![पुस्तक : इतिहासको ऐना](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Bimal-Bhaukaji-Article-Hita.jpg)
✍️ कलानिधि दाहाल
जेल विनाशगृह नभई सुधारगृह हो । त्यसमा हरेक खालका मानिसहरूको आगमन प्रत्यागमन हुन्छ । अनेकौँ स्वभावका मानिसको प्रवेश र निर्गमनस्थल हो जेल । अपराधी मन भएका मान्छे मात्र त्यहाँ पुग्छन् भन्ने सोच राख्नु प्रथम विश्वका मै हौँ भन्ने देशमा त सम्भव छैन भने तेस्रो विश्व त्यसमा पनि हाम्रोजस्तो आँखाका दृश्यमा मात्र विश्वास गर्ने, कानले सुनेका भरमा कसैलाई ठिङ्गुराउँने, रिस उठेका भरमा अभियोग लगाउँने, पैसा र नातावादका घिनौना स्वार्थमा कसैलाई पक्रने, अन्धपरम्पराका जामा भिरेर मान्छे समाउँने संवैधानिक कानुनी दायरा भएका परिवेशका सुरक्षाकर्मीले जेललाई सुधार नभई बिगारगृहका रूपमा प्रयोग गर्नु कुनै आश्चर्य होइन, मानिन्न र ठानिन्न पनि ।
यसै स्थितिबोधको सुझ्बुझ मनको एक छेउमा राखेर पुगेको मलाई कुनै पनि दृश्यात्मक घटनाहरू आश्चर्यलाग्दा थिएनन् र अस्वाभाविक पनि । ती पागल अभियुक्तहरू जसका कोठाम म छु । श्लील अश्लीलको सीमा छैन उनीहरूसँग । तथानाम जे मनले सोच्छ त्यही बोलेका छन्, जे मनले चाहन्छ त्यही गरेका छन् । मानवताका उच्च उचाइमा उक्लेर ठान्ने हो भने उनीहरू सहज छन्, सही छन् । प्राकृतिक छन्, निष्पाप छन् । पापी त यस कृत्रिम समाजका अन्ध परम्पराले बनाएको न हो ।
उद्याम मानवीय चेतनाका माथिल्ला खुड्किलामा उभिएर हेर्ने हो भने पागल भनेको नै यथार्थको प्रवक्ता हो । निस्वार्थको प्रतिमूर्ति हो । निस्कलङ्कको उज्यालो अनुहार हो । प्लेटोले कविलेखकको यस क्षणलाई उच्च उन्मादको क्षण भनेका छन् ।
उद्याम मानवीय चेतनाका माथिल्ला खुड्किलामा उभिएर हेर्ने हो भने पागल भनेको नै यथार्थको प्रवक्ता हो । निस्वार्थको प्रतिमूर्ति हो । निस्कलङ्कको उज्यालो अनुहार हो । प्लेटोले कविलेखकको यस क्षणलाई उच्च उन्मादको क्षण भनेका छन् । निर्भीक निर्णयको न्यायाधीश ठानेका छन् । राज्यव्यवस्था, सङ्कीर्ण सीमाका फोहोरी खेलभित्र घुम्ने भएकाले ससम्मान कविसाहित्यकारलाई माला लगाएर देश निकालासम्म गरे पनि । यस प्रसङ्गलाई राम्ररी बुझेर स्रष्टत्व विकास गर्ने कविसाहित्यकारका लागि देशको गीत गाउनु स्वार्थका राग अलाप्नु हो ।
सङ्कीर्णताका बन्धनभित्र बेरिएर निरर्थक तिनै थोत्रा ट्य्राक्टरमा चढ्दै भत्केको बाटोमा हाम्फाली आत्मरतिको उन्माद उफ्रनुमात्र हो । यस सीमाबाट हेर्दा स्वाभिमानका साथ गौरव गर्नलायक नेपाली साहित्यमा कति साहित्यकार होलान् ? प्रश्न अनुत्तरित छ । यस्ता भूपरिवेशमा रहेका पुलिस कस्टडी, जेल र स्वयं सुरक्षाकर्मीका निरीहावस्थालाई गाली गर्नु आफ्नो पनि अज्ञानता हो ।
बडो धैर्यधारण गरेर अलिकति पाइला राख्नेसम्मको ठाउँ भएको एक कुनामा म त्यो जङ्गलको टीठलाग्दो मृगको बच्चोजस्तो भएर बसेँ जो चारैतिरबाट भोका ब्वाँसाहरूका आक्रामक आवाज ट्वाल्ल परेर सुनिरहेको छ र दृश्य हेरिरहेको छ । म उनीहरूका हरेक कुराहरू सुने पनि नसुने पनि, बुझे पनि नबुझे पनि कतै हो को आवाजमा त कतै इसारामा उत्तरित हुँदै गएँ, भइरहेँ । केही हदसम्म मेरा लागि हनुमान ढोका प्रहरी प्रभागका चोटाकोठाहरू त्यति नयाँ थिएनन् । २०३०/०३१ सालतिर म निकै दिन होइन घण्टा त्यस भवनमा थुनिएको थिएँ–स्कुलका छजना साथीसँग पक्राउ परेर । त्यसमा पनि दुईजना त आफ्नै गाउँका आत्मीय मित्र थियौँ ।
पाकिस्तानको तानाशाही सैनिक शासन जो अद्यावधि त्यस्तै छ । प्रजातान्त्रिक परिवर्तनका केही रेखा कोर्ने योजनामा लागेको सङ्केत पाएरै होला त्यहाँको क्रूर शासकले निर्ममतापूर्वक जुल्फिकर अलि भुट्टोलाई फाँसीको तख्तामा लड्काएको निहुँ बनाएर निर्विकल्प तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध अभियानहरू उचालिएका थिए । गर्भमा लुकेको वास्तविकता यो थियो भने दृश्यरूपमा चाहिँ आन्तरिक कारण मागका रूपमा पसार्दै नेपालमा पनि आन्दोलनका ज्वाला जगाउने सङ्केत सर्वत्र देखा पर्दै थिए ।
हामी भानुमाध्यमिक विद्यालय रानीपोखरीको प्राङ्गणबाट निस्केर त्यस ब्यस्त सडकमा यसरी सुत्यौँ मानौँ जङ्गलबाट निस्केर हात्तीका जमातले सडकमा राज गरेका छन् । लगभग आधा घण्टाको अवरोधपछि साइरनको आवाज सुसेलिन लाग्यो मानौँ हामी वर्तमान युक्रेनका जेलेन्स्की हौँ । शक्तिको तुफान बोकेर तानाशाही पुटिन आउँदै छ हाम्रा छातीमा ट्याङ्करका लामा पाङ्ग्रा गुडाउन । हतप्रभ हामीहरू हतार हतार विद्यालय परिधिभित्र छि¥यौँ । सोच्यौँ हामी सुरक्षित छौँ । कारण कुनै पनि शैक्षिक संस्थाभित्र पसेर त्यसका प्रमुखले अनुमति नदिएसम्म पक्रन पाइँदैन ।
निरङ्कुशताका बेला र अहिलेको पुलिसवृत्त, पुलिसले गर्ने व्यवहार सामान्य त्यो पनि डरले पिटिहाल्ने हिम्मत चाहिँ अहिले हराएको छ । यो गणतन्त्रको उपलब्धि हो । यो अदालत जान्छ अनि हामी डुब्छौँ भन्ने भयको विकास अहिले भएको छ ।
आश्चर्यमा त हामी त्यसबेला पर्यौँ जब पुलिसको समूह डण्डा हल्लाउँदै आक्रोशित मुडमा त्यो पनि निरङ्कुश तानाशाही जङ्गली राजतन्त्रको शक्ति जमेका सुरक्षाकर्मीका काला चेहरा ! भन्नोस् कस्तो भयो होला मन ? त्यसमा पनि भर्खर पहाडी झर्नाका स्वच्छ शीतल जल पिएका हामी । हामी कोचियौँ एउटा जिपमा । त्यसभित्र सुरक्षाकर्मीले देखाएका पाखण्डपन र माओवादीयुद्धकालको पाखण्डपन उस्तै उही र यस्तै निर्ममता घनीभूत छ । कारण माओवादीले जनता मार्नाका लागि यी र यिनैलाई प्रशिक्षक गुरु बनाएर शिरमा सजाएको सही र साँच्चो हो । यो कारुणिक दृश्य भोग्नेले त देख्ने कुरा भएन, सहनेमात्र हो ।
जिपका दुई कुर्सीबीचको खाली ठाउँ जसलाई करिडोर माने पनि भयो त्यसमा लहरै घोप्टो पारेर बुठजुताले सकेसम्मको बल प्रयोग गरी हान्दाका अवस्था तपाईं कल्पना गर्नोस् कुन् मानवताभित्र पर्दछ ? देशका सीमा कोरेर सञ्चालनका आसनमा बस्ने यो, ऊ कुनै भन्नै पर्दैन विश्वका जम्मै तानाशाह नै हुन् । फरकमात्र मात्राको हुने हो । निरङ्कुशका मात्रा बढ्दै गए पुटिन, चाउचेस्कु, हिट्लर हुने हुन् । मानवताका मात्रा बढ्दै गएमा कार्टर, मण्डेला, गान्धी, बीपी बन्ने हुन् ।
अर्को यिनीहरूका हतास मानसिकताको उपज त हनुमान ढोका प्रहरी परिसरमा उनीहरूले ठानेका कथित अभियुक्तलाई गाडीबाट ओरालेर अर्को तलो चढाउँने बेलाका सन्दर्भले देखाउँछ । तलदेखि माथिसम्म सिँढीमा हातमा लट्ठी लिएका सुरक्षाकर्मीको लाम । जति पाइलो हामी माथि चढ्छौँ त्यति नै ट्वाङ्-ट्वाङ् टाउकामा प्रहार । यसको अर्थ के ? सारा शरीर रगताम्मे छ । कुनै युद्धमा सरिक भएका पनि होइनन् यी कथित अभियुक्तहरू । शैक्षिक सुधारका सामान्य आन्तरिक माग राखेर नसुनेपछि दबाबस्वरूप सडकमा निस्केका व्यक्तिमाथि यो क्रूर यातना ? यसैदिन यही परिवेशबाट उत्तेजित भएर मैले एउटा प्रतिज्ञा गरेँ-बरू आत्महत्या गर्ने तर बाँच्नका लागि पुलिस वा सुरक्षाकर्मीका कुनै पनि क्षेत्रमा प्रवेशको ‘प’ उच्चारण नगर्ने ।
कार्यक्षेत्रमा उत्रिने त यति निर्विवेकी छन् भने यिनलाई आदेश दिने तत्कालीन अञ्चलाधीशदेखि अहिलेसम्मका नेता, जिल्ला अधिकारी, सचिवलगायत कति निर्विवेकी होलान् ? राज्यव्यवस्था नै आपराधिक मनोवृत्ति निर्माणको माथिल्लो शिविर हो एकाध अपवादलाई बिर्सिने हो भने । एकजना रामेछापका मित्र त यही लाठो प्रहारले टाउको फुटेर तुरुन्त अस्पताल भर्ना गर्नुपर्यो । उनी पन्ध्र दिनपछि मात्र विद्यालय आउन सके । त्यसबेला र अहिलेको पुलिसवृत्त, पुलिसले गर्ने व्यवहार सामान्य त्यो पनि डरले पिटिहाल्ने हिम्मत चाहिँ अहिले हराएको छ ।
यो गणतन्त्रको उपलब्धि हो । यो अदालत जान्छ अनि हामी डुब्छौँ भन्ने भयको विकास अहिले भएको छ । खराबी निर्भयको आड त्यस बेलाको सेतो हात्ती दरबार हो । राज्यका सम्पूर्ण अङ्गको केन्द्र दरबार र दरबारका नायक राजा ऊ चाहिँ संविधानभन्दा माथि हुँदाको कल्पना गर्नोस् त । योजस्तो जङ्गलीराज अर्को कुनै दुनियाँमा हुन्छ ? यसकै पुच्छर समातेर अहिले सडकमा चिच्याउनेको अनुहारमात्र हेर्यो भने पनि जङ्गली दासताको झलक झल्कन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच