अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा

टोपबहादुर र पुष्पालाई चुनौती दिँदै हरिप्रसाद

हिमालय टाइम्स
Read Time = 6 mins

श्याम घिमिरे/हिटा
अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि अर्घाखाँचीमा तीन पदका लागि ६ स्वतन्त्रसहित २५ जनाले उम्मेदवारी दिएका छन् । अर्घाखाँचीमा मुख्यगरी एमाले र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी र लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका निवर्तमान उपसभामुख पुष्पा भुसाल विजयी हुने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिनुुभएको छ । त्यस्तै, एमालेका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका टोपबहादुर रायमाझी चौथोपटक निर्वाचित भई अब्बल उम्मेदवारको रूपमा आफ्नो परिचय बनाउन खोजी रहनुभएको छ । उसो त दुई हेभिवेट प्रतिष्पर्धाकै बीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालको उम्मेदवारीले थप रौनकता थपेको छ । पत्रकार भुसालको उम्मेदवारीले अर्घाखाँचीमा तरंग सृजना गरेको छ । रायमाझी र भुसाल मैदानमा रहे पनि स्वतन्त्र पत्रकार संघको अध्यक्ष भएर सामाजिक गतिविधिमा देखाएको सक्रियताले आफूले निर्वाचन जित्ने दाबी पत्रकार भुसालको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्र नं १ र २ बाट विजयी भई सांसद बन्नुभएका रायमाझी र भुसालबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रतिस्पर्धा हुँदैछ । पहिलो र दोस्रो संविधानसभाको निर्वाचन तथा २०७४ को निर्वाचन गरी लगातार नेकपा माओवादीबाट तीन पटकसम्म सांसद बनेर पटकपटक मन्त्रीसहित उपप्रधानमन्त्रीसमेत बन्नुभएका रायमाझी अहिले नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको हो । दोस्रो संविधानसभा चुनावमा निर्वाचन क्षेत्र नं २, बाट एमालेका डा. दुमन थापासँग पराजित हुनुभएका भुसाल २०७४ को निर्वाचनमा समानुपातिक सांसद भई कांग्रेस संसदीय दलको सचेतक हुँदै उपसभामुखसमेत बन्नुभएको थियो ।

प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ रायमाझी र भुसालबाहेक नेपाल मजदुर किसान पार्टीका सतेज दुवाल, राप्रपा नेपालबाट खलिल मियाँ, जनसमाजवादी पार्टी नेपालबाट पिताम्बर अर्याल, जनता समाजवादी पार्टी नेपालबाट नेत्र बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, मंगोल नेशनल अर्गानाइजेसनबाट पूर्णबहादुर थापा, राप्रपाबाट होमनारायण बेल्वासे र राष्ट्रिय जनमुक्ति पार्टीबाट मघुबहादुर सारुले उम्मेदवारी दिनुभएको छ ।

प्रदेशसभा (क) मा नेकपा एमालेबाट चेत नारायण आचार्य, गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका सागर केसी, नेकपा एकीकृत समाजबादीबाट रामबहादुर चौहान, राप्रपाबाट झवीन्द्र फुल्लेल, स्वतन्त्रबाट विक्रम खनाल, राजन नेपाली र वसन्त केसीको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, प्रदेशसभा (ख) का लागि र नेकपा एमालेबाट रामजीप्रसाद घिमिरे, नेपाली कांग्रेसबाट कमलप्रसाद भुसाल, राप्रपाबाट चेतबहादुर पौड्याल, जनता समाजवादी पार्टी, नेपालबाट टुकबहादुर चेवाली र स्वतन्त्रबाट बाबुराम रोका मगर, खेतुलाल उपाध्यय र चिरञ्जिबी अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।

केन्द्रमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी पाँच दलीय गठबन्धनमा रहेको भए तापनि अर्घाखाँचीको प्रदेशसभा (क) मा भने उक्त दल एकल रूपमा निर्वाचनमा होमिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचको नतिजा हेर्दा जिल्लाका ६ स्थानीय तहमा प्रमुख र उप–प्रमुख गरी १२ पदमध्ये आठ पदमा एमालेले विजयी हासिल गरेको छ भने कांग्रेसले दुई प्रमुख, राजमोले एक प्रमुख र नेकपा माओवादी केन्द्रले एक उपप्रमुखमा विजयी हासिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?