उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद विरुद्ध उजुरी दर्ता

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदमा उम्मेदवार दिएका यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो नेकपा एमालेले उजुरी दर्ता गराएको हो।

संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएको हो । एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६(५) ले उपराष्ट्रपतिको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्रि जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्ति मनोनयन गर्नुपर्ने व्यवस्था गरेको उजुरीमा उल्लेख छ । यस अनुसार उपराष्ट्रपतिमा पुरुषबाहेकका उम्मेदवार हुनुपर्ने भन्दै जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

संवैधानिक व्यवस्थाबमोजिम २०७२ सालको कार्तिकमा भएको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन र २०७५ सालमा भएको निर्वाचनमा समेत राष्ट्रपति निर्वाचित भइसकेपछि मात्र सो समुदाय वा लिंभन्दा पृथक समुदाय र लिंगबाट मात्र उमेद्ववार मनोनयन भई निर्वाचित भइसकेको स्पष्ट संवैधानिक अभ्यास कायम भएको उजुरीपत्रमा उल्लेख छ। नेपालको अन्तरिम संविधान २०६३ मा यस्तो व्यवस्था नभएको कारण प्रथम राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष भएको उजुरीपत्रमा भनिएको छ।

निर्वाचन आयोगको २०७२ फागुन २६ मा खस आर्य समुदाय वा पुरुषबाहेकको व्यक्तिमात्र उम्मेदवार हुनसक्ने गरी संविधानको धारा ३८(४) समेत उल्लेख गरी निर्णय गरेको व्यहोरा सार्वजनिक भएको बर्तौलाले उल्लेख गर्नुभएकाे छ ।  उजुरीपत्रमा भनिएको छ, ‘तर नयाँ संविधानको व्यवस्था तथा आयोगको निर्णयविपरीत तथा विगतको दुवै निर्वाचनमा स्थापित अभ्यास र संविधानको व्यवस्थालाई बेवास्ता गरी रामसहाय प्रसाद यादवको उमेद्वारी परेकोले पुरुषबाहेक महिलाहरु अयोग्य र असक्षम हुन्छन् भन्ने मान्यतालाई बलपूर्वक स्थापित गर्ने हुँदा संवैधानिक, कानुनी व्यवस्था तथा निर्वाचन आयोगको निर्णय र सो आधारमा जारी निर्देशन समेतको विरुद्धमा हुँदा उहाँको उमेद्ववारी खारेज गरी पाऊँ।’ उजुरीमा भनिएको छ ।

जसपाबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी  दिनुभएकाे छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?