरीमा जग्गाजमीन दिएर राखे । हिरामानको रवाफ बढ्दो थियो । यतिसम्म कि आफ्नो ठाँटबाँटको बाटो भएर, आफू विवाहित हुँदाहुँदै पनि भक्तपुरकी कन्यासँग प्रेम गरेर उनलाई दोस्री पत्नीका रूपमा घर भित्र्याए । उनै पत्नी लक्ष्मीकुमारीबाट तीन सन्तान भए, जसमध्ये कान्छा सन्तान कृष्णबहादुर थिए । यसै क्रममा २००५ सालमा उनकै अग्रसरतामा ‘कृष्ण पाउरोटी भण्डार’ को स्थापना भयो ।
निजी व्यवसायको नराम्रो पक्ष भनेको घरायसी मनमुटाब हो, जसबाट कृष्ण पाउरोटी पनि अछूतो रहेन । त्यसैले, कृष्णबहादुरले पाउरोटी व्यवसायलाई चटक्कै छाडी ढुकुटीबाट १०/१२ लिएर आफ्नो कूलघर पाटनमा बस्न पुगे । त्यहीँ रहिरहेकै अवस्थामा १० महिना लगाएर एक बुद्धमन्दिर, आनन्द बुद्ध-प्रतिमा, धर्मधातु मण्डप र चैत्य निर्माण गरे । तत्पश्चात्, फेरि कमलपोखरी नै फर्किएर कृष्ण पाउरोटीको उत्थानका लागि सक्रिय बने । यसैबीच २०१५ सालदेखि उनलाई मुटुको व्यथाले छोयो र अन्ततः २०१६ साल माघमा उनको शरीरले यो लोकलाई त्याग्यो । यस अवधिलाई हेर्ने हो भने कृष्ण पाउरोटी स्थापनापछिको ११ वर्षको समय नेपालको पाउरोटी उद्योगको स्वर्णिम समय हो ।
२०२१ सालसम्म आइपुग्दा चारवटा नयाँ मेसिनहरूको भित्र्याइएसँगै कृष्ण पाउरोटीको उन्नतिले शिखर चुमिसकेको थियो । २०२२÷०२३ सालतिरबाट राजा महेन्द्रको दरबारमा समेत कृष्ण पाउरोटी जान थालेपछि बजारमा ‘राजाले खाने पाउरोटी’ को रूपमा यसले चर्चा पाउन थाल्यो र बजारीकरणमा व्यापकता छायो ।
त्यसो त त्यसअघिदेखि नै कृष्णबहादुर तेजशमशेरका छोरा इन्दुशमशेरसँग आबद्ध थिए । विसं २००० सालको सुरुवाती समयतिर जब जुद्धशमशेरले इन्दुशमशेरलाई बडाहाकिम बनाएर इलामतर्फ धपाइदिए उनीसँगै कृष्णबहादुर पनि हिँडे । त्यहाँ घटेको एउटा घटनामा कृष्णबहादुरको इमानदारीता बापत उनलाई तराईको ५० बिघा जमिन बक्सिस दिइयो तर षड्यन्त्रपूर्वक त्यसबाट उनलाई वञ्चित गराइयो । जसका कारण उनी विरक्तिएर कलकत्तातर्फ लागे । संयोग ! कलकत्तामा अवस्थित काली मन्दिरको भीडमा आफ्ना बाबुबाट छुट्टिएर चिच्याइरहेकी एउटी बच्चीलाई कृष्णबहादुरले सकुशल उद्धार गरिदिए । फलस्वरूप ती बाबुले कृष्णबहादुरको केही नौला कुरा सिक्ने इच्छाबमोजिम अङ्ग्रेजी रोटी-पाउरोटी बनाउने कौशल सिकाइदिए ।
यसरी, नेपालमा पाउरोटी उत्पादनका लागि पहिलो जग गाडिएको तथ्य यो पुस्तकले बताउँछ । त्यसो त, नयाँ उद्योग र त्यो चलाउन आवश्यक पर्ने औद्योगिक-प्राविधिक सरसामानका लागि आर्थिक अभाव कृष्णबहादुरको सामुन्ने थियो । यस्तैमा, आफ्नो माइतीबाट प्राप्त सबै गरगहना उनकी धर्मपत्नीले उनलाई सुम्पिदिएपछि त्यसलाई बन्धकी राखी समस्याको समाधान गरियो । जब पाउरोटीको उत्पादन शुरु भयो स्थापनाकालको पाउरोटीको मूल्य-२५ पैसा थियो ।
पाउरोटी उत्पादन सुरु भएपछिका चुनौतीहरूको कथा फेरि भिन्नै छन् । पाउरोटीप्रतिको नकारात्मक हल्ला र खास गरेर दाजुभाइसँग घरायसी झैझगडाका कारण कारखाना नै बन्द गर्नुपर्ने स्थितिबाट गुज्रँदै २०१६ सालमा नयाँ मेसिनको स्थापनापश्चात् भने उद्योगको स्तरोन्नति हुँदै उत्पादनमा पनि बढोत्तरी हुन पुग्यो । इतिहास भन्छ-विश्वेश्वरप्रसाद कोइरालाले दिएको उद्योग बन्द गर्न नहुने प्रोत्साहनबाट उत्साहित थिए कृष्णबहादुर । २०२१ सालसम्म आइपुग्दा चारवटा नयाँ मेसिनहरूको भित्र्याइएसँगै कृष्ण पाउरोटीको उन्नतिले शिखर चुमिसकेको थियो । २०२२÷०२३ सालतिरबाट राजा महेन्द्रको दरबारमा समेत कृष्ण पाउरोटी जान थालेपछि बजारमा ‘राजाले खाने पाउरोटी’ को रूपमा यसले चर्चा पाउन थाल्यो र बजारीकरणमा व्यापकता छायो ।
वर्तमान साक्षी छ, पुस्तकका लेखक घनश्यामका पुर्खाले स्थापना गरेको कृष्ण पाउरोटी उद्योग अनेक उतारचढाव बेहोरेर आजको स्थितिमा आइपुगेको छ । पुस्तकमा लेखिएको छ-‘पुर्खाको स्मरण गरेर उनीहरूको इतिहास जसले लेख्ने गर्दछ त्यो व्यक्ति नै साँचो अर्थमा राम्रो सन्तति कहलिन पुग्दछ ।’ लेखक यही सन्ततिमा दरिन पुगेका छन्, उनलाई बधाई ! bimalbhaukajee@hotmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच