![पुस्तक : एक गुमनाम पात्रको रोचक कथा](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Ratna-Prajapati.jpg)
✍️ खेमनाथ दाहाल
१ पृष्ठभूमि
जब मानिस खाली हुन्छ ऊ सम्पूर्ण बन्दछ । यो भनाइ सरसरतिको हेराईमा व्यतिरेकी लाग्न सक्ला । यसलाई नबुझेसम्म एक साधारण भनाइ मानिएला विपरीतार्थ भनिएला तथापि एक नश्वर शरीरको अन्तिम गन्तव्य यही सम्पूर्णतामा टुङ्गिन्छ । यो कुरालाई बेलामै यथार्थ र अर्थपूर्ण मानेर कति योगी कति कर्मयोगी बन्दछन् र अभौतिक भएर पनि यो चराचरमा जीवन्त रहन्छन् अर्थात् सम्पूर्ण बन्दछन् । आखिर मानिस के चहान्छ ? केवल सुख, सुविधा, ऐश, आराम ? होइन समय समयमा परवर्तित हुदैँ जानेर वा नजानी मानिले खोज्ने भनेको अन्ततः धर्म, अर्थ, काम र मोक्ष मार्ग नै हो । समाज अहिले भौतिकवादी युगको प्रथम चरणमा छ तसर्थ जीवनीभन्दा जीवन प्रिय हुँदै गएको छ । सत्य युगमा एकपेट बाहेक बढी अन्न थुपार्नु अपराध वा दण्डनीय कर्म मानिन्थ्यो आज यही कर्म प्रतिष्ठाको प्रतीक बनेको छ । फलतः कतिपय इह लोकको मोक्ष भनेकै सुकर्ममार्फत प्राप्त यशनै हो भन्ने तत्वलाई आत्मसात गर्न नसक्दै वा नपाउँदै परलोकको मार्ग अवलम्वबन गर्न पुग्दछन् कति अन्तिम अवस्थामा पछुताउँदै केहीकाल पर्यन्त तड्पन्छन् र आफ्नो अन्तिम यात्रामा निस्कन्छन् ।
जब मानिसले इहलोक केवल घाम छाया मात्र हो भनेर बुझ्दछ ऊ शाश्वत सत्यको खोजिमा निस्कन्छ । मानिसको जीवन दुईदिने भएपनि जीवनी कालपर्यन्त रहने यथार्थलाई अङ्गीकार गर्न थाल्दछ र जीवन्त रहने मार्गमा लाग्दछ । जब ऊ शाश्वत सत्यको नजिकमा पुग्दछ उसले आफूले नियालिरहेका सामान्य बस्तुहरू क्रमशः असामान्य देख्न थाल्दछ तिनमा नै ऊ श्रीकृष्णको मुखमा देवकीले ब्रहृमाण्ड देखेझै सम्पूर्णता प्राप्त गर्न थाल्दछ । यो परिवर्तन एक प्रकारले जीवन परिवर्तनका संवाहकका रूपमा देखा पर्दछ । यही परिवर्तनका कारण मानिस योगी बन्दछ सन्यासी बन्दछ त्यतिमात्र नभएर प्रकृतिसँग नजिकिदा नजिकिदै कवि र साहित्यकारसमेत बन्दछ ।
साहित्य साधना जीवनी प्राप्त गर्ने एक सञ्जिवनी हो । यो यथार्थ जब विक्रम भक्त जाशीले बुझे र आत्मशात गरे वाल्मिकीको कौञ्चपीडाले मन परिवर्तन भएझैँ उनी चोभार डाँडाको जाल्पादेवी मन्दिरको बार्दलीबाट देखिएकी वृद्ध आमाको ममतालाई आत्मसात गर्दै गर्दा त्यो ममताप्रति आकृष्ट भए । उनले आमा र बाख्राका पाठाका बीचको सम्बाद सुने बुझे । विक्रमको यो बुझाइबाट नयाँ अध्याय सुरु भयो । उनी प्रकृतिपरक भए । उनी प्रकृतिलाई चिन्न थाले । यसलाई अझ व्यापक अर्थमा भन्दा उनी प्रकृतिसँग सम्बाद गर्न सक्ने भए समष्टिमा परिवर्तीत भए । हिँड्दाहिँड्दै उनी नियमित देखिरहेका दृश्यहरूको मर्म बुझ्ने भए । सत्यानटारका उकालोकी वृद्ध महिलाको अन्तर्मनका भाव बुझ्ने भए उनका दुःख सुखमा सहभागी बन्न थाले । पाङ्गातिरको हिँडाइमा पहिले महत्व नदिएको काठका गाडाका भरमा हिँड्ने बालकलाई आफूभन्दा बलवान ठान्न थाले । बज्रबाराही देवीलाई आत्मसात गर्दागर्दै उनलाई लाग्न थाल्यो उनी देवीसँग सम्वाद गर्ने भए । उनीमा क्रमशः आएको परिवर्तन र चेतनाले उनका शब्दमा ‘निकथाकार’ बन्न थाले र बने पनि ।
२.लेखक परिचयः-
विसं २०२४ मा पिता प्रभु भक्त जोशी र माता छोरीनानीका दुई सन्तानमध्ये पहिलो सन्तानको रुपमा जन्मिएका विक्रम भक्त जोशीले आफ्नो प्रारम्भिक शिक्षा आदर्श विद्या मन्दिर ललितपुर र आइ.एस्सी अमृत साइन्स कलेज लैनचौरबाट पूरा गरे पश्चात् भारतबाट छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ पूरा गरे । उनले इन्जिनियर बनेर स्वदेश फर्किए पछि केही काल सडक विभाग र मेलम्ची खानेपानीमा कार्य गरे । सामान्य इन्जिनियर पदमा मात्र ज्ञानपिपासु महत्वकांक्षी जोशीको चित्त थामिएन उनले तुरुन्त व्यवस्थानको अध्ययन सुरु गरे र व्यवस्थापनमा स्नातकोत्तर गरे । त्यसपछि भने उनी केही काल पर्यन्त स्थिर भए । उनले लगभग २० वर्ष एउटै संस्था एनआईडिसीमा काम गरेर विभागीय प्रमुख बने कुसल बैकरको बिल्ला भिरे । यसरी एकै संस्थामा बसे पनि पेशाले सिभिल इन्जिनियर जोशी बैंकर, आइटी विशेषज्ञ, अंग्रेजी साहित्यका अनुुयायी हुँदै अन्ततः साहित्यानुरागी बन्न पुगे । उनले केही दर्शन पढे पैसा र पदमा मात्र मनको शान्ति नभएको निचोड निकाले । शान्तिमार्गको खोजीमा थाहापाएर वा नपाएरै कृष्णले गीतामा भनेको ‘श्रेयो हि ज्ञानमभ्यासाञ्ज्ञानाद्ध्यानं विशिष्यते, ध्यानात्कर्मफल त्यागस्यागाच्छान्ति रनन्तरम् ।’ अर्थात् नबुझि गरेको अभ्यास भन्दा ज्ञान भएर गरेको श्रेष्ठ हुन्छ । ज्ञानभन्दा ध्यान अझ श्रेष्ठ हुन्छ । ध्यानभन्दा सवैकर्मका फलको त्याग श्रेष्ठ हुन्छ किनकि शान्ति भनेको नै अन्ततः त्यागबाट प्राप्त हुन्छ भन्ने कुराको मर्म बोध गरे । अझ यही भनाइको साराशं आभाष हुने महाकवि देवकोटाद्वारा लिखित ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ आफू मिटाई अरूलाई दिनु जहाँ छ’ कवितालाई आत्मसात गर्दै अन्ततः उनले समय हुँदै स्वेच्छिक अवकाशको मार्ग अबलम्बन गरे र लेखनमा अभिरुची बढाउदै अन्ततः शान्तिमार्गको बाटो खन्न थाले ।
यहाँसम्म आइपुग्दा जोशी वानप्रस्थमा प्रवेश गरिसकेका थिए । यो अवस्थालाई निवृत्त अधिकांशले अन्योल ग्रस्त अवस्था हो भनेर स्वीकार गर्दछन् । तर, अवकाश लिनुपूर्व नै आफ्नो मार्ग तय गरिसकेका जोशीलाई कुनै अप्ठेरो परेन कुनै अन्यालताले घेरेन । उनले पदीय यात्रा र अन्तरमनको यात्रामा आफूलाई समाहित गरे र मथ्नथाले जीवन जगतलाई । त्यसैको परिणाम नौनीका रूपमा निकाले ‘चोभार ब्लुज’लाई र सुम्पिए नेपाली साहित्य जगतलाई । चोभार ब्लुजमार्फत उनको पुनर्जन्म भयो यो जन्मले उनलाई नयाँ उचाइमा पुर्यायो । उनी साहित्यकारमात्र बनेनन् चर्चित साहित्यकार अर्थात् उनकै शब्दमा निकथाकार बने ।
पहिलो कृतिमै चर्चित साहित्यकार बन्नु दुर्लभ कुरा हो । हुनत बाल्मिकीले रामायण र योग बाशिष्ठ दुई कृतिको रचना गरेका थिए तथापि उनी रामायणबाट चर्चित भए त्यसको अलवा विश्व साहित्यमा हर्पर लि, इमिलि ब्रन्ट, जे.डी सालिङ्गर आदी केही साहित्यकारहरू एकै कृतिबाट जीवित छन् तथापि यसलाई दुर्लभभन्दा किमार्थ अन्यथा नहोला । क्रमश :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच