Date:2017/10/23 |Monday

पिएसजीको विजयी सुरुवात

Posted on: August 07, 2017 | views: 29 |

एजेन्सी

पेरिस । शुक्रबारबाट सुरु भएको फ्रेन्च लिग वान साविकको उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले विजय सुरुवात गरेको छ । शनिबार राति भएको पहिलो खेलमा अमिएन्सलाई २–० ले पराजित गर्दै लिग वानमा पिएसजीले विजय सुरुवात गरेको हो ।

दुई दिनअघि स्पेनिस क्लब बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा अनुबन्धित भएका ब्राजिलियन स्टार नेयमारबिना मैदानमा उत्रिएको पिएसजीको जितमा एडिन्सन कभानी र हाभिएर पास्तोरेले गोल गरे । नेयमारको सरुवाको प्रक्रियागत काम पूरा नभएकाले नेयमार लिगको पहिलो खेल खेल्नबाट वञ्चित बनेका थिए ।

नेयमारले अर्को साता हुने अवे खेलमा पिएसजीको लागि डेब्यु गर्ने सम्भावना रहेको छ । त्यसपछिको साता भने नेयमारले घरेलु मैदानमा खेल्नेछन् । पिएसजीले खेलको ४२ औं मिनेटमा कभानीको गोलबाट सुरुवाती अग्रता बनायो । ब्राजिली ड्यानी आल्भेसको क्रसमा काभनीले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित ग¥यो । पिएसजीका लागि ८१ औं मिनेटमा पास्तोरेले गोल गर्दै अग्रता दोब्बर बनायो । अन्ततः त्यही गोल नै पिएसजीलाई तीन अंक जोड्न पर्याप्त बन्यो । 

फ्रेन्च लिगअन्तर्गत नै शनिबार राति भएको अन्य खेलमा लियोनले स्टारब्रुगलाई ४–०, सेन्ट इट्टीनीले नाइसलाई १–० ले पराजित गर्दै लिगमा विजयी सुरुवात गरे । शुक्रबार राति डिफेन्डिङ च्याम्पियन मोनाकोले पनि जितसहित लिग सुरुवात गरेको थियो । 

यता, चिरपरिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डलाई पराजित गर्दै जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । डर्टमुण्डको घरेलु मैदान सिग्नाल इडुना पार्कमा भएको खेलमा बायर्नले पेनाल्टीमा ५–४ ले जित हात पारेको हो । निर्धारित ९० मिनेट समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिनु परेको थियो । 

खेलको १२ औं मिनेटमा क्रिस्टियन पुलिसिकले घरेलु टोलीलाई अग्रता दिलाएपनि त्यसको ६ मिनेट नबित्दै बायर्न खेलमा फर्कियो । रोबर्ट लेवानडोस्कीले जोसुवा किम्मिचको पासमा सहजै गोल गरेपछि खेल बराबरीमा आएको थियो । दोस्रो हाफमा डर्टमुण्डका फरवार्ड पिएरे एमरिक औवामियाङले ७१ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई पुन अग्रता दिलाए । तर, खेलको ८८ औं मिनेटमा बायर्नले पुनः बराबरी गोल फर्कायो । क्रसबारमा लागेर फर्किएको सटलाई क्लियर गर्न नसक्दा हुलमुलमा किम्मिचले गरेको फितलो प्रहार डर्टमुण्डका लुकास पिस्जेक र गोलरक्षक रोमन बुर्कीलाई लाग्दै गोल भएको थियो । 

पेनाल्टीमा पनि डर्टमुण्डले सुरुवातमा अग्रता लिएको थियो । किम्मिचले प्रहार गरेको पेनाल्टी गोलरक्षक बुर्कीले बचाएपनि सबास्टियन रोड आफ्नो पेनाल्टीमा चुकेपछि खेल बराबरीमा आयो । त्यसपछि अल्रिचले मार्क बार्टराको पेनाल्टी बचाउ गरेसँगै बायर्नले उपाधि हात पार्यो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं